PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

२०२५ मा खुल्न लागेको ‘स्पेस होटल’भित्र के छ?



पहिलोपोस्ट

२०२५ मा खुल्न लागेको ‘स्पेस होटल’भित्र के छ?
Photo: Orbital Assembly

के बिहान उठेर होटलको कोठाबाट बाहिर हेर्दा सौर्यमण्डलको दृश्य देखिनु यात्राको सम्भावित भविष्य हुन सक्छ? अन्तरिक्ष कम्पनी ‘अर्बिटल एसेम्ब्ली’सँग यसको उत्तर छ।

अमेरिकाको यो कम्पनीले आफ्नो ‘स्पेस होटल’ आइडियाको लागि नयाँ जानकारी र अवधारणाहरू सार्वजनिक गरेको छ। जसका लागि डिजाइनहरू २०१९ देखि प्रस्ताव भइरहेका छन्।

मूल रूपमा क्यालिफोर्नियाको कम्पनी गेटवे फाउन्डेसनले पहिलो पटक यसको अवधारणा ल्याएको थियो। त्यतिबेला यसलाई ‘भोन ब्राउन स्टेशन’ नाम दिइएको थियो। यो भविष्यको सम्भावित अवधारणामा लिफ्टहरूले जोडिएको गरिएका धेरै मोड्युल (कोठा)हरू समावेश छन् जसबाट पृथ्वीको परिक्रमा गर्ने चक्र आकारको होटल बनेको हुन्छ।

यो परियोजना अहिले अर्बिटल एसेम्ब्ली कर्पोरेशनले हेरिरहेको छ। यो एक अन्तरिक्ष निर्माण कम्पनी हो जुन गेटवेबाट छुट्टिएको थियो।

अर्बिटल एसेम्बलीले अब पर्यटक आवास सहितको एक होइन दुई वटा अन्तरिक्ष स्टेशनहरू प्रक्षेपण गर्ने लक्ष्य राखेको छ। एउटा ‘भोयजर स्टेशन’। मूल डिजाइनको पुन: नामाकरण गरिएको यसमा अब ४०० मानिसहरूलाई समायोजन गर्ने र २०२७ मा खोल्ने बताइएको छ। त्यस्तै, नयाँ अवधारणाको ‘पायोनियर स्टेशन’मा २८ व्यक्तिको लागि आवास हुन सक्छ। यो करिब तीन वर्षमै सञ्चालनमा आउन सक्ने कम्पनीले बताएको छ।

अफिसहरू र पर्यटकहरूका लागि अन्तरिक्ष ‘बिजनेस पार्क’ सञ्चालन गर्ने आफूहरुको लक्ष्य रहेको अर्बिटल असेम्ब्लीले जनाएको छ।

अन्तरिक्ष पर्यटनको सम्भावना पहिले भन्दा अझ नजिक देखिएको छ। गत वर्ष अर्बपति रिचर्ड ब्रान्सनले आफ्नो कम्पनी ‘भर्जिन ग्यालेक्टिक’बाट अन्तरिक्षमा पुगे भने ‘स्टार ट्रेक’ अभिनेता विलियम शाटनर ‘ब्लु ओरिजिन’को सहयोगमा अन्तरिक्षमा पुगे। अन्तरिक्षमा पुग्ने उनी सबैभन्दा वृद्ध व्यक्ति पनि बने।

तर, अन्तरिक्ष यात्रामा एउटा अविश्वसनीय ‘प्राइस ट्याग’ पनि झुण्डिएको छ। जसकारण हामीमध्ये धेरैलाई बिदा मनाउन त्यहाँ जान सजिलो हुने छैन।

अर्बिटल एसेम्ब्लीका प्रमुख अपरेटिङ अफिसर टिम अलाटोरले अन्तरिक्ष पर्यटन फस्टाएसँगै त्यो अवरोध पनि हट्ने विश्वास गर्छन्।

‘लक्ष्य भनेको धेरै मानिसहरूलाई अन्तरिक्षमा बसोबास गर्न, काम गर्न र फस्टाउन सम्भव बनाउनु नै हो,’ अलाटोरले सीएनएनलाई भनेका छन्।

घरभन्दा टाढाको घर

नयाँ अवधारणा पायोनियर स्टेशनले त्यो लक्ष्य पूरा गर्न मद्दत गर्ने अलाटोर बताउँछन्।

‘यसले हामीलाई त्यो अवसर दिनेछ। मानिसहरू ठूलो मात्रामा र छिटो स्पेसको अनुभव गर्न थाल्नेछन्,’ उनले भने।

पायोनियर स्टेशन र भोयजर स्टेशन दुवैमा अफिस र अनुसन्धानका पनि भाडामा स्थान दिइनेछ। धेरैजसो निकट-भविष्यका लक्ष्यहरू लगानीमा निर्भर रहने भएकाले यो अर्बिटल एसेम्ब्लीको लागि दोहोरो फाइदाको विषय भएको उनले बताए।

अर्बिटल एसेम्ब्लीले दुवै स्टेशनहरू पृथ्वीको परिक्रमा गर्ने घुम्ने पाङ्ग्रासँग मिल्दोजुल्दो डिजाइनको परिकल्पना गरेको छ।

‘स्टेसन घुमिरहेको हुनेछ, र यो घुम्दा स्टेशनभित्रका कुराहरु यसको परिधिमा धकेलिन्छन्। हामीले बाल्टिनमा पानी राखेर घुमाए जस्तै,’ उनले भने।

स्टेसनको केन्द्र भाग कुनै कृत्रिम गुरुत्वाकर्षण हुने छैन। तर, स्टेसनको बाहिरी भागतिर जाँदा भने गुरुत्वाकर्षणको अनुभूति बढ्दै जानेछ।

स्टेसनको विज्ञान परिवर्तन नभएको अलाटोर बताउँछन्। तर, पायोनियर स्टेसन सानो हुने भएकाले यसको गुरुत्वाकर्षण स्तर फरक हुने उनको भनाइ छ। त्यहाँ कृत्रिम गुरुत्वाकर्षण ‘आरामदायी स्तर’मै महसुस गर्न सकिने उनले बताए। नुहाउन, बसेर खाने र पिउन त्यहाँ पनि सकिने उनले बताए। तर, कम गुरुत्वाकर्षण भएकोले त्यहाँ अझ बढी रमाइलो हुने उनको विश्वास छ।

दुवै स्टेसनका इन्टेरियर डिजाइनहरु पृथ्वीका आलिसान होटलहरुका भन्दा फरक हुने छैन। मात्रै त्यहाँ यो संसारभन्दा बाहिरका नौलो दृश्यहरु देख्न पाइनेछ।

वास्तुकलामा पृष्ठभूमि भएका अलाटोरले होटेलको सौन्दर्य स्टानली कुब्रिकको फिल्म ‘२००१ : अ स्पेस ओडिसी’को सीधा प्रतिबिम्ब भएको पहिले पनि बताएका थिए। जसलाई ‘गर्न नहुने कुराको खाका’को रुपमा लिइएको थियो।

‘मलाई लाग्छ कि स्टानली कुब्रिकको लक्ष्य टेक्नोलोजी र मानवताबिचको विभाजनलाई हाइलाइट गर्नु थियो, त्यसै उद्देश्यका साथ उनले स्टेसन र शिपहरू निकै अनुत्पादक, सफा र एलियन जस्तो बनाएका थिए,’ अलाटोरले भने।

यो अवधारणा जर्मनीमा र पछि अमेरिकामा रकेट प्रविधिको विकास गर्ने एरोस्पेस इन्जिनियर वेर्नर भोन ब्राउनको ६० वर्ष पुरानो डिजाइनबाट प्रेरित भएकाले अन्तरिक्ष होटेलको मूल नाम ‘भोन ब्राउन स्टेशन’ राखिएको थियो।

जर्मनीमा रहँदा भोन ब्राउन ‘नाजी रकेट डेभलपमेन्ट प्रोग्राम’मा संलग्न थिए। त्यसैले उनको नामबाट अन्तरिक्ष होटेलको नामकरण गर्नु एक विवादास्पद कुरा थियो।

‘अर्बपतिहरुको लागि मात्रै होइन’

भर्जिन ग्यालेक्टिक, ब्लू ओरिजिन र एलोन मस्कको कम्पनी स्पेसएक्सका कारण अन्तरिक्षको यात्रा सामान्य जस्तै भएको छ। आफूहरुको टोलीले सहकार्यको लागि अन्तरिक्ष उद्योगमा रहेका ‘लगभग सबैसँग कुरा गरेको’ एलाटोरले बताए।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस)ले विगतमा पर्यटकहरूलाई स्वागत गरिसकेको छ। डेनिस टिटो सन् २००१ मा विश्वको पहिलो अन्तरिक्ष पर्यटक बनेका थिए। तर, आइएसएस मुख्य रूपमा काम र अनुसन्धान गर्ने ठाउँ भएको अलाटोर बताउँछन्। र, अर्बिटल एसेम्ब्लीको अन्तरिक्ष होटेलले फरक आवश्यकताको पूर्ति गर्ने उनको राय छ।

‘फ्याक्ट्री अथवा अनुसन्धान गर्ने ल्याबमा गएको जस्तो महसुस हुने छैन,’ उनले भने। यो एक ‘साइन्स फिक्सन सपना’को जस्तै महसुस हुने उनले बताए।

‘त्यहाँ जताततै तारहरू हुने छैनन्, यो एक आरामदायक ठाउँ हुनेछ जहाँ तपाईँ घरमा भएको जस्तै महसुस गर्नु हुनेछ,’ उनले थपे।

अर्बपतिहरुले अन्तरिक्षमा पैसा फ्याँक्दै गर्दा अन्तरिक्ष पर्यटनप्रति केही आलोचनाहरु पनि प्रकट नभएका होइनन्। धेरै मानिसहरुले त्यो पैसा पृथ्वीमा नै राम्रोसँग खर्च गर्दा उचित हुने सुझाव दिएका छन्।

ति आलोचनाहरुको प्रतिकृयामा अलाटोरले जीपीएस जस्ता ‘धेरै लाइफ-चेन्जिङ प्रविधिहरू’ अन्तरिक्ष अन्वेषणबाट सम्भव भएको तर्क गर्छन्।

अन्तरिक्षको बसोबासले ‘दिगो समाज’को सिर्जना गर्न पनि मद्दत गर्ने अलाटोरको राय छ।

‘यस्ता प्रकारका क्लोज्ड लुप प्रणालीहरूले संस्कृति, स्रोतको उपयोगको बारेमा सोच्ने तरिकामा परिवर्तन गर्ने छ,’ उनले भने, ‘हाम्रो वातावरण भनेको पृथ्वी मात्र होइन, यो सम्पूर्ण सौर्यमण्डल हो। र, त्यहाँ धेरै स्रोतहरू छन्। जब हामी ती स्रोतहरू प्रयोग गर्न र पूँजीकरण गर्न थाल्छौँ त्यसले पृथ्वीमाको जीवन स्तरमा परिवर्तन र सुधार गर्नेछ।’

अन्तरिक्षको टिकटको लागत हाल निकै भारी भएपनि अन्तरिक्ष पर्यटन अर्बपतिहरूको लागि मात्र नहुने अलाटोर बताउँछन्।

‘धनीको लागि मात्र होइन सबैको लागि अन्तरिक्ष पहुँचयोग्य बनाउन हामीले सक्दो प्रयास गरिरहेका छौँ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell