PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रचण्ड र आरजुलाई पनि होला कारबाही? आचारसंहिता मिच्नेको लहर यस्तो



प्रकाश भण्डारी

प्रचण्ड र आरजुलाई पनि होला कारबाही? आचारसंहिता मिच्नेको लहर यस्तो

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता उलंघन गरेकोमा ३७ जनालाई स्पष्टीकरण सोधेको छ। एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितलाई आयोगले दुई पटक स्पष्टीकरण सोधिसकेको छ।

आयोगले २४ घण्टाभित्र स्पष्टीकरण दिन भन्दै स्थापितलाई स्पष्टीकरण सोधेको हो। काठमाडौं महानगरपालिकाका मेयर पदमा स्वतन्त्र तर्फका उम्मेदवार बालेन साहलाई ‘ठग’ भनेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो। यसअघि स्थापितलाई आयोगले बैशाख १५ गते नेश्नल कलेजमा प्रश्नकर्तालाई स्थापितले प्रयोग गरेको भाषाले आचारसंहिता उल्लंघन भएको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको थियो।

आयोगले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई पनि लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ। उनले कैलालीको कैलारी गाउँपालिकामा अग्निपीडितलाई ५० हजार रुपैयाँ राहात दिने भनेको भन्दै आचारसंहिता उल्लंघन भएको आयोगले ठहर गरेको छ।

सिन्धुपाल्चोकको मेलम्ची गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्ष पदका उम्मेदवार अमृत खनालले मतदाताको खुट्टामा हजारको नोट राखेर आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ। वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले पनि आचारसंहिता उलंघन गरेको भन्दै आयोगले मोक्तानलाई स्पष्टीकरण सोधेको छ। उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएका कारण आचारसंहिता उल्लंघन भएको आयोगले जनाएको छ।

यसअघि, निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)को काठमाडौंको कार्यक्रममा आचारसंहिता उल्लंघन भएको भन्दै पार्टीलाई स्पष्टीकरण सोधेको थियो। यस्तै, नेपाली कांग्रेसका नेता शशांक कोइरालालाई पनि '६ करोड खर्च गरेर चुनाव जितेको'भन्ने अभिव्यक्तिलाई लिएर स्पष्टीकरण सोधिएको थियो।

प्रचण्ड र आरजुको मतदातालाई प्रभावित पार्ने बोली

पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा आयोजित गठबन्धनको चुनावी सभामा मतदातालाई प्रभावित पार्ने अभिव्यक्ति दिए। उनले गठबन्धनका मेयर पदका उम्मेदवारलाई भोट हाल्न अपिल मात्रै गरेनन् धम्की समेत दिए।

‘गठबन्धनको स्थायित्वका लागि तपाईँहरुको पनि हात छ। तपाईँहरुले हँसिया हतौडामा दिल खोलेर मत हाल्नुभयो भने यो गठबन्धन २० वर्षसम्म लैजाने प्रतिवद्धता व्यक्त गर्छु। यदि गठबन्धनलाई सफल बनाउनु भएन भने देश दुर्घटनामा जानेछ,’ प्रचण्डले भनेका छन्

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवाले पनि मतदातालाई प्रभावित पार्ने अभिव्यक्ति दिइन्। डडेल्धुराको अमरगढीमा आयोजित कार्यक्रममा उनले कांग्रेस बाहेकले मेयरमा जिते बजेट नदिने चेतावनी दिइन्।

‘अहिले विकास गर्ने भनेको हामीले हो। डडेल्धुरामा जहाँ कांग्रेसको मेयर हुन्छ त्यहाँ पहिला पैसा(बजेट) जान्छ। जहाँ कांग्रेसको मेयरै हुन्न त हामी किन पैसा पठाउँछौँ? त्यसैले करुवा, सरुवा, हरुवा पार्टीलाई भोट नहाल्नुस्। नेपाली कांग्रेसलाई भोट हाल्नुस्। यहीमात्रै एउटा सच्चा पार्टी हो। यही पार्टीले मात्रै तपाईँलाई माया गर्छ,’ आरजुले भनेकी छिन्।

होला त कारबाही?

निर्वाचन आयोगले हालसम्म प्रचण्ड र आरजुलाई स्पष्टीकरण भने सोधेको छैन। उनीहरुले दिएका अभिव्यक्तिबारे भने आयोगले अध्ययन गरिरहेको छ।

आयोगका एक आयुक्तले प्रचण्ड र आरजुका अभिव्यक्ति निर्वाचन आचारसंहिताविपरित हुन या होइनन् भन्ने बारेमा आयोगले चाडै निर्णय गर्ने बताए।

‘अहिलेसम्म स्पष्टीकरण सोध्ने निर्णय भएको छैन। हामीले उनीहरुका अभिव्यक्तिबारे जानकारी पाएका छौँ। अहिले अध्ययनको क्रममा छौँ,’ उनले भने।

आयोगले आचारसंहिता उल्लंघन गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउने बताएको छ। आचारसंहिता उल्लंघनबारे जिल्लासम्म आफ्ना संयन्त्रहरु तयारी अवस्थामा रहेको बताएको छ।

के हुन्छ कारबाही?

निर्वाचन आयोगले निर्वाचन ऐन २०७३, निर्वाचन कसुर तथा सजाए ऐन २०७३, निर्वाचन आचारसंहिता २०७८ अनुसार कारबाही गर्ने गरेको छ। आचारसंहिताको १२ नम्बर बुँदामा उम्मेदवार तथा राजनीतिक दलका नेताहरुले डर/त्रास देखाउन नमिल्ने उल्लेख छ।

‘उम्मेदवार तथा निजका परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने,’ आचार संहितामा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell