
काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा आज पनि अदालतमा सुनुवाइ भइरहेको छ। बुधवार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो। बुधवार सरकारतर्फ र निवेदकतर्फबाट बहस भएको थियो।
सर्वोच्च अदालतमा एआईजी विश्वराज पोखरेलले दिएको रिटमाथि आज सुनुवाई भइरहेको छ। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा सुनुवाइ भइरहेको छ।
एआईजी विश्वराज पोखरेलले सिंह नियुक्तिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन लिएर पुगेका थिए। वारिस मार्फत् पुगेको निवेदन अध्यायन गरेर दर्ता भएको थियो। आइतवार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले एआईजी सिंहलाई बढुवा गर्ने निर्णय गरेको थियो।
एउटै ब्याचका चार जना एआईजीहरू आईजीको प्रर्तिस्पर्धामा थिए। २०७७ मंसिरमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका भएका थिए। त्यस्तै ७ महिनापछि पोखरेपछि डीआईजी सहकुल थापालाई पनि सरकारले एआईजीमा बढुवा गर्यो। त्यसको ९ महिनापछि फेरि तीन जना एआईजीको पद थपेर बढुवा भए। डीआईजी वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्र बहादुर धानुकलाई बढुवामा परेका थिए।