PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

हिजो 'छाता'मा आज 'हँसिया हथौडा'मा मत मागे देउवाले, 'षड्यन्त्र भए कांग्रेस पनि खत्तम हुन्छ'



विधुर ढकाल

हिजो 'छाता'मा आज 'हँसिया हथौडा'मा मत मागे देउवाले, 'षड्यन्त्र भए कांग्रेस पनि खत्तम हुन्छ'

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गठबन्धनका उम्मेदवारलाई जिताउन कस्सिएका छन्। यही अभियानमा देउवा अहिले देशदौडाहमा छन्। 

बुधवार विराटनगर पुगेर गठबन्धनलाई जिताउन आह्वान गरे देउवाले। विराटनगर महानगरको मेयरमा कांग्रेसका नागेश कोइराला उम्मेदवार छन्। त्यस्तै उपमेयरमा जनता समाजवादी पार्टीका अमरेन्द्र यादव उम्मेदवार छन्। देउवाले त्यहाँ अमरेन्द्रलाई जिताउन छाता चिह्नमा मत हाल्न आग्रह गरे।

‘सबै साथीहरुले मेयरमा नागेश कोइराला र उपमेयरमा जसपाका अमरेन्द्र यादवलाई छातामा मत हालेर जिताउनुहोला,’ विराटनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने।

विराटनगरमा देउवाले गठबन्धनलाई धोका नदिनसमेत सचेत पारेका थिए। कांग्रेस बरु धोका खाने तर अरुलाई धोका नदिने पार्टी भएको उल्लेख गर्दै देउवाले धोकेबाजको दाग नलागोस् भन्दै चेतावनीसमेत दिए। ‘कांग्रेस पार्टी धोका खान्छ तर कसैलाई धोखा दिँदैन है भन्ने विश्वास नतोड्न र कांग्रेसको टाउकोमा धोकेबाजको दाग नलागोस्,’ उनले भने।

हिजै विराटनगरबाट भरतपुर आइपुगेका कांग्रेस सभापति देउवाले बिहीवार भने हँसिया हथौडामा मत मागे। भरतपुर महानगरमा गठबन्धनले माओवादी केन्द्रकी रेनु दाहाललाई मेयरको उम्मेदवार बनाएको छ। उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन्।

भरतपुरमा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘रेनु दाहालजीलाई कुनै पनि शंका नलाग्ने गरी जिताउनुपर्छ।’ सम्बोधनको अधिकांश समय रेनुको प्रशंसामा खर्चेका देउवाले। 

‘रेनुजी कुनै पनि बेरुजु नभएको महानगरको मेयर हो उहाँ, काम पनि ठाउँठाउँमा पिच भएको छ,’ देउवाले भने, ‘त्यसैगरी यहाँको भाउ बढिसक्यो।’

रेनुले धेरै काम गर्ने आँट गरेकोले यो सानो कुरा नभएको देउवाको भनाई थियो। ‘भरतपुरलाई सुरक्षित बनाउछु भन्नुभएको छ, यो सानो कुरा हो? अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन खोज्नुभएको छ। यो सानो कुरा हो?’ देउवाले प्रश्न गरे, ‘इन्टरनेसनल कन्फ्रेन्स हल बनाउन खोज्नुभएको छ। यो सानो कुरा हो? अन्तर्राष्ट्रिय विमानस्थल बन्छ बन्छ कसैले रोक्न सक्दैन। यो तपाईँहरुको लागि हो। यस्तो काम गर्ने नभएर को हुन्छ यहाँ?’

यतिमात्र हैन देउवाले रेनुलाई नजिताए कांग्रेसलाईसमेत घाटा हुने दाबी गरे। ‘उहाँ आफै जितिसक्नुभयो यहाँ उहाँ जित्नुहुन्छ। अनि हामी जित्नुहुन्न भनेर आरोप लाउने?’ सभापति देउवाले भने, ‘कुनै पार्टीले बहुमत ल्याउन सक्दैन। गठबन्धन आवश्यक छ। सबैलाई थाह छ नि। किन विरोध भयो। यहाँ ठुलो षड्यन्त्र छ। यो षड्यन्त्रमा फस्यो भने हाम्रो पार्टी पनि खत्तम हुन्छ। यो गठबन्धन टुटाउनेमा भरतपुर सहभागी हुँदैन।’

देउवाले राम्रो काम गर्ने मान्छेलाई हराए मान्छेले के भन्लान् भनी प्रश्नसमेत गरे। त्यसैले गठबन्धनका उम्मेदवारलाई अफ्ठेरो पर्नेगरि बखेडा ननिकाल्न कांग्रेस नेताहरुलाई उनले आग्रह गरे। ‘यस्तो राम्रो काम गर्ने मान्छेलाई हराए भने भरतपुरका जनताले के भन्लान्? सबैले सहयोग गरेर उहाँलाई जिताउनुस्। यस्तो भए गठबन्धन बलियो हुन्छ। १०-२० वर्ष चल्छ। साथीहरुले बखेडा निकाल्नुभएन,’ उनले भने।

‘चितवनकै कुरा गरौं। मेयरका उम्मेदवार बनाउँदा मेरै साथीहरु असहयोगी भए। नाम भन्न चाहन्न,’ देउवाले भने, ‘टिम बनाउने पनि मेरै साथी हुन्। निरर्विरोध सभापति भएको हो।’

भरतपुर महानगरका नगर कमिटिमा चित्रसेन अधिकारी कांग्रेसका सभापति हुन्। अधिकारी उपमेयरका उम्मेदवार हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell