PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

केशव स्थापितमाथि खनिए गगन थापा : कामै नलाग्‍ने भनेर महिलाको अपमान गरियो



पहिलोपोस्ट

केशव स्थापितमाथि खनिए गगन थापा : कामै नलाग्‍ने भनेर महिलाको अपमान गरियो

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महिला विरोधी उम्मेदवारलाई मतदानका दिन जवाफ दिनुपर्ने बताएका छन्। काठमाडौं महानगरमा कांग्रेसबाट उम्मेदवार रहेकी सिर्जना सिंहको तर्फबाट काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजित क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। 

एमालेका मेयरका उम्मेदवार केशव स्थापितलाई लक्षित गर्दै थापाले यस्तो भनाई राखेका हुन्।

‘बेइज्जत गर्न खोजिएको छ। एकचोटि हैन पटकपटक पार्टीको सभापतिदेखि उम्मेदवारसम्मले एक मञ्चपछि अर्को मञ्चमा भनिएको छ। काम नलाग्ने महिला भनेर,’ महामन्त्री थापाले भने, ‘महिलाद्वेषी 'हेट स्पिच'। यो काठमाडौंका सम्पूर्ण महिलाको अपमान हो।’

वैशाख १८ गते एक कार्यक्रमलाई सम्बोधन गर्दै स्थापितले कांग्रेसबाट मेयरको उम्मेदवार रहेकी सिर्जना सिंहलाई तागतै नभएको महिला भन्दै सिधै बहिस्कार गर्नुपर्ने बताएका थिए।

‘गणेशमानको बुहारी भनेर आएको छ। तर, तागतै छैन। तागतै नभएको महिला आएर शहर हाक्छु भन्न आउने, उ हुँदैन। सिधै बहिस्कार गर्नुपर्छ। एक भोट पनि हाल्नुहुँदैन,’ स्थापितले भनेका थिए, ‘मैले सय वटा इन्टरभ्यु दिइसके। एउटा इन्टरभ्यु पनि दिँदैन।’

सिर्जनामाथि पोखिँदै गर्दा स्थापितले कांग्रेस महामन्त्री थापामाथि पनि आरोप लगाएका थिए। ‘अनि कल्ले बोल्छ भने गगन थापा बोल्न आउँछ। उ आउनुपर्‍यो नि मेयर हुन। मैले खसी खोइ भन्यो। हिसाबकिताब बुझाउनुपरेन? नाटकमा झैं बोल्ने? कराउने मान्छेको कुरा सुनेर मुलुक कसरी बनाउने भनेको?,’ स्थापितले भनेका थिए।

थापाले स्थापितको भनाईले सूर्यमा छाप हाल्ने महिलाको समेत अपमान भएको बताए। ‘सूर्यमा छाप हाल्ने महिलाको पनि अपमान हो। उहाँसँग हिँडिरहेकी महिला उपमेयरको उम्मेदवारको पनि अपमान हो। यसको प्रत्युतर मतदानबाट दिनुपर्छ,’ गगनले भने।

एमालेले हिन्दुदेखि क्रिश्चियन धर्म वकालत गर्ने दलसम्मका दलहरुसँग गठबन्धनमा उत्रिएको आरोप लगाए। ‘एमालेले एउटा वडामा हिन्दु धर्मको वकालत गर्ने कमल थापासँग त अर्को वडामा क्रिश्चियनको वकालत गर्ने परिवार दलसँग जो पायो त्यहीसँग गठबन्धन गर्दै हिँडेका छन्,’ उनले भने। कांग्रेसले घोषितरुपमै गठबन्धन गरेको उनको दाबी रह्यो।

उम्मेदवार चयनमा केही चित्त नबुझेको हुनसक्ने उल्लेख गर्दै गगनले अहिले रिसराग बिर्सेर गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे।

‘पाँच वर्षसम्म काठमाडौं महानगर पालिकाको कार्यालयमा ठूलो स्वरले जय नेपाल भन्दै छिर्न पायो भने कति आनन्द आउला भन्ने सोचौं। वडामा पनि त्यही सोचौ,’ थापाले भने, ‘कतिलाई मेयरको उम्मेदवार मन नपरेको होला। कतिलाई वडाको उम्मेदवारलाई मन नपरेको होला। एकछिनको आवेगले ५ वर्ष गुमाउने काम नगरौ।’

निर्वाचन जित्न निकै मिहिनेतसमेत आवश्यको रहेको थापाले बताए।

‘थप अभ्यास गर्न बाँकी छ। शतप्रतिशत मेहनेत गर्नुपर्छ। मददातालाई हेप्‍ने काम गर्नुभएन। मतदातालाई भोट खेर नफालौ भन्नुपर्नेछ,’ थापाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell