PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

माधव नेपालको ओलीमाथि व्यङ्ग्यात्मक टिप्पणी : बयलगाडा सिद्धान्तका प्रवर्द्धक, गफमा पी एच डी !



पहिलोपोस्ट

माधव नेपालको ओलीमाथि व्यङ्ग्यात्मक टिप्पणी : बयलगाडा सिद्धान्तका प्रवर्द्धक, गफमा पी एच डी !

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले हिजो गणतन्त्रको विरुद्ध बयलगाडाको सिद्धान्त दिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले राजावादी र प्रतिगामी शक्तिसँग गठबन्धन गरेर हिँडेको आरोप लगाएका छन्। 

चितवनमा भरतपुरमा आयोजित गठबन्धनको चुनावी सभामा बोल्दै उनले ओलीलाई बयलगाडाको सिद्धान्तका प्रवर्द्धकदेखि गफमा पीएचडी गरेको भन्दै व्यङ्ग्य समेत गरे। 

उनले एमाले आफैले बनाएको भन्दै अहिले त्यो बिग्रिएको बताए। ‘हेर्दाखेरी क्या राम्रो फर्सी फलाएको जस्तो लाग्यो। त्यो फर्सी मैले नै फलाएको हो। त्यो पार्टीको प्रमुख हो। त्यो फर्सी अहिले कुहिएको छ,’ उनले भने। 

अध्यक्ष नेपालले गठबन्धन अहिलेको आवश्यकता भएको बताए।

‘गठबन्धन गर्दा सबैले सोचे जस्तो हुँदैन। खोजे जस्तो पाइँदैन। आफूमात्रै हुँदा त पाइँदैन,’ उनले भने, ‘गठबन्धन गर्दा सबैलाई केही न केही फाइदा भएकै छ। यो गठबन्धनलाई तलसम्म लैजाउँ। तल भड्काउने पनि होलान्। यहाँ भरतपुरमा कुनै समस्या छैन।’

उनले राजनीति इमान्दारिताको सेवा भावको पेशा भएको बताए। रेनु दाहाल प्रचण्डकी छोरी भएको कारणले मात्र नभई योग्यताको आधारमा मेयर भएको बताए। ‘रेनुलाई मेयरमा छनोट गरेर गठबन्धनले सही निर्णय गरेको छ,’ उनले भने, ‘मेयरमा सबैले रेनु दाहाललाई विजयी गराउनु हुनेछ।’

उनले नेपाली कांग्रेस भित्र भरतपुरमा केही समस्या देखिएको भन्दै व्यक्तिगत कुन्ठाको रुपमा नलिन भन्दै नाम नलिइ जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरे। 

उनले गठबन्धन राम्रो उद्देशका लागि गराइएको भन्दै निरन्तरता दिनुपर्ने बताए। उनले गठबन्धनलाई इमान्दारिताका साथ पालना गर्नुपर्ने समेत बताए। ‘हामी साँच्चै लोकतन्त्र जोगाउन चाहन्छौँ भने, संविधानको रक्षा गर्न चाहन्छौँ भने, समाजवादको बाटोमा अगाडि बढ्न चाह्नछौँ भने, हामी एकतावद्ध भएर अगाडि बढ्नुको विकल्प छैन,’ उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell