
काठमाडौं : नेपाल र जिम्बावे 'ए'बिचको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाली टोली पराजित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा जिम्बावे 'ए'ले ३ विकेटको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको नेपाली टोली ३१.३ ओभरमा अलआउट हुँदै १३६ रनमा समेटिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको जिम्बावे 'ए'ले २६औँ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो।
सुरुवाती ब्याटिङ गरेको नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाउँदा करण केसीले २५ रन बनाए। त्यस्तै, कुशल भुर्तेलले १९ तथा दीपेन्द्रसिंह ऐरीले १८ रन बनाए। त्यसबाहेकका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
नेपाललाई सानो स्कोरमै समेट्न जिम्बावे 'ए'का ब्राड इभान्सले सर्वाधिक ४ विकेट लिँदा भिक्टर न्याउची, ब्रान्डोन मभुता र केपहस झुवाओले समान २ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको जिम्बावे 'ए'का लागि इनोसेन्ट काइआले सर्वाधिक अविजित ४८ रन बनाउँदा सेफाज झुआओले ३२ रन बनाए। त्यस्तै, ब्राड इभान्सले अविजित १७ र रोय काइआले १४ रन जोडे।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिँदा सोमपाल कामी र सागर ढकालले समान १ विकेट लिए।
नेपाल भ्रमणका क्रममा रहेको जिम्बावे 'ए'सँगको तीन खेलको टी २० सिरिजपछि आजबाट तीन खेलको एकदिवशीय अभ्यास सिरिज सुरु भएको हो। यसअघि सम्पन्न टी २० सिरिजमा जिम्वावे र नेपालले समान १ खेल जित्दा एउटा खेल वर्षाका कारण नतिजाविहीन भएको थियो। र, सिरिज १-१ को बराबरीमा टुंगिएको थियो।
नेपाल र जिम्बावे 'ए'बिच दोस्रो खेल शनिवार र तेस्रो खेल सोमवार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ।