PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

कर्ण मल्ल लक्षित आरजुको बोली : जहाँ कांग्रेसको मेयरै हुन्न त, हामी किन पैसा पठाउँछौं?



पहिलोपोस्ट

कर्ण मल्ल लक्षित आरजुको बोली : जहाँ कांग्रेसको मेयरै हुन्न त, हामी किन पैसा पठाउँछौं?

कैलाली : कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो जन्म घर र जन्म घर पुग्ने बाटोसमेत बिर्सिएको आरोप लाग्ने गरेको छ। डडेल्धुराको भात काँडाबाट १४ किलोमिटर उत्तरतर्फ हिँडेपछि गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मटेलास्थित रुवा खोला गाउँ पुगिन्छ। जुन देउवा जन्मेहुर्केको गाउँ हो। 

२०७४ को स्थानीय तह निर्वाचनमा हेलिकोप्टर चढेर सपरिवार गन्यापधुरा पुगी मतदान गरेका देउवाले भात काँडाबाट गाउँसम्मको १४ किलोमिटर सडक कालोपत्रे गराउन सकेका छैनन्। उक्त सडकको ट्र्याक खोलिएको तीन दशक पुग्न लाग्यो, तर कालोपत्रे भने हुन सकेको छैन। गाउँमा द्वन्द्वकालमा माओवादीले क्षति पुर्‍याएको घरको पुन निर्माण पनि देउवाले गरेका छैनन्। तर त्यसै सडक र गाउँको विकासका लागि भनेर भोटको राजनीति भने अझै छुटेको छैन। 

बुधवार नेपाली कांग्रेस अमरगढी नगरको आयोजनामा डडेल्धुराको बागबजारमा भएको चुनावी आमसभामालाई सम्बोधन गर्दै देउवा पत्नी डा. आरजु राणा देउवाले आफू गन्यापधुराकै स्थानीय बासिन्दा भएकोले आफ्नो घरसम्म पुग्ने बाटो बनाउनका लागि स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गरिन्। त्यतिमात्र हैन उनले कांग्रेसका जनप्रतिनिधि नभएका ठाउँमा बजेटसमेत नपठाइने बताइन्। 

डडेल्धुरामा एक समय प्रधानमन्त्रीकै सचिवालयमा कामसमेत गरिसकेका निवर्तमान जिल्ला सभापति कर्ण मल्लले अहिले देउवा गुट छोडेर बीपी कांग्रेस रोजेका छन्। सभापतिले एकलौटी गर्न थालेका भन्दै मल्लले जिल्ला अधिवेशन बहिस्कार गरेका थिए। उनले अधिवेशनमा एकलौटी भएको आरोप लगाउँदै काठमाडौँ पुगेर पार्टी कार्यालयमा धर्नासमेत दिएका थिए। तर देउवा पक्षले आफूखुसी गरेको आरोप लगाउँदै स्थानीय तहमा भनी उनले बीपी कांग्रेसबाट एमालेसँग तालमेल गरी चुनावमा उत्रिएका छन्। 

जसका कारण उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ। ‘देउवाको एकलौटी विरुद्ध जिल्लामा सङ्घर्ष गर्ने अभियान थालनी भएको छ,’ मल्लले भने, ‘जसको नेतृत्व मैले गर्दै छु। उक्त निर्णय हामीले गरिसकेका छौँ।’

यता करुवा चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका मल्ल समूहलाई लक्षित गर्दै डा. आरजुले बुधवार डडेल्धुराको विकासका लागि नेपाली कांग्रेसलाई जिताउन आग्रह गरिन्। ‘अहिले विकासको काम गर्ने भनेको स्थानीय सरकारले हो,’ उनले भनिन्, ‘अहिले विकास गर्ने भनेको हामीले हो। डडेल्धुरामा जहाँ कांग्रेसको मेयर हुन्छ त्यहाँ पहिला पैसा(बजेट) जान्छ। जहाँ कांग्रेसको मेयरै हुन्न त हामी किन पैसा पठाउँछौँ?’ करुवा चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका मल्ल समूहलाई लक्षित गर्दै उनले अगाडि भनिन्, ‘त्यसैले करुवा, सरुवा, हरुवा पार्टीलाई भोट नहाल्नुस्। नेपाली काङ्ग्रेसलाई भोट हाल्नुस्। यहीमात्रै एउटा सच्चा पार्टी हो। यही पार्टीले मात्रै तपाईँलाई माया गर्छ।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell