PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

बागीलाई फकाउन रामचन्द्रको प्रयास : भक्कानिए कृष्णलाल, देउवा प्रचण्डलाई मानेनन् भेट्न, १३ मिनेटमा के - के भयो कुराकानी?



पहिलोपोस्ट

बागीलाई फकाउन रामचन्द्रको प्रयास : भक्कानिए कृष्णलाल, देउवा प्रचण्डलाई मानेनन् भेट्न, १३ मिनेटमा के - के भयो कुराकानी?

काठमाडौं : बिहीवार चितवनको भरतपुरमा चुनावी सभालाई सम्बोधन गर्न कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको टोली*  पुगिसकेको छ। टोलीमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेता पनि सहभागी छन्।

माओवादी केन्द्रले रेनु दाहाललाई भरतपुरमा गठबन्धनले साझा उम्मेदवार बनाएको छ। अघिल्लोपटकको स्थानीय निर्वाचनमा पनि कांग्रेसकै सहयोगमा रेनु भरतपुर महानगरको मेयरमा निर्वाचित भएकी हुन्। कांग्रेसको पकड रहेको क्षेत्रमा पटकपटक माओवादीको उम्मेदवार बनाएको भन्दै यहाँ कांग्रेसभित्र चर्को विरोध भइरहेको छ।

कांग्रेस केन्द्रको हस्तक्षेपको विरोध गर्दै चितवनका नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिइसकेका छन्। कांग्रेस जोगाउन भन्दै उनले दिएको उम्मेदवारीको देशभरबाट प्रशंसा भइरहेको छ। यता केन्द्रबाट प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता पौडेल भरतपुर उत्रिएपछि धेरैले जगन्नाथको उम्मेदवारी निस्तेज पार्ने प्रयास हुने आँकलन गरेका थिए।

नभन्दै वरिष्ठ नेता पौडेलले हिजै सात बजे जगन्नाथलाई सम्पर्क गरी भरतपुरको होटल सिराईचुलीमा डाके।

बिहान ८ बजे जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मीना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठ आइपुगे। भेटमा वरिष्ठ नेता पौडेलले गठबन्धनलाई सघाउन जगन्नाथसँग अनुरोध गरे। स्थानीय निर्वाचनमा गठबन्धनका सुत्रधारसमेत रहेका वरिष्ठ नेता पौडेलले यसबारे प्रस्ताव राख्दा जगन्नाथको टोलीले ठाडै अस्वीकार गर्‍यो। देउवा र प्रचण्डसँग भेट्ने कुरा उनीहरुको टोलीले सुन्नै नचाहेको सहभागी एक नेताले बताए। त्यसपछि वरिष्ठ नेता पौडेलले भावनात्मक सम्बन्धको विषय जोडेपछि केही मिनेट कुराकानी भएको ती नेताले बताए।

के भयो कुराकानी?

सिराईचुलीमा मेयरका बागी उम्मेदवार जगन्नाथको टोली ८ बजे आइपुगेको थियो। वरिष्ठ नेता पौडेलले ब्रेकफास्ट र उम्मेदवारीबारे कुरा निकालेका थिए।

'ब्रेकफास्टतिर नलागौं,' पौडेलको कुरा खस्न नपाउँदै चितवन कांग्रेसका पूर्व सभापति कृष्णलाल सापकोटाले यसबारे कुरै नगर्ने उल्लेख गर्दै हिँड्न खोजे।

'राजनीतिमात्र हैन हाम्रा व्यक्तिगत सम्बन्धका कुरा पनि छन् नि,' पौडेलले यसो भन्दै सबैलाई बसाए।

पौडेलको पर्सनल रुम कुचुक्क परेको थियो। यद्यपि, सबै जना मिलेर बसे।

त्यसपछि पौडेलले सभापति देउवा र प्रचण्डसँग भेट्ने कुरा निकाले।

'कांग्रेस बचाउने अभियानमा छौं हामी। सिध्याउने अभियानमा हैन,' सापकोटाले भने, 'हाम्रो ज्योतिनगरमा ९ बजे कार्यक्रम छ।'

लगत्तै वरिष्ठ नेता पौडेलले ज्योतिनगरको कार्यक्रम सकेर भेट्न आउन आग्रह गरे।

सापकोटाले आफूहरुले झुट बोल्न नसक्ने उल्लेख गर्दै फर्केर आउन नसक्ने बताए। त्यसपछि वरिष्ठ नेता पौडेलले तीन कुरा राखे जगन्नाथको टोलीसँग।

'एक - संविधान सिध्याउने खेल भइरहेको छ। दुई - वडै तहसम्म यो खेल पुग्यो। तीन - संविधान जोगाउने कुरामा सिरियस हुनुस्,' पौडेलले यी विषय महत्वका साथ लिन आग्रह गरे। लगत्तै कृष्णलालको अनुहार निन्याउरो भएको त्यहाँ सहभागी नेताले बताए। आफूहरु कांग्रेस जोगाउने अभियानमा लाग्दा पार्टीले थिचोमिचो गरेको भन्दै उनको गला अवरुद्ध भएको थियो।

रेनुको उम्मेदवारी फिर्ता लिने शर्तमा मात्र आफूहरु पुन भेट्न आउने, नभए नफर्कने भन्दै चिया समेत नपिई जगन्नाथको टोली सिराईचुलीबाट निस्कियो।

*समाचारमा असावधानीका कारण शुक्रवार शब्द पर्न गएकोमा सच्याइएको छ। - सम्पादक



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell