काठमाडौं : नेकपाको असन्तुष्ट पक्षको राष्ट्रिय भेला सकिएको छ। धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्दै राष्ट्रिय भेला सकिएको केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए।
भेलाले एकीकृत जनक्रान्तिको कार्यदिशासमेत खारेज गरेको उनले बताए। नेत्रविक्रम चन्द ‘विप्लव’ र खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई कारबाही गरेको असन्तुष्ट समूहले पार्टीको नाम परिवर्तन नगरे पनि सहज रुपमा बुझ्न नेकपा (बहुमत) ले चिनाउने जनाएको लोहनीले जनाए।
महाधिवेशन छिट्टै गरी नयाँ कार्यदिशा तय गरिने जनाइएको छ। तीन महिना संगठनात्मक अभियान चलाएर महाधिवेशनमा जाने निर्णय भएको उनले बताए।
बुधवार चितवनमा सुरु भएको भेलाले पार्टी र क्रान्तिलाई दलाल पुँजीवादको सेवक बनाउने गलत दिशामा लागेका विप्लव, प्रकाण्डलगायत नेताहरुलाई पार्टीबाट निष्कासन गरी धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई संयोजक चयन गरेको छ।
भेलामा बास्तोलाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन माथि १५ समूह विभाजन गरी छलफल भएको थियो। एकीकृत जनक्रान्तिको कार्यदिशा विप्लवले वैद्यबाट फुट्ने क्रममा चितवनमै भएको भेलामा प्रस्तुत गरी पारित गराएका थिए।