PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

धनराजले पोखरामा खोस्न सक्लान् एमालेको मत? के छ जितको आधार? (अन्तर्वार्ता)



रिना थापा

धनराजले पोखरामा खोस्न सक्लान् एमालेको मत? के छ  जितको आधार? (अन्तर्वार्ता)

पोखरा : नेपाल कम्युनिष्ट पार्टी एमालेको पकड रहेको पोखरा महानगरपालिकामा गठबन्धनबाट प्रमुखमा उम्मेदवार छन् धनराज आचार्य। अघिल्लो निर्वाचनमा महानगरमा एमालेले प्रमुख पदमा १४ हजार मतान्तरले विजयी हासिल गरेको थियो। अहिले स्थानीय तह निर्वाचनमा एमालेबाट मैदानमा रहेका कृष्ण थापासँग प्रतिस्पर्धामा छन् उनी। पूर्व सहयात्री समेत रहेका दुवैबिचको प्रतिस्पर्धा रोचक देखिन्छ। एमाले विवादपछि एकीकृत समाजवादी रोजेका धनराज जितमा विश्वस्त छन्। उनै धनराज आचार्यलाई पहिलोपोस्टकर्मी रिना थापाले सोधिन् -

तपाईँलाई पोखरेलीले किन मत दिने?

मलाई मत किनभन्दा - परम्परागत हिसाबले चलिरहेको पोखरा महानगरपालिकाको प्रशासनिक कार्यशैली, दैनिक सेवा वास्तवमै अपुग र त्यसबाट नगरबासी सन्तुष्ट हुनुहुन्न। त्यसलाई हामीले परिवर्तन गर्छौं। काम गरेर डेलिभरी दिने, सेवा सुविधा बढाउने। काम लिएर आउनेलाई छिटोछरितो र चुस्तदुरुस्त, कसैप्रति काखापाखा नगर्ने हाम्रो प्रतिबद्धता छ। काम सम्पादन राम्रो गर्ने। अर्को कुरा हामीले दीर्घकालीन र अल्पकालीन हिसाबले दुईथरी योजना बनाएर पोखरा बनाउन अगाडि बढेका छौं। हामीलाई चाहिने न्यूनतम पूर्वाधारको कुरालाई हामीले यसरी र यो समयभित्र काम गछौँ भनेर योजना बनाएर अगाडि बढेका छौं। यिनै काम सक्नका लागि मत दिने हो।

तपाईँको जित्ने आधार के?

एउटा चाहिँ पाँच वटा पार्टीको आफ्नै बल नै हो। अहिले सबै वडामा हामी गएका छौं। सबैले राम्रोसँग हार्दिकतापूर्वक नै गठबन्धको उम्मेदवार नै हामी सबैको उम्मेदवार हो भनेर स्वीकार गर्नुभएको छ। त्यसो भएको हुनाले हाम्रो पाँचवटा पार्टीको जे मत छ त्यो एउटा मत रह्यो। दोस्रो भनेको त्यसभन्दा बाहेकको पनि मेरो व्यक्तिगत हिसाबले, मैले जे जति साथीहरु आर्जन गरेको छु त्यो मेरो एडिसनल कुरा छ। त्यसैले मैले मेरा पुराना साथीहरुसँगको सम्बन्ध, मेरा व्यक्तिगत साथीहरुसँग मेरो गाउँ घरबाट राम्रै मत ल्याउने मसँग आँकडा छ।

एमालेको मत तान्ने संकेत गर्नुभयो नि तपाईँले? त्यो कसरी सम्भव छ?

हो नि। कूल जनसंख्या पोखराको पाँचलाख चानचुन छ। त्यसमध्ये दुई लाख सात हजार मतदाता हुनुहुन्छ। एकलाख पचास हजार जति मत खस्छ। भनेपछि त्यसभन्दा बाहिर पनि ठूलो संख्या छ। सबै मान्छेहरु पार्टीका कार्यकर्ता हुँदैनन्। शुभचिन्तक, समर्थक पनि हुन्छन्। ठूलो संख्या चाहिँ स्वतन्त्र पनि हुन्छन्। विगत ३७ वर्षदेखि म पोखरामा छु। विद्यार्थी हुँदा, व्यवसायिक क्षेत्रमा रहँदा, सामाजिक क्षेत्रमा रहँदा र राजनीतिक क्रियाकलाप गरिरहेको अवस्थामा समाजका विभिन्न क्षेत्रसँग मेरो सम्बन्ध छ। व्यक्तिगत हिसाबको पनि सम्बन्ध छ। त्यसो भएको हुनाले त्यो राजनितिक, व्यक्तिगत, व्यवसायिक सम्बन्धको हिसाबले सामाजिक सम्बन्धको हिसाबले पनि निर्वाचन सन्दर्भमा व्यक्ति हेर्ने हुन्छन्।

स्थानीय चुनाव भनेको चाहिँ धेरै राजनीतिक कुराभन्दा व्यक्ति हेर्ने कुरा हुन्छ। इस्यु र एजेन्डा पनि हुन्छ। त्यसो भएको हुनाले पाँचवटा पार्टीसँग सम्बन्धित भोटहरु त एक ठाउँमा कलेक्टिभ भएर आउने नै भयो। त्यसबाहेक पनि क्यान्डिडेट हेरेर पनि। त्यो त मेरो दाबी नै छ। हरेक उम्मेदवारले आ–आफनो स्ट्रेन्थ प्रयोग गरी नै हाल्छन्। यी सबै जोड्दा जित्नका लागि यथेष्ट ठाउँमा छु भन्ने छ। 

वडा–वडामा गठबन्धन हुन सकेन। यसको असर पर्छ कि पर्दैन?

मेयर उपमेयरको सन्दर्भमा चाहिँ सर्वसम्मत नै छ। कुनै ठाउँमा वडा–वडामा वडाध्यक्ष र सदस्यमा कुरा नमिलेको हो। मेयर उपमेयरमा त्यस्तो असर पुग्दैन। किनभन्दा मान्छे भोट हाल्न जाँदैनन् कि भन्ने आशंका हुन्थ्यो माथिल्लो चुनावमा। यसमा तलको वडा सदस्यले जसरी पनि बोकेर त्यहाँ पुर्‍याउँछन्। किनभने तल धेरै विङ्स छ। तलका सबै उम्मे दवार छन्। उहाँहरुले चाहिँ आफ्नो लागि पनि लैँजादै हुनुहुन्छ। कांग्रेसको सबै वडामा उम्मेदवार हुनुहुन्छ। त्यहाँ लगिसकेपछि अब मतदान गर्दा कि त सूर्यमा मतदान गर्नपर्‍यो कि कलममा। उहाँहरुले सूर्यमा मतदान गर्नुभन्दा त कलममै गर्नुहुन्छ। किनभन्दा एक त पार्टीको एउटा लाइनको कुरा पनि रहयो। ‘अनेष्टी’को कुरा पनि रहयो। अर्को कुरा चाहिँ उम्मेदवारका हिसाबले पनि यो अलिकति क्रियटिभ मान्छे छ यसले यसरी काम गर्छु भनेर कमिन्टमेन्टका साथ आएको छ। विगत पनि हेर्दा पत्याउने खालकै छ। अहिले बरु मतपत्रमा अलिकति बदर हुनसक्छ भनेर अल्ली सजकताका साथ घरघरमै सिकाउन पठाउने टोलीहरु पठाइरहेका छौं।

पोखराको लागि तपाईँको एजेन्डा के?

हामीले हाम्रो घोषणापत्रमा सब कुरा प्रष्ट नै राखेका छौं। पोखरालाई अल्पकालीन र दीर्घकालीन दुई हिसाबले योजनाहरु बनाएर अगाडि बढ्ने। यो काम गर्ने एउटा सिस्टम भयो। खासगरी सुशासनको सन्दर्भका कुराहरुलाई एक ढंगले व्यवस्थित गरेर जाने भनेर प्लानमा राखेका छौं। अर्को कुरा चाहिँ अब सिंगो पोखरेलीलाई कसरी उत्पादनमा जोड्न सक्छौं? पोखराको जनसंख्याको ८ देखि ९ प्रतिशतको जनसंख्या गरिवीको रेखामुनि देखिन्छ। उहाँहरुलाई चाहिँ कसरी मूल धारमा ल्याउन सकिन्छ? त्यसभन्दा माथि जति हुनुहुन्छ उहाँहरुलाई सहज तरिकाले गरिखाने वातावरण बनाउन सकिन्छ। यसका लागि प्लानहरु गर्नुपर्छ र त्यहीँ अनुसार दिनपर्छ भनेर हामीले हाम्रो घोषणा पत्रमा राखेका छौं।

नेपालको संविधानले पनि अबको सम्पूर्ण कार्यक्रम भनेको समाजवादउन्मुख कार्यक्रम हुनुपर्छ भनेर सर्वसम्मत ढंगले सबै पार्टीहरुले मानेको अवस्था भएको हुनाले हामीले हाम्रा सबै कार्यक्रमहरुलाई त्यहीँ आधारमा तय गरेका छौं।

यसमा पाँच दलीय गठबन्धनको तर्फबाटै हामीले आफ्ना सबै एजेण्डाहरुलाई मिलाएर घोषणापत्र तयार गरेको हौं। यहाँको विकासलाई खासगरी पूर्वाधारहरु तीन अवस्थामा छ - पोखराको एउटा कोर डाउन टाउन छ, एउटा शहर उन्मुख छ, एउटा गाउँ छ। त्यसो भएको हुनाले पहिलो प्राथमिकता गाउँलाई प्रारम्भिक रुपमा पूर्वाधारका कुराहरु पुर्‍याउने। अझै पनि ६ सय ४१ किलोमिटर सडक धुलाम्मे छ। त्यसलाई पाँचवर्षभित्र ब्ल्याक टप गर्ने। यसरी पूर्वाधारको कुराहरु पनि विस्तारै सबैलाई लिएर जाने। पूर्वाधारका कुरा गाउँबाट सुरु गर्ने। अरु उत्पादनका कुरा शहरबाट सुरु गर्ने। कर पनि जनता फ्रेन्डली बनाउने। व्यवसायीहरु पनि हतोत्साहित नहुने गरी करको दायरा बढाउने। मानिसलाई उत्पादनमा जोड्ने। बेरोजगारी हटाउने नै कुरा हो। यसलाई चाहिँ जोडेर पाँच वर्षमा पोखराको विकासको कुरा गर्ने। बाटोघाटोमात्र विकासको कुरा होइन।

यहाँको शिक्षाको गुणस्तर के हुने सामाजिक चेतनाको अवस्था के हुने? सक्षम र सबल नागरिक बस्ने शहरको रुपमा विकास गर्ने हामीले सोचिरहेका छौं। सुशासनको प्रत्याभूति गर्ने कामहरुलाई व्यवस्थित गर्ने। सिस्टममा चलाउने त्यसपछि विकासका कुराहरुलाई क्रमश लैजाने।

घोषणा पत्रमा समेटिएका महत्वकांक्षी योजना आवश्यक र सम्भव छन्?

हामीसँग केन्द्रको सरकार छ। प्रदेश सरकार छ। आफ्नै बजेट छ। र, कतिपय हामीले भनेका ठूला प्रोजेक्टहरु हाम्रो आफ्नो स्रोत साधनमा मात्र बन्ने होइन। यसलाई हामीले अन्तर्राष्ट्रिय संस्थादेखि लिएर विभिन्न हिसाबले काम गर्न सक्छौं। अथवा पब्लिक प्राइभेट पार्टनरसीपमा पनि गर्न सक्छौं। सहजीकरण गरेर निजी क्षेत्रसँगै मिलेर काम गर्नेछौं। यो त तीन खम्बे अर्थनीति भन्ने नेपाल सरकारले केन्द्र तहमै गरेका कुरा हुन्। त्यसलाई पनि हामीले यहाँ राखेका छौं। हामीले यहीँ वर्ष गर्छु भनेका छैनौं।

कहाँदेखि कहाँसम्म त्यसको डिमार्केसन गर्नुपर्‍यो नि। त्यो कुराको सम्भवत अध्ययन गर्ने सुरु गर्ने। त्यो ठूलो प्रोजेक्ट हो एकैवर्षमा सकिने प्रोजेक्ट होइन। तर, हामीले चाहिँ अरु स्याटलाइट सिटीहरुमा जस्तो कि लेखनाथलाई बस्न योग्य बनाउने, हेम्जालाई बस्न योग्य बनाउने। त्यहाँको मानिसहरु पोखरा आएर घर किन्न नपरोस्। यस्ता खालका पूर्वाधारका कुराहरु प्रारम्भिक हुन्। त्यो नबनाई हामीले ठुल्ठुला प्रोजेक्टका कुरा गर्‍यौं भने त्यो अन्त जस्तो कुरा आउँला। हामी यथास्थितिमा बसेर कुरा गर्नपर्‍यो। तर, त्यसभन्दा भन्दै यो त महानगर हो नि। अबको १०/१५ वर्ष पछाडि पनि यहाँ कुनै नयाँ चिज थपिँदैन र अहिले भएका बाटोमा भत्कियो भने पिच गर्ने खाल्डा भए भने भर्ने मात्रै कुरा गरे त त्यो चलनचल्तीका भयो। त्यसो भएको हुनाले हामीले केही प्रोजेक्ट पनि गर्नुपर्‍यो।

तपाईँ निर्वाचित हुनु भयो भने पोखरेलीले प्रत्यक्ष अनुभव गर्ने पहिलो काम के हुन्छ?              

जहाँसम्म हामी निर्वाचित भएर आइसकेपछि हामीले अहिलेसम्म बिग्रेको सिस्टमलाई एउटा राइट प्लेस र ट्रयाकमा ल्याउँछौं। त्यसपछाडि सर्भिस डेलिभरीका कुराहरुलाई व्यवस्थित तरिकाले अगाडि बढाउछौं।

प्रतिस्पर्धी तपाईँको पूर्व पार्टीको सहयात्री पनि हुनुहुन्छ। कस्तो महसुस गर्नुभएको छ ?

स्वभाविक हो निर्वाचनमा गइसकेपछि यसलाई अन्यथा ठान्नु हुँदैन। व्यक्तिगत हिसाबले साथीभाइको सम्बन्ध आफ्नो ठाउँमा छ। तर, त्यो चाहिँ अब एकआपसमा स्वस्थ प्रतिस्पर्धा नै गर्नुपर्छ। यो त रमाइलो भइरा’छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell