PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

प्रतिबन्धबाट बच्न धनाढ्य रसियालीहरुको लागि स्वर्ग बन्यो दुबई



पहिलोपोस्ट

प्रतिबन्धबाट बच्न धनाढ्य रसियालीहरुको लागि स्वर्ग बन्यो दुबई
Photo: Getty Images

दुबई यतिबेला धनाढ्य रसियालीहरुको लागि स्वर्ग जस्तै बनेको छ। युक्रेन युद्धपछि पश्चिमा देशहरुले लगाएको प्रतिबन्धबाट बच्न रसियाका धनी व्यक्तिहरूले दुबईलाई आश्रयस्थल बनाइरहेका छन्।

रसियाली अर्बपति तथा ‘इन्ट्रप्रेन्युर’हरू निकै ठूलो संख्यामा संयुक्त अरब इमिरेट्स (यूएई) आइपुगेको त्यहाँ व्यापारी नेताहरूले बीबीसीलाई बताएका छन्। सन् २०२२ को पहिलो तीन महिनामै रसियालीहरूले दुबईमा घरजग्गा खरिद गर्ने क्रम ६७ प्रतिशतले बढेको एक रिपोर्टले जनाएको छ।

यूएईले रसियामाथि प्रतिबन्ध लगाएको छैन भने युक्रेनमाथि गरेको आक्रमणको आलोचना पनि गरेको छैन। यूएईले प्रतिबन्ध नलगाइएका रसियाली नागरिकहरूलाई पनि भिसा दिइरहेको छ। तर, धेरै पश्चिमी देशहरूले उनीहरूलाई पनि प्रतिबन्ध लगाएका छन्।

पछिल्लो दुई महिनामा लाखौँ मानिसले रसिया छोडेको अनुमान गरिएको छ। यद्यपि, यसबारे यकिन तथ्याङ्कहरू आइसकेका छैनन्। युद्ध सुरु भएको पहिलो १० दिनमै करिब २ लाख रसियाली नागरिकहरूले देश छाडेको एक रसियाली अर्थशास्त्रीले बताए।

कम्पनीहरूलाई दुबईमा कार्यालय सेट-अप गर्न मद्दत गर्ने ‘भर्च्युजोन’ले रसियाली ग्राहकहरूको ठूलो वृद्धि भइरहेको बताएको छ।

‘युद्ध सुरु भएपछि रसियालीहरुबाट ५ गुणा बढी सोधखोज भइरहेको छ’, भर्च्युजोनका प्रमुख कार्यकारी जर्ज होइजले भने, ‘उनीहरु आर्थिक मन्दी आउनेप्रति चिन्तित छन्। त्यसैले उनीहरु आफ्नो सम्पत्ति जोगाउन यहाँ सरिरहेका छन्।’

रसियाली नागरिकहरूको आगमनले शहरका आलिसान भिल्ला र अपार्टमेन्टहरूको माग ह्वात्तै बढेको छ। दुबईमा आएका रसियालीहरूले घर किन्न खोजिरहेकाले घरजग्गाको मूल्यमा वृद्धि भएको रियल इस्टेट एजेन्टहरूले बताइरहेका छन्।

दुबईस्थित रियल इस्टेट एजेन्सी ‘बेटरहोम्स’ले सन् २०२२ को पहिलो तीन महिनामै रसियालीहरूले घरजग्गा खरिद गर्ने क्रममा दुई तिहाइले वृद्धि भएको बताएको छ।

त्यस्तै, अर्को एक रियल इस्टेट एजेन्सी ‘मोडर्न लिभिङ’ बढ्दो माग पूरा गर्न आफूहरुले धेरै रसियाली भाषी एजेन्टहरूलाई काममा राखेको बीबीसीलाई बताएको छ। कम्पनीका प्रमुख कार्यकारी थियगो काल्डासले उनीहरूलाई तुरुन्तै दुबईमा सर्न खोजिरहेका रसियाली नागरिकहरूबाट धेरै टेलिफोन कलहरू प्राप्त भइरहेका बताए।

‘यहाँ आउन लागेका रसियालीहरुले लगानीका लागि मात्र घरजग्गा किनिरहेका छैनन्, उनीहरू दुबईलाई आफ्नो दोस्रो घरको रूपमा हेरिरहेका छन्,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell