PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

युक्रेनमा आक्रमण भएपछि कति शरणार्थी कहाँ पुगे? युरोप छिरेकालाई के कस्तो छ सुविधा?



पहिलोपोस्ट

युक्रेनमा आक्रमण भएपछि कति शरणार्थी कहाँ पुगे? युरोप छिरेकालाई के कस्तो छ सुविधा?
GETTY IMAGES

युद्ध सुरु भएयता युक्रेनबाट १ करोड २० लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। ५७ लाख मानिस युक्रेन छाडेर अन्य मुलुकमा पुगेका छन् भने बाँकी ६५ लाख मानिसहरु युद्धग्रस्त मुलुकभित्र नै विभिन्न स्थानमा विस्थापित हुन वाध्य भएका छन्।

रसियाले गरेको आक्रमणका कारण यतिधेरै विस्थापित हुँदा उनीहरु कहाँ पुगेका छन् त? युक्रेनबाट पश्चिमतिर सबैभन्दा धेरै मानिसहरु गइरहेका छन्। विशेषगरी पोल्यान्डमा धेरै मानिस विस्थापित भएर पुगेका छन्। मे ४ मा राष्ट्रसंघले जनाएअनुसार ५७ लाख मानिस युक्रेनबाट अरु मुलुकमा गएका छन्। 

सबैभन्दा धेरै पोल्यान्डमा ३१ लाख १९ हजार १ सय ९६ जना शरणार्थी युक्रेनबाट पुगेका छन्। त्यसपछि रोमानिया पुग्ने शरणार्थीको संख्या ८ लाख ५४ हजार २ सय ९२ रहेका छन्। त्यस्तै रसियामा पुग्ने शरणार्थीको संख्या ७ लाख १४ हजार ७ सय १३ रहेको छ।

हंगेरी पुग्ने युक्रेनी शरणार्थी ५ लाख ४५ हजार ३ सय ११ जना रहेका छन्। मोल्दोभा पुग्नेको संख्या ४ लाख ५० हजार ७ सय ९७ रहेको छ। त्यसैगरी स्लोभाकिया पुग्ने शरणार्थीको संख्या ३ लाख ८८ हजार २ सय ८२ रहेको छ भने बेलारुस पुग्नेको संख्या २५ हजार ८ सय ५२ रहेको छ।

कतिपय शरणार्थी मोल्दोभाबाट रोमानिया प्रवेश गरिसकेका छन्। त्यसैले माथिको तथ्याङ्कमा उनीहरुको संख्या दोहरिएको हुनसक्छ।

युक्रेनी शरणार्थी पुगेका पोल्यान्ड, हंगेरी र स्लोभाकिया सेन्जन मुलुकभित्र पर्छन् जहाँ निर्वाध आवतजावत गर्न पाइन्छ। चेज रिपब्लिकका गृह मन्त्रीले मे ४ सम्म ३ लाख २६ हजार ७ सय ५४ जन युक्रेनी शरणार्थीलाई भिसा दिएको जनाएको छ।

युक्रेनबाट सीमा क्षेत्रतिर जाने रेल पूरै भरिएका छन्। र, सडकमा पनि लामो ट्राफिक जाम देखिएको छ। यसरी निस्किएका शरणार्थीलाई सरकारी कागजातको आवश्यकता छैन तर उनीहरुसँग ती डकुमेन्ट भएमा सहयोगी हुने बताइएको छ। विशेषरी परिचयपत्र, पासपोर्ट, जन्मदर्ताको प्रमाणपत्र तथा मेडिकल डकुमेन्ट भएमा उनीहरुलाई सहज हुने गरेको छ।

शरणार्थीको हैसियत पाउन उनीहरु युक्रेनी नागरिक हुन अनिवार्य छ। तर, युक्रेनमा रहेका विदेशी नागरिक वा विद्यार्थीलाई यस्तो सुविधा छैन। कतिपय अफ्रिकी नागरिकलाई युक्रेन छोड्न अनुमति दिइएको छैन। 

लगातार युक्रेनी शरणार्थी भित्रिरहँदा युरोपेली मुलुकहरुले उनीहरुका लागि के गरिरहेका छन् त? युक्रेनसँग सीमा जोडिएका मुलुक पुगेका शरणार्थीहरु आफ्नो समूहसँग बस्न नसकेको अवस्थामा उनीहरुका लागि अलग बस्ने व्यवस्था गरिएको छ। त्यहाँ उनीहरुलाई खाना, स्वास्थोपचार र यात्राका बाँकी सूचना उपलब्ध गराइन्छ। त्यसलाई उनीहरुले रिसेप्सन सेन्टर भनेका छन्। 

युद्धबाट प्रभावित भएर शरणार्थीका रुपमा युरोप छिरेका युक्रेनीलाई २७ वटा मुलुकमा तीन वर्षसम्म रहेर काम गर्न सक्ने सुविधा उपलब्ध गराएका छन्। साथै उनीहरुले सामाजिक सुरक्षा र बसोबास, उपचार र शिक्षाको सुविधा पाउनेछन्। 

सबैभन्दा धेरै शरणार्थी भित्र्याएको पोल्यान्डले युरोपेली संघसँग थप रकम आवश्यक रहेको भन्दै माग गरेको छ। लगातार शरणार्थी आइरहेकाले त्यसको व्यवस्थापनका लागि रकम थप गर्नुपर्ने अवस्था आएको उसको भनाइ छ। 

मोल्दोभाले पनि शरणार्थीको व्यवस्थापनका लागि सहयोग आवश्यकता रहेको जनाएको छ। उसले अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरिसकेको छ।

(बीबीसीमा प्रकाशित सामग्रीको भावानुवाद)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell