PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

यसकारण सर्वोच्च अदालतले दिएन एआईजी पोखरेलको रिट निवेदनमा अन्तरिम आदेश



पहिलोपोस्ट

यसकारण सर्वोच्च अदालतले दिएन एआईजी पोखरेलको रिट निवेदनमा अन्तरिम आदेश

काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा धेरैले अपेक्षा गरेका थिए - अन्तरिम आदेश आउनसक्ने। तर, अन्तरिम आदेश दिन अस्वीकार गरेको छ सर्वोच्चले। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा दुई दिन भएको बहसपछि अन्तरिम आदेश नदिने आदेश सुनाएको हो।

निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ताहरु महादेव यादव, हरिहर दाहाल, सतिश कृष्ण खरेल, पूर्णमान शाक्य, सानुराज पोखरेल, सुनिल पोखरेल, मेघराज पोखरेल, रमेश बडाल, ललितबहादुर बस्नेत, माधव बस्नेत र सुनिता राउतले बहस गरेका थिए। त्यस्तै विपक्षी नेपाल सरकारको तर्फबाट महान्यायाधिवक्ता खम्बबहादुर खाती, नायव महान्यायाधिवक्ता डा. श्री टेकबहादुर घिमिरे, सहन्यायाधिवक्ता संजीवराज रेग्मी तथा विपक्षी धिरज प्रताप सिंहको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त, तुलसी भट्ट, टिकाराम भट्टराई, डा. भिमार्जुन आचार्य, केदारप्रसाद दाहाल र चिरञ्जिवी उपाध्यायले बहस गरेका थिए।

गत आइतवार मन्त्रिपरिषद्को बैठकले एआइजी धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो। त्यसपछि कनिष्ठलाई आईजीमा नियुक्ति गरेको भन्दै मंगलबार एआईजी विश्वराज पोखरेल अदालत पुगेका थिए। उनले सरकारको निर्णय रोक्न अन्तरिम आदेशको माग गरेका थिए जसलाई सर्वोच्चले अस्वीकार गर्‍यो। किन अन्तरिम आदेश भएन त?

न्यायाधीश माथेमा दिएको आदेशमा अन्तरिम आदेश नदिनुको कारण यसरी उल्लेख गरिएको छ- 'उल्लेखित मिति २०७९ वैशाख १८ को निर्णय कार्यान्वयन भई १९ गते दर्ज्यानी चिन्ह समेत प्रदान गरिसकेको भन्ने सम्मिलित हुन आउनु भएका विद्वान् महान्यायाधिवक्ता लगायतका कानून व्यवसायीहरुका बहसबाट समेत जानकारी हुन आएको छ। निवेदकले रोक्न माग गरेको निर्णय कार्यान्वयन भई विपक्षी धीरजप्रताप सिंहले काम शुरु समेत गरिसकेको भन्ने देखियो। निवेदकले उठाउनु भएको कानूनी प्रश्नका सम्बन्धमा पूर्ण सुनवाइका समयमा विवेचना भई न्यायिक निरोपण हुने नै हुँदा हाल निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गरिरहन परेन।'

एउटै ब्याचका चार जना एआईजीहरू आईजीको प्रर्तिस्पर्धामा थिए। २०७७ मंसिरमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका भएका थिए। त्यस्तै ७ महिनापछि पोखरेपछि डीआईजी सहकुल थापालाई पनि सरकारले एआईजीमा बढुवा गर्‍यो। त्यसको ९ महिनापछि फेरि तीन जना एआईजीको पद थपेर बढुवा भए। डीआईजी वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्र बहादुर धानुकलाई बढुवामा परेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell