पोखरा : देशभरका पालिकामा निर्वाचनको रौनक छ। ठुला दलदेखि साना दल यतिबेला मत माग्दै घरदैलो कार्यक्रममा व्यस्त छन्। आसन्न निर्वाचनमा युवा पुस्ताको उत्तिकै उत्साहजनक उपस्थिति देखिएको छ। स्वतन्त्र उमेदवारी दिँदै युवाले राजनितिमा हस्तक्षेप बढाएका छन्। केही पालिकामा साना र ठुला दलले पनि पालिकाको नेतृत्व हाँक्न युवालाई नै अघि सारेका छन्।
आसन्न निर्वाचनमा पालिकाको नेतृत्व हाँक्न युवाहरुको कित्ता कस्सिरहँदा ग्राउन्ड लेभलमा भने अर्को युवाको जमात राजनितिबारे चासोबिहीन छन्।
पहिलोपटक निर्वाचनमा सहभागी हुँदैछन् विमल गैरे। भर्खर उमेर पुगेसँगै निर्वाचनमा सहभागी हुन लागेका विमललाई उत्सुकताभन्दा अलमल बढी छ। आफनो गाउँठाउँको विकासका लागि जनप्रतिनिधी चुन्ने अवसर पाउँदाको आतुरताले भन्दा कसलाई मतदान दिने भन्ने कुराले उनी अलमलमा छन्।
राजनितिबारे चासो नै नराख्ने उनलाई मतदान गर्न पाउने आफनो अधिकारले नै त्यसतर्फ बल्ल ध्यान खिचेको हो। मतदान गर्ने अधिकार सदुपयोग गर्दै जनप्रतिनिधी चुन्न चाहे पनि उनलाई थाहा छैन कस्ता उम्मेदवारलाई मतदान गर्ने।
‘इन्ट्रेस्ट नै छैन, केही सोचेकै छैन। नजिकबाट हेरेको छैन पोलिटिक्सको बारे, त्यहीँ भएर कुन राम्रो भन्ने पनि थाहा भएन। साथीहरु हुन्छन् यो पार्टी राम्रो उ पार्टी राम्रो भन्ने तर मलाई वास्ता छैन,’ उनले भने।
कहिलेकसो साथीहरुसँग चियागफमा यो र त्यो राजनितिक दल राम्रो भनेर छलफल भए पनि निर्वाचनमा भने दल हेर्न नहुने धारणा राख्छन् उनी। पार्टी हेरेरभन्दा उम्मेदवार हेरेर मतदान गर्ने सोच उनको छ।
विमलले राजनितिबारे चासो नै नराख्दा यता सन्जोक विक राजनितिप्रति वितृष्णा राखेर बसेका छन्। सन्जोकको पारिवारिक पृष्ठभूमि राजनितिक छ। त्यसैले पनि उनले थोरै नजिकबाट नियालेका छन् राजनितिक परिदृश्य। पारिवारिक पृष्ठभूमि र साथीहरुको लहलहैमा लागेर केही समय राजनितिक दलको भातृ संगठनमा हिँडे उनी। दुई ठुला राजनितिक दलको झगडा काटमारमा बदलिएको नजिकबाट देखेका उनमा नैराश्यता पलाएको छ।
सहभागी हुने इच्छा राखे उनले आसन्न निर्वाचनमा पहिलोपटक मतदान गर्नेछन्। तर,मतदान नै नगर्ने सोच बनाएका छन् उनले। उनको गुनासो छ : युवालाई भर्याङ मात्र बनाइयो, युवा शक्तिको दुरुपयोग गरियो।
भन्छन्,‘केही सुविधा हुन्न भोट हालेर हामीले के पाइन्छ? हामीलाई त र्यालीमा हिँडाउछन् मात्र अरु केही गर्दैनन्। यस्तै हो राजनिति बारे चासो राख्दिन अब।’
सरकार र राजनितिक दलको कार्यशैली देखेर वितृष्णा राखेका छन् युवाले। उमा मगर पनि सरकारको कार्यशैलीप्रति असन्तुष्ट छिन्। त्यसैले आउने निर्वाचनमा सहभागी हुने मनाशय छैन उनको। मतदाता नामावलीमा समेत आफ्नो नाम उनले समावेश गराइनन्।
‘जति जे गरे पनि केही गर्दैनन् त्यहीँ भएर मलाई इन्ट्रेस्ट नै लाग्दैन। कुनैले राम्रो गर्यो होला, कुनैले नराम्रो। तर मलाई चित्त बुझेको छैन। त्यसैले पनि वास्ता राख्दिन,’ उनले भनिन्।
उमाले जस्तै सगुन थापाले पनि मतदाता नामावली बनाइनन्। भर्खर १८ पुगेकी सगुन राजनितिप्रति चासो राख्दिनन्। नागरिकको आधारभूत आवश्यकता सम्बोधन नगरेको उनको गुनासो छ। वडाका जनप्रतिनिधीबारे भने उनी जानकार छिन्। तर, वडामा जनप्रतिनिधीले देखाएको कार्यशैलीप्रति रुष्ट। उनिहरुकै कार्यशैली देखेर मतदाता नामावली बनाउन आवश्यक नठानेको उनी सुनाउँछिन्।
‘केही गरिदिए पो, अलिकति चेन्ज लिएर आए पो, थोरै चेन्ज गरे पो आशा लाग्छ। सबै आआफनो खाना पाए हुन्थ्यो, आफैँलाई भइदिए हुन्थ्यो भन्छन्। त्यहीँ भएर भोटर कार्ड बनाउन वास्ता भएन,’ उनले भनिन्,‘जनताको कुरा बुझन पर्यो। कसको हालत कस्तो छ, ससाना कुरा बुझेर काम गर्नपर्यो। आधारभूत कुरा गरेपनि आशा जाग्छ।’
नयाँ संविधान आएपछि दोस्रोपटक हुन लागेको निर्वाचनमा उमेर पुगेरपनि कतिपय युवा मतदान दिन इच्छा राखेका छैन। यता, पहिलोपटक भएको स्थानिय तह निर्वाचनमा सहभागी भएका युवालाई पनि अलमलमा छन्, अबको निर्वाचनमा सहभागी हुने वा नहुने?
अघिल्लो निर्वाचनमा जीवन आचार्य जुन अपेक्षा र उत्सुकताले सहभागी भएका थिए त्यो पूरा भएन। जनप्रतिनिधीहरुले देखाएको घोषणापत्रको सपना अधूरो रहयो। त्यसैले पनि उनमा आउने निर्वाचनका लागि उत्सुकता कम छ।
दलहरुले निकालेको घोषणा पत्र देखेर उनी थप निराश छन्। पूरा गर्न नसक्ने योजना समावेश भएको देख्दा उनी आजित सुनिन्छन्।
‘बाहिर जुन उत्सुकता देखिए पनि म जस्ता आम युवाहरुमा खासै उत्सुकता भएको महसुस मैले गरेको छैन। अहिले उहाँहरुले जुन चिज पूरा गर्न सक्नुहुन्न त्यो चिज घोषणा पत्रमा समावेश गर्नुभएको छ। तर, मलाई त्यो पूरा हुन्छ जस्तो लाग्दैन,’ उनले भने।
उनलाई थाहा छ उनको मत आवश्यक छ, त्यसैले पनि निराशा बोकर नै उनले निर्वाचनमा सहभागी हुने मनाश्य बनाएका छन्। तर,अझै अन्योलता भने कायमै छ उनमा, कसलाई मत दिने?
दलहरुको घोषणा पत्र र योजना सुनेर मतदान गर्नुपर्ने धारणा राखेका उनले कार्यान्वयनमा शंका गरेका छन्।
‘नागरिक निर्वाचनमा भाग लिन पर्ने हुन्छ तर स्वयं आफू पनि कुनलाई मत दिउँ डिसाइड गर्न सकेको छैन। निर्वाचनमा म र मजस्ता पढेलेखेका युवाहरुले घोषणापत्रका आधार पढेर वास्तविक रुपमा कार्यानयन हुन सक्छ वा सक्दैन भन्ने कुरा मूल्याकंन गरेर सहभागी हुन हो,’ उनले भने। दलहरुले घोषणापत्रमा ठुला–ठुला योजना समावेश गर्नुभन्दा नागरिको आधारभूत समस्या बुझेर योजना ल्याउनुपर्ने सुनाउँछन् उनी।
जनप्रतिनिधी चुन्ने अधिकार हुँदा पनि राजनितिप्रति युवाले राखेको वितृष्णा राजनितिक दलहरुको व्यवहार र सरकारको कार्यशैलीले आएको बताउँछन् राजनितिक शास्त्रका पूर्वप्राध्यापक पदम शरण रेग्मी।
‘राजनितिक दलहरुको व्यवहार सरकारको कार्यशैली, उम्मेदवार छनौटको कार्यशैली। अहिलेको युवाहरु त मिडियाबाट संसार बुझेका हुन्छन्। आखिरमा राम्रो नराम्रो भन्न पर्दैन। अहिलेका मतदाता सचेत छन्। प्रफमेन्स हेर्छन् त्यो प्रफेन्समा त उनीहरुले राम्रो मानेका छैनन्। सबै माहोल हेरेर मतदातामा मतदान गर्ने इच्छा छैन,’ उनले भने।
पूर्वप्राध्यापक पदमका अनुसार गलत बाटोमा गइरहेको राजनीतिलाई सचेत नागरिक र अहिलेका पढेलेखका युवा पुस्ताले हेरिरहेको हुँदा वितृष्णा जाग्नु जायज छ।
‘सक्षम मान्छे पाखा लाग्दै गएछन्। हरेक क्षेत्रमा, पढेलेखेका मान्छेले त्यो त वाच गर्छ। राजनिति राम्रो ट्याकमा चलेन। वितृष्णा जाग्नु जायज छ। हाम्रोमा नन अफ दि एभोव छैन, आदेश भएपनि झुलाएर राखेछ।,’ उनले भने।
पदमले जिकिर गरे जस्तै नेपालको सर्वोच्च अदालतले २०७० पुस १२ गते कुनै पनि उमेदवार मन नपरे अस्वीकार गर्न पाउने अधिकार दिइ कानुन बनाउन सरकारलाई निर्देशनात्मक आदेश दिएको थियो। तर, दोस्रो पटक निर्वाचन हुन गइरहँदा समेत सो आदेश लागु भएको छैन। नन अफ दि एभोव (नोटा)को अभ्यास छिमेकी मूलूक भारतमा पनि हुँदै आएको छ।
केही युवा अलमलमा भइरहँदा पछिल्लो समय राजनितिमा युवाको आर्कषण पनि बढ्दो छ। जुन स्थानिय तह निर्वाचनमा समेत देखिएको छ। तर, अझै पनि युवाहरु नेतृत्वमा आउने परिवेश नबनेको पूर्वप्राध्यापक पदम बताउँछन्। राजनितिमा हस्तक्षेप गर्न आएका युवाहरु पनि अधिकांश पारिवारिक राजनितिक वातावरणका कारण आउने उनले सुनाए।
‘प्राइमेरी लेभलबाट बुझेर पढेर लाग्ने युवा कम हुन्छन्। बाबा लागेछ, आमा लागेछ, काका लागेछ, को लागेछ फेमली ब्याकग्राउण्डले पनि उपस्थिति बढाएको छ। पूरै बुझेर सिद्धान्त मनपराएर लाग्ने कम छन्,’ उनले भने, ‘हामीकहाँ नागरिक शिक्षा कमजोर भयो। युवा आए पनि फस्टाउने वातावरण छैन। युवाहरुलाई स्कुलिङ भएन प्रोत्साहन छैन। युवाहरु सचेतपूर्ण हस्तक्षेप गरेर राजनितिमा लाग्नुपर्ने हो। तर, उनीहरुलाई वितृष्ण जगाइदियो।’