PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

आखिरमा माटोकै जोडाईमा बन्यो जयवागेश्वरी मन्दिर, पुनर्निर्माण किन ढिलो?



रासस

आखिरमा माटोकै जोडाईमा बन्यो जयवागेश्वरी मन्दिर, पुनर्निर्माण किन ढिलो?
जयवागेश्वर परिसरको जात्रा।

  • पूर्णप्रसाद मिश्र -

काठमाडौँ : भूकम्पको सात वर्ष पूरा भएपछि पूर्णरुपमा क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिरको गजुर माटोको जोडाइबाट ठडिन लागेको छ। माटोको जोडाइबाट मन्दिर पुनःनिर्माण हुनसक्छ भन्ने उदाहरण बन्न जयवागेश्वरी सफल भएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भरत मरासिनीले बताए।

मन्दिरको गारो माटोबाट जोड्न साँखु र लुभुबाट माटो ल्याइएको थियो। पहेँलो र बलौटे माटो मिसाएर जोड्दा काम गर्न सहज भएको थियो। माटोले जोडेर भत्काउने क्रममा भित्र भेटिएका तीन तहको गजुरको भागसम्मको काम सम्पन्न भएको छ। तीन गजुर राखेर एक तह छोपिने भएको छ। त्यसमाथि अर्को तहले छोपेर बाहिर देखिने गजुर राख्न लागिएको कोषका निर्देशक मरासिनीले बताए।

बुट्टा निकाल्ने, टुँडाल राख्ने र छानोको केही काम बाँकी छ। यो काम पनि आगामी असार मसान्तसम्म सकिने कोषले जनाएको छ। जयवागेश्वरीको उदाहरणपछि एकतले मन्दिर माटोको जोडाइबाट बनाउन सकिन्छ भन्ने पुष्टि भएको छ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माणका लागि भत्काउने क्रममा मन्दिरभित्र भैरवलगायत विभिन्न देवी देवताका चित्र, तीन गजुरको मन्दिरलगायत संरचना भेटिएपछि पुरातत्वविद्, संस्कृतिविद्लगायत विज्ञको समिति गठन भएको थियो। समितिले माटोको जोडाइबाट मन्दिर पुनःनिर्माण गर्नुपर्ने सिफारिससहितको प्रतिवेदन दिएको थियो।

सडकमा रहेको मन्दिर पुनःनिर्माणका लागि चुना सुर्कीको लागत स्टिमेटसहित कोषले २०७५ माघमा तुलसी कन्स्ट्रक्सनसँग दुई वर्षमा पुनःनिर्माण सक्ने गरी सम्झौता गरिएको थियो। सम्झौता अनुसार मन्दिर पुनःनिर्माणका लागि भत्काउने क्रममा तीन गजुरसहितको भित्री मन्दिर, भैरवसहित विभिन्न देवीदेवताका भित्तेचित्रलगायत संरचना भेटिएका थिए। त्यसका कारण निर्माण अवधि बढेको हो। पटकपटक थपिएको म्याद आगामी असारमा सकिँदैछ। त्यसबेलासम्म मन्दिर पुनःनिर्माण पनि सक्ने गरी काम भइरहेको छ।

पुरातत्व विभागका महानिर्देशक एवं विज्ञ समितिका सदस्य दामोदर गौतम ऐतिहासिक, पुरातात्विक महत्वका मन्दिर पहिले जस्तै पहिले प्रयोग भएकै निर्माण सामग्री प्रयोग गरेर बनाउनुपर्ने कानूनी व्यवस्थाअनुसार कोषलाई सुझाव दिएको बताए।

माटो परीक्षण गरेर पहिलेकै जस्तो गुणस्तरीय माटोबाट मन्दिर बनाउनुपर्ने प्रतिवेदन दिएको उनले सुनाए। माटोको जोडाइबाट पुनःनिर्माण गर्दाभित्र भेटिएका चित्र फेरि राख्न सकिने विज्ञको भनाइ छ। पुनःनिर्माणमा विज्ञ समितिले आवश्यक सल्लाह सुझाव दिइरहेको छ।

विज्ञ समितिको प्रतिवेदनअनुसार कोषले यसअघि माटोको जोडाइबाट बनाइएका मन्दिरको अध्ययन गरेको थियो। साँखुस्थित बज्रयोगिनी मन्दिरमा इँटाको बीचमा राखिएको माटोको परीक्षण गरिएको कोषका प्रशासकीय अधिकृत सीताराम रिसालले बताए।

तीन करोड १४ लाखमा जयवागेश्वरी मन्दिर पुनःनिर्माण अन्तिम चरणमा पुगेको हो। विश्वसम्पदा सूचीमा सूचीकृतस्थल भएकाले प्राचीन स्मारक संरक्षण ऐन अनुसार यहाँ पुनःनिर्माणको काम गरिएको छ। कोषका निर्देशक मरासिनी जयवागेश्वरीको पुरानो संरचनाअनुसार पुनःनिर्माणको काम भएको बताए।

भूकम्पको एक महिना पनि नबित्दै कोषले २०७२ जेठ ४ गते एड्भेन्चर टुर एण्ड ट्राभलका सञ्चालक कल्याण शर्मालाई पुनःनिर्माणको सैद्धान्तिक स्वीकृति दिएको थियो। शर्माले पुनःनिर्माणको काम सुरु गर्न नसकेपछि २०७४ सालमा सम्झौता रद्द गरिएको थियो। सम्झौता गरेका दाताले क्षतिग्रस्त मन्दिरको पुनःनिर्माण ३५ महिना बित्दा पनि नगरेपछि कोषले सम्झौता रद्द गरेको थियो।

सुरुमा पुरातत्वले नक्सा र डिजाइन स्वीकृत गर्न समय लगाएको, स्वीकृत भएर पुनःनिर्माण सुरु गर्दा स्थानीयवासीले अवरोध गरेकाले आफू पुनःनिर्माणबाट पछि हट्न बाध्य हुनुपरेको शर्माले बताए।

सतीप्रथा रहुञ्जेल राजा महाराजाको निधनमा सती जाने रानीहरुको गरगहना सबै जयवागेश्वरीलाई चढाइने गरिन्थ्यो भन्ने भनाइ स्थानीयवासीबिच चर्चित छ। चढाइएको गरगहनालगायत सम्पत्तिको कुनै अभिलेख नरहेको पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव एवं संस्कृतिविद् डा गोविन्द टण्डनले बताए।

पशुपति क्षेत्रमा रहेका ५१८ स्मारकमध्ये ९५ मा भूकम्पले क्षति पुर्‍याएको थियो। पन्ध्र सम्पदा पूर्णरुपमा क्षति भएका थिए। पशुपति क्षेत्रका ८० सम्पदामा आंशिक क्षति भएको थियो।

भूकम्पले प्रभावित ३२ जिल्लामध्ये २९ जिल्लाका ९२० सम्पदामा क्षति पुगेको थियो। तीमध्ये हालसम्म ६३० सम्पदाको पुनःनिर्माण सम्पन्न भएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए। भूकम्पले अन्य संरचनामा क्षति पुगेका नवलपरासीका दुई जिल्ला र मुस्ताङका सम्पदामा भने क्षति नभएको उनले सुनाए।

जयवागेश्वरीको ऐतिहासिक पृष्ठभूमि
जयवागेश्वरीको निर्माण कलिगत संवत् ३२३२ मा सुरु भएर ४७ वर्षपछि ३२७४ मा सम्पन्न भएको थियो। विसं १९९० को भूकम्पले क्षति पुगेको मन्दिर त्यसबेला जीर्णोद्धार गरिएको थियो।

मन्दिरको कलेबर १२/१२ वर्षमा फेर्ने गरिएको छ। कलेवर फेर्दा जयवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति बनाइन्छ। जयवागेश्वरीमा टाउको काटिनुअघिको गणेशको मूर्ति रहेको छ। यसैले यहाँको गणेशको मूर्तिमा सूँढ नभएको स्थानीय सन्देश मुनिकारले बताए।

जयवागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मीका रुपमा मानिए पनि विद्याकी देवीका रुपमा बढी पुज्ने गरिएको छ। तन्त्र साधना गर्नेले अन्तिममा जयवागेश्वरीमै आएर पूजा गर्ने परम्परा छ। मन्दिरसँगै सुन्धारा पनि स्थापना भएकामा हाल यसको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ। जयवागेश्वरीको ठीक अघि तलेजु भवानीको मन्दिर स्थापना गरिएको छ।

जयवागेश्वरी उपत्यकाको पुरानो राजधानी मानिन्छ। स्थानीयवासी मुनिकार ‘गोल’ भनिने जयवागेश्वरी उपत्यकाकै पहिलो बस्ती भएको बताए। यो बस्तीमा नौथरी जात, नौ पोखरी, नौ पाटी, नौ ढोकालगायत संरचना रहेकामा यो पनि लोपोन्मुखको अवस्थामा पुगेको छ।

गोपाल र किराँत शासनकालको राजधानी जयवागेश्वरी थियो। लिच्छविकालको राजधानी यहीँबाट सुरु भएर पछि हाँडीगाउँमा सरेको हो। मल्लकालमा हाँडीगाउँबाट हनुमानढोकामा राजधानी सारिएको इतिहासविद्को भनाइ छ। ऐतिहासिक एवं सांस्कृतिकरुपले महत्वपूर्ण क्षेत्र भए पनि जयवागेश्वरीका सम्पदाको संरक्षण हुन नसकेकाको स्थानीयवासीको गुनासो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell