काठमाडौं : नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्र बानियाँले गठबन्धनलाई मत नहाल्ने कांग्रेसी नै नहुने बताएका छन्। आज शान्ति बाटिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एउटा पार्टीको चुनाव चिह्नमा अर्को पार्टीले मत हाल्ने अभ्यास भइसकेको दाबी गरे।
‘एउटा पार्टीले अर्को पार्टीलाई भोट दिने प्राक्टिस भइसक्यो। रुखले कलम, कलमले रुखमा मत दिने प्राक्टिक भइसक्यो। राष्ट्रियसभामा यो प्राक्टिस भइसक्यो,’ उनले भने।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टी बिच भएको गठबन्धनविरुद्ध भ्रमण फैलाइरहेको आरोप समेत लगाए।
उनले भरतपुर महानगरमा कांग्रेसबाट बागी बनेका जगन्नाथ पौडेलप्रति लक्षित गर्दै पहिला कांग्रेसबाट सेवा सुविधा लिएर अहिले गठबन्धनको विपक्ष उभिएर विद्रोही भनेको भन्दै उनले एमालेलाई सहयोग गरिरहेको बताए।
उनले महानगरबाट एमालेबाट प्रमुख र उपप्रमुखका उम्मेदवार केशव स्थापित र सुनिता डंगोलको आलोचना गरे। केशव स्थापितलाई महा हावादारी नेता भन्दै बानियाँले पार्टी परिवर्तन गरिरहने र अनुशासनहीन स्थापितलाई ओलीले छानेको बताए। यस्तै सुनितालाई कलेज पढिरहेको नानी भन्दै कलेज पढ्दैमा ज्ञान नहुने भन्दै उनले आलोचना गरे।