
चितवन : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले भरतपुर महानगरका बागी उम्मेदवारलाई मनाउने प्रयास गरेको तर सफल हुन नसकेको बताएका छन्। चितवनको भरतपुरमा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले यस्तो भनाई राखेका हुन्।
भरतपुर महानगरमा रेनु दाहाललाई सत्ता गठबन्धनले मेयरको उम्मेदवार बनाउने सहमति गरेपछि कांग्रेस असन्तुष्ट बनेको छ। असन्तुष्ट बनेका कांग्रेस नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन्।
आजको चुनावी सभामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमेत भरतपुर पुगेकाले जगन्नाथलाई फकाउने बताइएको थियो। तर, देउवालाई जगन्नाथले भेट्नै चाहेनन्। बागी उम्मेदवारीबारे छलफल गर्न पौडेलले आफू बसेको होटल सिराईचुलीमा बिहानै जगन्नाथलाई डाकेका थिए।
जगन्नाथको टोलीमा पूर्व सभापति कृष्णलाल सापकोटा, भीमबहादुर श्रेष्ठलगायत सहभागी थिए। कांग्रेस जोगाउन आफूहरुले स्वतन्त्र उम्मेदवारी दिएको दाबी गर्दै उक्त भेटमा कृष्णलाल भक्कानिएका थिए।
उक्त भेट भड्किएको सम्बोधनका क्रममा वरिष्ठ नेता पौडलले खुलाए।
‘आज चितवनको चुनाव राष्ट्रिय चर्चाको विषय भएको छ हाम्रै केही साथीहरुले प्रश्न उठाउनु भएको छ। म ती प्रश्नको उत्तरका लागि यहाँ उपस्थित छु,’ नेता पौडेलले भने, ‘मैले बिहानमात्रै कृष्णलाल सापकोटा, भीमबहादुर श्रेष्ठजीलाई र जगन्नाथजीलाई म बसेको ठाउँमा बोलाएर म बसेको ठाउँमा सम्वाद गर्न चाहे। मैले केही कुराहरु राख्न चाहे। बसेर कुरा राख्न खोजे उहाँहरुले अलिकति धैर्य राख्न सक्नुभएन। चाडचाडै उठेर जान खोज्नुभयो। मेरो तर्कमा सामना गर्न खोज्नुभयो। इमोसनमा, भावावगेमा, उत्तेजनामामात्र उहाँहरु उत्रेकोजस्तो मलाई लाग्यो।’
भेटमा पौडेलले जगन्नाथको टोलीलाई लोकतन्त्र सिध्याउन वडाबाटै षड्यन्त्र सुरु भएको भन्दै सचेतसमेत गराएका थिए। ‘भीमबहादुर जीलाई के भने साथीहरु अहिले नेपालमा जुन राजनीति चलिरहेको छ। नेपाली कांग्रेसको प्रतिस्पर्धा को सँग हो? नेपाली कांग्रेसको प्रतिस्पर्धा माओवादीसँग हैन। प्रचण्डसँग हैन। एमालेको केपी ओली प्रवृत्तिविरुद्ध हो,’ पौडेलले भने, ‘हाम्रो प्रतिस्पर्धा छ। द्वन्द्व छ।’
संविधानमा समेत संयुक्त सरकारको परिकल्पना भएको उल्लेख गर्दै पौडेलले यही अनुसार अहिलेको सरकार बनेको दाबी गरे।
‘यो मुलुकमा कुनै पार्टीले मात्र बहुमत ल्याउँदैन। यो संविधानको चाहनाअनुसार आज संयुक्त सरकारको आवश्यकता परेको छ,’ उनले भने।
१४ औं महाधिवेशनयता पौडेल सभापति देउवानिकट बनेका छन्। आजको कार्यक्रममा उक्त आरोप खण्डन गर्दै पौडेलले भने, ‘मलाई त शेरबहादुरसँग मिल्न गइस्, उसकै लाइनमा गइस् भन्नुहुन्छ साथीहरुले। म भन्छु यो हैन। शेरबहादुरजीले भन्दा मैले पहिले हो गठबन्धनको आह्वान गरेको।’
आफू केपी ओलीको निरंकुशताविरुद्ध गठबन्धन बनाउन लागि परेको उनको भनाई थियो।