
बुटवलः सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्डको चरचरेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
बुटवलबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको लु १ च ७७८० नम्बरको जीप तिनाउ गाउँपालिका ५ चरचरेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
दुर्घटनामा रामपुर नगरपालिका ३ स्थायी घर भई रामपुर ५ बेझाड बस्ने सूर्यप्रसाद श्रेष्ठको मृत्यु भएको छ। घाइते हुनेहरुमा गाडी चालक रामपुर नगरपालिका ३ का खेमबहादुर खाम्चा र सोही स्थानका टुकनारायण श्रेष्ठ रहेका छन्।
घाइते दुबैको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जीप सडकबाट करिब तीन सय मिटर तल खसेको छ।