PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

रेनुको बाघसँग तुलना गर्दै केपी ओलीविरुद्ध श्रेष्ठको विष वमन :  केपीले म्वाइ खाए पनि विष लाग्छ



पहिलोपोस्ट

रेनुको बाघसँग तुलना गर्दै केपी ओलीविरुद्ध श्रेष्ठको विष वमन :  केपीले म्वाइ खाए पनि विष लाग्छ

चितवन : जनता समाजवादी पार्टीका नेता एवं मन्त्री राजेन्द्र श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रमाथि घात गरेको आरोप लगाएका छन्। पाँच दलीय गठबन्धनको चुनावी सभालाई भरतपुरमा सम्बोधन गर्दै श्रेष्ठले ओलीविरुद्ध विष वमन गरेका हुन्।

ओलीले मीठा कुरा गरेपछि जनता मक्ख परेर एमालेलाई ठूलो दल बनाएको उल्लेख गर्दै श्रेष्ठले त्यो म्यान्डेडबाट एमाले बाहिरिएको बताए।

‘विगतमा केपी ‌ओलीको मीठामीठा उखान टुक्का सुनेर होला सबैभन्दा ठूलो दल नेकपा एमालेलाई बनायो। आम निर्वाचनमा पनि नेकपा एमालेलाई ठुलो दल बनायो,’ श्रेष्ठले भने, ‘तर जुन म्यान्डेड दियो त्यो पूरा गरेन।’ 

श्रेष्ठले ओली दूधको साक्षी बिरालो भएको समेत आरोप लगाए।

'दूधको साक्षी बिरालोजस्तो भयो। घर मालिकले सोचेको हुन्छ, दूध बिरालो खाँदैन। जब दूध कुराउन बिरालो राख्छ। बिरालोले नै दूध खाइदिन्छ। केपी ‌ओलीले संविधान खान खोज्यो। लोकतन्त्र खान खोज्यो,’ उनले भने।

श्रेष्ठले युवाहरु भ्रममा परेर ओलीलाई 'आइ लभ यु' भन्ने गरेकोमा अब त्यसो नभन्न सचेत समेत गरे।

‘युवाहरु भ्रममा छन्। आइ लभ यु केपी बा भन्छन्। तपाईँहरुलाई थाह छ सर्पले दूध खाए पनि विष लाग्छ। केपीले म्वाइ खाए पनि विष लाग्छ,’ उनले भने।

गठबन्धनबाट भरतपुरमा मेयरको उम्मेदवार रहेकी रेनु दाहाल चितवनको बाघ भएको उल्लेख गर्दै अब स्यालहरु भाग्नेसमेत श्रेष्ठले बताए।

‘बाघहरु सुतेर बसे। म जित्छु जित्छु भन्दै स्यालहरु पनि उफ्रन थाल्छन्। जब बाघ गर्जन थाल्छ स्यालहरु सबै भाग्छन्,’ श्रेष्ठले भने, ‘रेनु दाहाल र मित्रसेनहरु गर्जिन थालेपछि सबै भाग्न थाल्छन्।’

आफू भरतपुरमा ओहोरदोहोर गरिरहेको मान्छे भएको उल्लेख गर्दै श्रेष्ठले रेनुले विकाससमेत प्रशस्त गरेको दाबी गरे।

‘म चालिस पटक भन्दा बढी आइसकेको छु। काममा। पाँच वर्षमा यहाँ विकास र समृद्धिका काम हेर्दा गर्व लागेको छ। रेनु दाहालको नेतृत्वमा यहाँ कायापलट गर्नेछ भन्ने विश्वास मलाई लागेको छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell