
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीलाई हराउँदै रियल मड्रिड फाइनलमा प्रवेश गरेको छ। सान्टिआगो बर्नेबेउमा सम्पन्न दोस्रो सेमिफाइनलको दोस्रो लेगको खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीलाई घरेलु टोली रियल मड्रिडले ३-१ गोलअन्तरले हराएको हो। योसँगै समग्रता ६-५ गोलअन्तरको जित निकाल्दै मड्रिडले फाइनलमा लिभरपुलसँगको भेट पक्का गरेको हो। सेमिफाइनलको पहिलो लेगमा इतिहाद स्टेडियममा सिटीले मड्रिडलाई ४-३ गोलअन्तरले हराएको थियो।
गएराति सम्पन्न खेलमा मड्रिडलाई जित दिलाउन रोड्रिगोले दोहोरो गोल गर्दा करिम बेन्जेमाले एक गोल गरे। सिटीका लागि रियाद महरेजले गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ७३ औं मिनेटमा महरेजको गोलमा सिटीले अग्रता बनाएको थियो। तर, ९० औं मिनेटमा रोड्रिगोलले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै इन्ज्युरी समयको पहिलो मिनेटमा फेरि उनले नै गोल थप्दा मड्रिडले अग्रता बनायो। ९५ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै करिम बेन्जेमाले गोल गर्दा मड्रिडले सहज जित निकालेको हो।
मड्रिडले अब च्याम्पियन्स लिगको फाइनलमा इङ्ग्लिस क्लब लिभरपुलको सामना गर्नेछ। लिभरपुलले सेमिफाइनलमा स्पेनिस क्लब भिल्लारियललाई हराउँदै फाइनल प्रवेश गरेको थियो।