चितवन : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुरमा गठबन्धनबाट उम्मेदवार रहेकी रेनु दाहाललाई जिताउन अपिल गरेका छन्। गठबन्धनले आयोजना गरेको चुनावी सभालाई भरतपुरमा सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।
रेनु दाहाल सबैभन्दा राम्रो काम गर्ने जनप्रतिनिधि भएको उल्लेख गर्दै षड्यन्त्र भएमा कांग्रेसलाई समेत घाटा हुने तर्क गरे।
‘उहाँ आफै जितिसक्नुभयो यहाँ उहाँ जित्नुहुन्छ। अनि हामी जित्नुहुन्न भनेर आरोप लाउने?,’ सभापति देउवाले भने, ‘कुनै पार्टीले बहुमत ल्याउन सक्दैन। गठबन्धन आवश्यक छ। सबैलाई थाह छ नि। किन विरोध भयो। यहाँ ठूलो षड्यन्त्र छ। यो षड्यन्त्रमा फस्यो भने हाम्रो पार्टी पनि खत्तम हुन्छ। यो गठबन्धन टुटाउनेमा भरतपुर सहभागी हुँदैन।’
देउवाले राम्रो काम गर्ने मान्छेलाई हराए मान्छेले के भन्लान् भनी प्रश्नसमेत गरे। ‘यस्तो राम्रो काम गर्ने मान्छेलाई हराए भने भरतपुरका जनताले के भन्लान्? सबैले सहयोग गरेर उहाँलाई जिताउनुस्। यस्तो भए गठबन्धन बलियो हुन्छ। १०-२० वर्ष चल्छ। उहाँ जितिसक्नुभएको छ। साथीहरुले बखेडा निकाल्नुभएन,’देउवाले भने।
सम्बोधनको अधिकांश समय रेनुको प्रशंसामा खर्चेका देउवाले आफ्नै साथीहरुले असहयोग गरेको आरोप लगाए।
‘चितवनकै कुरा गरौं। मेयरका उम्मेदवार बनाउँदा मेरै साथीहरु असहयोगी भए। नाम भन्न चाहन्न,’ देउवाले भने, ‘टिम बनाउने पनि मेरै साथी हुन्। निरर्विरोध सभापति भएको हो।’
भरतपुर महानगरका नगर कमिटिमा चित्रसेन अधिकारी कांग्रेसका सभापति हुन्। अधिकारी उपमेयरका उम्मेदवार हुन्। देउवाले रेनुलाई कुनै शंका नगरी जिताउनुपर्ने बताए। ‘रेनु दाहालजीलाई कुनै पनि शंका नलाग्ने गरी जिताउनुपर्छ। रेनुजी कुनै पनि बेरुजु नभएको महानगरको मेयर हो। उहाँ काम पनि ठाउँठाउँमा पिच भएको छ,’ देउवाले भने, ‘त्यसैगरी यहाँको भाउ बढिसक्यो। ठाउँठाउँमा पिच भएकाले।’
रेनुले धेरै काम गर्ने आँट गरेकोले यो सानो कुरा नभएको देउवाको भनाई रह्यो। ‘भरतपुरलाई सुरक्षित बनाउछु भन्नुभएको छ, यो सानो कुरा हो? अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउन खोज्नुभएको छ। यो सानो कुरा हो?’ देउवाले प्रश्नमाथि प्रश्न गरे, ‘इन्टरनेसनल कन्फ्रेन्स हल बनाउन खोज्नुभएको छ। यो सानो कुरा हो? अन्तर्राष्ट्रिय विमानस्थल बन्छ बन्छ। कसैले रोक्न सक्दैन। यो तपाईँहरुका लागि हो। यस्तो काम गर्ने नभएर को हुन्छ यहाँ?’