
चितवन : भरतपुरस्थित केन्द्रीय बस टर्मिनल अगाडिको खुला चौर बुधवार साँझ नै चिटिक्क पारिएको थियो। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने आमसभास्थल बिहीवार बिहान भने जलमग्न भयो।
मध्यराति परेको पानीले चौरमा पानी जमेको थियो। आमसभास्थलमा पानी जमेपछि आयोजक समितिलाई बिहानै टाउको दुखाईको विषय बनेको थियो। पछि आयोजकसमितिले टिपरमा माटो ओसारेर आमसभास्थल सुक्खा बनाएको छ।
अहिले आमसभाको सम्पूर्ण तयारी भइसकेको भरतपुर महानगरका उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीले जानकारी दिए। आमसभा १ बजेदेखि हुने तय गरिएको छ।
आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल बुधवार नै भरतपुर पुगेका छन्। यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिहानमात्रै भरतपुर पुगेका छन्।
पाँच दलीय गठबन्धनले यहाँ माओवादीकी रेनु दाहाललाई मेयरको उम्मेदवार बनाएको छ। कांग्रेस केन्द्रको निर्णयमा असन्तुष्टि जनाउँदै जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन्। नेकपा (एमाले)बाट यहाँ विजय सुवेदी मेयरको चुनावी मैदानमा छन्।