
काठमाडौं : रौतहटको राजपुर बमकाण्डमा अदालतले पूर्पक्षका लागि थुनामा पठाएका कांग्रेस सांसद तथा पूर्व मन्त्री मोहम्मद अफताव आलमलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले पनि अस्वीकार गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो।
२०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा रौतहट जिल्ला अदालतले उनलाई थुनामा पठाएको थियो। त्यसपछि आलम उच्च अदालत पुगेर थुनामुक्त गर्न माग गरेका थिए। उच्च अदालतले पनि जिल्लाको आदेश नै सदर गरेको थियो।
त्यसपछि उनी सर्वोच्च पुगेका थिए। अहिले आलमको मुद्दा जिल्ला अदालत रौतहटमा बिचराधीन छ। २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको विस्फोटमा घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग आलममाथि लागेपछि पक्राउ परेका थिए। पीडित परिवारले आलमविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गरेको थिएन। सर्वोच्च अदालतले २०६९ जेठ १६ गते जाहेरी दर्ता गर्न प्रहरीलाई आदेश गरेको थियो। त्यसपछि उनी पक्राउ परेका थिए।