PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

देउवाको प्रश्न : प्रचण्डकी छोरी भएर जन्मियो त के गर्ने? प्रकाशमानसँग बिहे गर्नु गल्ती हो?



पहिलोपोस्ट

देउवाको प्रश्न : प्रचण्डकी छोरी भएर जन्मियो त के गर्ने? प्रकाशमानसँग बिहे गर्नु गल्ती हो?

काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं र भरतपुर महानगर प्रमुखका महिला प्रत्यासीलाई जिताउन सबैजना लाग्नुपर्ने बताएका छन्। आज राजधानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दे उनले महिला प्रत्यासीहरु हारे विश्वले के भन्ला भनेर प्रश्न समेत गरे।

‘राजधानीमा महिला हारे राष्ट्रिय अन्तर्राष्ट्रियले के भन्ला? दुबै महिलाले जित्नुपर्छ,’ उनले भने। भरतपुर महानगरमा गठबन्धनबाट रेनु दाहाल र काठमाडौं महानगरमा सिर्जना सिंह उम्मेदवार छन्।

दुवै महिला उम्मेदवारहरुलाई उनीहरुको परिवारसँग जोडिएर हेरेकोमा उनले आपत्ति जनाए। रेनु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पुत्री हुनु र सिर्जना सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती हुनु गल्ती नभएको उनको भनाइ थियो। नाता पर्दैमा उनीहरुलाई अवसरबाट बञ्चित गराउन नहुने देउवाको मत थियो।

‘कहाँ जन्मने कुरा आफ्नो हातमा छैन नि। प्रचण्डको छोरी भएर जन्मियो त के गर्ने? नदिएर हुन्छ? हाम्रै साथीहरु खिलाफमा उत्रेका छन्। वीपी कोइरालालाई फाँसीको सजाय दिनुपर्छ भन्नेहरु’ देउवाले भारतपुरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई लक्षित गर्दै भने।

यस्तै सिर्जनाले राम्रो काम गर्ने वचन दिएको भन्दै उनमा केही कमी नभएको उनले बताए। ‘आमाबुवाले बिहे गर्दिए के गर्नु? प्रकाशमानसँग बिहे गर्नु गल्ती हो? के कुराको कमी छ उहाँमा। प्रकाशमानको श्रीमती रे। राम्रो काम गर्ने वचन दिएकी छिन्,’ उनले भने।

उनले अहिलेको संविधान अनुसार कसैले बहुमत ल्याउन नसक्ने भन्दै सबैलाई गठबन्धनका उम्मेदवार जिताउन आह्वान पनि गरे।

साथै, देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अवस्था आतंकित भएको दाबी गर्दै अहिले त्यस्तो अवस्था नरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell