PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रोबोटलाई दिइयो खानेकुरामा नुन चाख्न सक्ने तालिम



पहिलोपोस्ट

रोबोटलाई दिइयो खानेकुरामा नुन चाख्न सक्ने तालिम
Photo: UNIVERSITY OF CAMBRIDGE/PA

संसारमा यस्ता धेरै रोबोटहरु छन् जसले मानिसहरुले गर्ने जस्तो सुकै गाह्रो काम पनि सजिलै गर्न सक्छन्। रोबोटले आफ्ना क्षमताहरु विकसित गर्दै लगेको छ।

यस्तोमा एक रोबोटलाई खानाको स्वाद थाहा पाउन सक्ने तालिम दिइएको छ। खाना पर्याप्त नुनिलो छ कि छैन भनेर मानिसले जस्तै पत्ता लगाउन सक्नेगरी रोबोटलाई खानेकुरा चपाउने प्रक्रियाका विभिन्न चरणहरूमा ‘स्वाद’ लिन सक्ने तालिम दिइएको हो।

क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यसले स्वचालित प्रकृयाबाट खाना तयार गर्न मद्दत गर्न सक्ने बताएका छन्। ‘अमलेट’ बनाउने तालिम यसअघि नै पाइसकेको सो रोबोटले ‘स्क्र्याम्बल’ गरिएको अण्डा र टमाटरको परिकारको स्वाद लिएको थियो।

अनुसन्धानका सह-लेखक डा आर्सेन अब्दुलालीले यो तालिमले रोबोटलाई ‘राम्रो कुक’ बनाउन सक्ने बताए।

अनुसन्धानका अनुसार रोबोटले चपाउने प्रक्रियाको तीन फरक चरणमा ‘स्क्र्याम्बल’ गरिएको अण्डा र टमाटरका ९ भिन्न स्वाद लिएको थियो।

चपाउँदा खानाको ‘टेक्स्चर’मा आउने परिवर्तनलाई रोबोटको लागि सहजीकरण गर्न अनुसन्धान टोलीले अण्डाको मिश्रणलाई ब्लेन्डरमा मसिनो पारेर रोबोटलाई स्वाद लिन गर्न दिइएको थियो।

रोबोट सेफले स्वाद लिन सकोस् भनेर अनुसन्धानकर्ताहरूले रोबोटको हातमा नुनिलोपन मापन गर्न सक्ने सेन्सर जडान गरिदिएका थिए। सोही सेन्सरको प्रयोग गरेर रोबोटले खण्ड-खण्डमा खानाको स्वाद लिएको थियो। जसको ‘रिडिङ’ रोबोटले केही सेकेण्डमै दिएको थियो।

रोबोटले विभिन्न खण्डको स्वादको ‘रिडिङ’लाई एउटा ढाँचामा उतारेको प्रस्तुत गरेको थियो।

अनुसन्धानकर्ताहरुले ‘पकाउँदै स्वाद लिने’ तालिमले रोबोटको नुनको स्वाद मूल्याङ्कन गर्ने क्षमता छिटो र सही रूपमा विकास भएको पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell