PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

कहिँ नभएको जात्रा ओलीको पालामा, गफले जनताको मन जितिदैन : माधव नेपाल



पहिलोपोस्ट

कहिँ नभएको जात्रा ओलीको पालामा, गफले जनताको मन जितिदैन : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक स्थायित्वका लागि एक भएर जानुको विकल्प नभएको बताएका छन्। राजधानीमा आयोजित चुनावी सभामा उनले प्रतिगामी शक्तिहरु अहिले संविधानविरुद्ध लागेको भन्दै वाम लोकतन्त्रिक गठबन्धन एक भएर जानु पर्ने बताएका हुन्।

‘एक भएर जानुको विकल्प छैन। दुईटा गठबन्धन छ। वाम लोकतन्त्रिक र अर्को प्रतिगामी दक्षिणपन्थी गठबन्धन परिवर्तन र संविधान विरोधीहरु प्रतिगामी गठबन्धनमा रहेको छ,’ उनले भने।

प्रतिगमनको विरुद्ध नारायणहिटीमा हेर्दै चुनौती दिएकै ठाउँमा उभिएर अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको गठबन्धनविरुद्ध आफू बोलिरहेको उनले सुनाए।

‘मानिसहरुले निरंकुश शासकलाई ढल्ने कहिलै सोचेनन्। धेरै अप्ठ्यारा र चुनौती पार गर्दै अहिलेको व्यवस्था आयो’ नेपालले भने, ‘अहिले पनि संविधान विरोधी गतिविधि भइरहेको छ।’

‘कहिँ नभएको जात्रा केपी शर्मा ओलीको पालामा’ भएको भन्दै उनले ओलीले पूरै नभएको आयोजनाहरुको जथाभावी उद्घाटन हिँड्दै गरेको आरोप समेत लगाए।

आफू महानगर प्रमुख र उपप्रमुखको उम्मेदवारबाट प्रभावित भएको उनले बताए। सिर्जना सिंह र रामेश्वर श्रेष्ठका प्रतिबद्धताहरु जनमैत्री भएको उनको दाबी थियो।

एमालेबाट महानगर प्रमुखका उम्मेदवार केशव स्थापितलाई लक्षित गर्दै उनले भने 'गफ होइन कामबाट मन जित्नुपर्छ। भिजन, संकल्प, साथ सहयोग लिने उदार भाव र इमानदारिता चाहिन्छ।'

उनले महानगरमा फोहोर व्यवस्थापन, स्मार्ट सिटी, यातायात, ट्राफिक व्यवस्थापन लगायतका विषयमा उम्मेदवारहरुले ध्यान दिनुपर्नेमा जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell