PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पूर्व मेयरको अनुभव : स्वतन्त्र उम्मेदवार रहरमात्रै हो, काम गर्न बहुमत सहितको टिम चाहिन्छ



प्रकाश भण्डारी

पूर्व मेयरको अनुभव : स्वतन्त्र उम्मेदवार रहरमात्रै हो, काम गर्न बहुमत सहितको टिम चाहिन्छ

काठमाडौं : भक्तुपरको मध्यपुर थिमि नगरपालिकामा २०७४ को निर्वाचनमा नेकपा एमालेका मदनसुन्दर श्रेष्ठले मेयरमा १४ हजार मत ल्याएर चुनाव जिते। उनका प्रतिद्वन्द्वी थिए नेपाली कांग्रेसका अष्टकुमार कवे। १० हजर ८ सय ४६ मत ल्याय कवेले। मेयरमा एमालेका श्रेष्ठले चुनाव जिते पनि उनी सधैं अल्पमतमा रहे। एक जना वडा अध्यक्षमात्रै थिए एमालेका। बाँकी कांग्रेसका ६ जना तथा स्वतन्त्र एक र मजदुर किसान पार्टीका १ जना वडा अध्यक्षले चुनाव जिते। यतिखेर श्रेष्ठ नै एमालेका तर्फबाट मेयरका उम्मेदवार छन्। त्यतिबेला अल्पमतमा रहेर काम गरेका श्रेष्ठ नगर कार्यपालिकामा बहुमत सदस्य रहनेगरी चुनाव जित्ने गृहकार्यमा छन्। श्रेष्ठ बहुदलीय प्रजातान्त्रिक परिपाटीमा स्वतन्त्र उम्मेदवार बनेर चुनाव लड्नु स्वभाविक भए पनि जितेमा काम गर्न नसक्ने ठोकुवा गर्छन्। श्रेष्ठलाई हामीले सोध्यौँ :

तपाईँले एक कार्यकाल मेयर बनेर काम गर्नुभयो। काम गर्नका लागि टिम कतिको आवश्यक छ? के स्वतन्त्र उम्मेदवारले जितेर काम गर्न सक्छ जस्तो लाग्छ?

अहिले स्वतन्त्र उम्मेदवारले रहर त गरेका छन्। मल्टी पार्टी डेमोक्रेसीमा स्वतन्त्रले अलि बढी रहर गर्ने अवस्था हुन्छ। तर, जितेर अपवादमा एक दुई जना आउने हो। त्यस अनुसारमा सम्भावना एकदम न्युन हुन्छ। तर, स्वतन्त्र रुपमा निर्वाचित भएर अल्पमतमा रहँदा काम गर्न गाह्रो हुन्छ। आफ्ना योजना कार्यन्वयन गराउन सकिन्न। कार्यान्वयन गराउनका लागि बहुमतसँग 'बार्गेनिङ' गर्नुपर्ने हुन्छ। यसले काममा ढिला हुन जाने हुदा कार्यान्वयनमा समस्या हुन्छ।

त्यसो भए त आफ्नै चुस्त टिम चाहियो काम गर्न भन्न खोज्नुभएको हो?

दुई तिहाइ बहुमत नै त नचाहिएला। तर, काम गर्नका लागि बहुमत चाहिन्छ। भिजन अनुसार काम गर्नका लागि उप प्रमुख सहितको एउटा टिम भयो भने तीब्र गतिमा काम गर्न सकिन्छ।

तपाईँको टिम कस्तो थियो त २०७४ मा जित्दा?

म निर्वाचित भएँ। उपमेयर सहित ६ जना वडा अध्यक्ष कांग्रेसको रह्यो। एक जना मात्र एमालेका वडा अध्यक्ष। स्वतन्त्रबाट एक र नेमकिपाबाट एक एक वडा अध्यक्ष रहे। कांग्रेसको तीन चौथाइ बहुमत थियो। त्यही भएर जसरी योजना अनुसार काम गर्नुपर्ने थियो, त्यो गर्न सकिएन। कतिपय कुराहरु थाँती राख्नुपर्ने खालको अवस्था रह्यो।

डेलिवरीमा कस्तो समस्या आयो? कर्मचारी संयन्त्रले पनि मेयर कमजोर भएपछि काम नै गर्न दिन्नन् भन्ने सुनिन्छ। खास के हो?

कर्मचारीले त्यसो गर्ने अवस्था थोरै हुन्छ। तर, कार्यपालिकाबाट पास भएर गरिसकेका कुराहरु कार्यान्वयन गर्न कर्मचारीले अप्ठ्यारो गर्दैनन्। तर, सानो कुराहरु पनि कार्यपालिकाको बैठकमा लैजानुपर्ने भएकाले बोर्ड बैठकका लागि २/३ महिना कुर्नुपर्‍यो। बैठकमा लिएर जाँदा पनि पास हुने/नहुने कन्फर्म नहुने। त्यसमा धेरै कुराहरु लेनदेन गर्नुपर्ने 'बार्गेनिङ' सहनुपर्ने भएकाले चुस्त सेवा प्रवाहमा कम्प्रोमाइज हुनजाने रहेछ।

फेरि उम्मेदवार हुनुहुन्छ। कस्तो छ तपाईँको माहोल?

अहिले माहोल राम्रै छ। ५ वर्षको अन्तरालमा जुन रुपमा काम गरेर देखाउन सक्यौं, 'काम गर्नसक्ने मेयर हो, अल्पमतमा रहेर पनि यति काम गर्‍यो' भन्ने छ जनतामा। बहुमतसहित भोट दियो भने नगरपालिकाको रुपान्तरण नै हुन्छ भन्ने अपेक्षा गरेर सहयोग गर्ने मानसिकतामा रहेको पाएको छु।

एमाले धेरै ठाउँमा एक्लै तर विपक्षमा सत्ता गठबन्धन छ। त्यसले कत्तिको असर पर्छ मध्यपुर थिमिमा?

गठबन्धन भनिएको छ। तर, यसपटक अर्कै खालको गठबन्धन छ - केन्द्रबाट लादिएको। पाँच दलीय गठबन्धन भनिएको छ मध्यपुरको सन्दर्भमा। दुई दलको मात्रै गठबन्धन छ। तीन दललाई घोक्र्‍याएको स्थिति छ। गठबन्धन जुनरुपमा छ, त्यो भावना अनुसार भएको छैन। स्थानीय आवश्यकता अनुसार भन्दा पनि केन्द्रबाट लादिएको गठबन्धन भयो। मध्यपुरमा अत्याधिक बहुमतका साथ उपमेयर निर्वाचित भएको थियो उप मेयरलाई नै बली चढाएर अर्को चाहिँ दुई दलीय गठबन्धन गरेको छ। असन्तुष्टी धेरै छ। त्यसैले जनतको बहुमत हाम्रो पक्षमा रहन्छ।

यसपाला चुनावमा तपाईँको मुख्य एजेण्डा केके छ?

सम्पदा पुनर्निमाण गरे जुन स्थितिमा ल्याइयो, अधुरो रह्यो। पूर्ण भएन। पूर्णता दिने काम हुन्छ।

दोस्रो स्वाथ्यको क्षेत्रमा हामीले नमुना काम गरेका छौं। हामीले सय बेडको अस्पताल चलाइरहेका छौं। अरु नगरपालिकामा १५ बेड चलाउन पनि नसकिरहेको अवस्थामा सय बेड चलायौं। कोभिडमा राम्रो काम गरेकाले फरेन गभर्मेण्टबाट ८ सय ५ मिलियन डलर स्वीकृत भएर आइसकेको छ। त्यसलाई हामी ३ सय बेडको अस्पताल बनाउँछौं। मेडिकल कलजेको आधार तयार पार्नेछौं पाँच वर्षभित्र।

तेस्रो फोहोर मैला व्यवस्थापन। नेपालमा नमुनाको रुपमा जापानिज प्रविधि भित्र्याएर फोहोरलाई घरमै व्यवस्थापन गरेर कम्पोस्ट मल बनाउन सकिन्छ भन्ने पुष्टि गरेका छौं। त्यसलाई नगरपालिका भरि बनाउँछौं।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell