PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

वर्तमान सरकारले बुटवलको विकास चाहेन : विष्णु पौडेल



पहिलोपोस्ट

वर्तमान सरकारले बुटवलको विकास चाहेन : विष्णु पौडेल

बुटवल : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकारले बुटवलमा भइरहेका विकासका आयोजनाहरु रोक्न खोजेको आरोप लगाएका छन्।

नेकपा एमाले उद्योगी व्यवसायी निर्वाचन परिचालन कमिटीद्वारा बिहीबार बुटवलमा आयोजित उद्योगी व्यवसायीको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘वर्तमान सरकार र केही विरोधीहरुले बुटवलमा भइरहेका विकासका आयोजनाहरु रोक्ने, पुरा हुन नदिने र असहयोग गर्ने षडयन्त्र गरिरहेका छन्। हामी त्यस्ता षड्यन्त्रकाहरुरीलाई परास्त गछौं । ’

उनले बुटवलमा सडक बनाउन नदिनेहरु अहिले स्थानीय तह निर्वाचनमा उम्मेदवार भएको भन्दै विकास आयोजना रोकेर एमालेलाई असफल बनाउने योजना उनीहरुको रहेको आरोप लगाए।

‘बुटवलको सडक रोकेर हाम्राविरुद्ध भ्रम फैलाउनेहरुलाई छिट्टै तिनाउमा सिग्नेचर ब्रिज र बुटवलमा ६ लेन सडक निर्माण सकेर देखाउनुपर्नेछ’ पौडेलले भने।

उनले संचालनमा रहेका योजना मात्रै पूरा हुँदा पनि बुटवल मुलुककै केन्द्र बनेर नयाँ उचाई हासिल गर्ने दाबी गरे। 

‘भौतिक र मानवीय विकासमा रुपन्देही निकै अगाडी छ। अरु ठाउँले यहाँबाट सिक्नुपर्छ। अब यहाँ धेरै गर्नुपर्ने केही छैन। सुरु भएका आयोजना सम्पन्न भएमात्र पुग्छ’, उनले भने।

आफू अर्थमन्त्री भएका बेला निजी क्षेत्र उत्साहित हुने खालको बजेट ल्याएको उनको दाबी थियो। यस्तै, कोभिड १९ महामारीको समयमा पनि अर्थतन्त्र कमजोर हुन नदिएको उनले बताए।

‘हामीले बजेट ल्याउँदा सारा उद्योगी व्यवसायीले प्रशंसा गरे। संस्थागत रुपमा त्यो तहको समर्थन बिरलै प्राप्त हुन्छ। बजेट अहिले पनि आयो तर जताततै विरोध भयो’, उनले भने ।

नेपालको महंगी ‘डबल डिजीट’मा पुग्न लागेको जनाउँदै उनले महंगी घटाउन र अर्थव्यवस्था सुधार गर्न एमाले नै जित्नुपर्ने बताए।

‘मुलुकलाई निकास दिन एमालेको नीति र नेतृत्व अपरिहार्य छ, गठबन्धनले निकास दिन सक्दैन।’ उनले भने ।

भेलामा एमालेबाट बुटवल उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईले बुटवललाई आर्थिक राजधानीको रुपमा विकास गर्ने वाचा गरे।

‘हामी हरेक काममा जनताको साथमा हुनेछौँ। तपाईँहरुको शिर झुक्ने गरी काम गर्ने छैनौँ’ उनले भने। भेलामा एमालेबाट उपप्रमुखका उम्मेदवार सावित्रा अर्यालले उद्योगी व्यवसायीको हितमा काम गर्न आफ्नो उम्मेदवारी रहेको बताइन्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell