PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एकै ब्याचीले निर्वाचनको सुरक्षा कमान सम्हाल्दा यी प्रहरी भने बेग्लै दौडमा...



सविन ढकाल

एकै ब्याचीले निर्वाचनको सुरक्षा कमान सम्हाल्दा यी प्रहरी भने बेग्लै दौडमा...

काठमाडौं : २०४९ चैतमा एकै लटमा केही युवाहरू प्रहरी सङ्गठनमा भर्ना भए। प्रहरी निरीक्षकबाट छिरेकामध्ये २९ वर्षपछि त्यही ब्याचका एक जना अहिले प्रहरी महानिरीक्षक भएका छन्। त्यस्तै, केही एआईजी र डीआईजीको दर्ज्यानी चिन्ह लगाएर फिल्डमा खटिएका छन्।

गएको आइतवार त्यही ब्याचका एआईजीमध्ये धीरज प्रताप सिंहले आईजीमा बाजी मारे। उनलाई सरकारले नियुक्ति गरेपछि एआईजी विश्वराज पोखरेल अदालत पुगिसकेका छन्। प्रहरीभित्र यस्तै पदको भागदौड चलिनै रहेको छ। एउटै समय भर्ना भएकामध्ये कोही दौडमा पछाडि नै छुटेका छन्। यस्तै एउटै व्याचमध्येका एक जना भने यो रेसबाट फरक क्षेत्रमा दौड लगाइरहेका छन्।

उनी हुन् नेपाल प्रहरीका पूर्ववरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साह। उनी एसएसपीभन्दा माथि पुग्न सकेनन्। साहले ३० वर्षे सेवा अवधि पूरा नहुँदै सङ्गठनबाट राजीनामा दिएर अर्कै धार समाते। बढुवा असन्तुष्टि तथा अन्य कारणले उच्च तहमा पुगेका प्रहरीले राजीनामा दिने गरेको नजिरमा साहको राजीनामाको कारण भने फरक छ। उनी आँउदो शुक्रवार हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार बन्न राजीनामा दिएका हुन्। स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन कुनै पनि सरकारी पदधारण गरेको हुन नहुने व्यवस्था छ। त्यही भएर उनले चुनावभन्दा अगाडि नै सबै मेलोमेसो मिलाएर राजीनामा दिए।

धनुषा गृह जिल्ला भएका साहले निर्वाचन हुनुभन्दा चार महिना अगाडि नै राजीनामापत्र बुझाएर चुनावमा होमिएका हुन्। फागुन १० गते गृह मन्त्रालयले उनको राजीनामा स्वीकृत गरेको हो। साहले निर्वाचनमा आफ्नो नगरको मेयर पदमा उम्मेदवारी दिने तयारी गरेर नै राजीनामा दिएका थिए। धनुषाको विदेह नगरपालिकाबाट उनले उम्मेदवारी दिने भनेका थिए। नेपाली काङ्ग्रेसबाट टिकट पाउने आश्वासन पाएपछि उनले राजीनामा दिएका थिए।

कांग्रेसबाट चुनाव लड्ने तयारी थियो। तर, जब चुनावले छोप्यो। मौखिक बचन पूरा भएन। काङ्ग्रेसबाट चुनाव लड्न राजीनामा दिएका साहले टिकट नै पाएनन्।

'खै मभन्दा कमजोरलाई टिकट दिएर पार्टीले किन उठायो थाहा भएन,' पूर्व एसएसपी गोविन्द साहले भने। जागिर त छोडिसकेका थिए। पार्टीले पनि साहको साथ छोड्यो। अब गर्ने के? उनीसँग अन्य विकल्प रहेन। त्यसपछि उनले सोही क्षेत्रमा स्वतन्त्रबाट उम्मेदवारी दिने निर्णय गरे। अहिले उनी विदेह नगरपालिकाबाट स्वतन्त्रमा उम्मेदवारी दिएका छन्। पार्टी नभएर स्वतन्त्रबाट उठे पनि निर्वाचनमा जित्ने आत्मबल भने कमजोर छैन उनको।

'जनताको साथ छ। जनताको विश्वास लिएको छु। सहयोग गर्नुभएको छ। त्यसैले जित्छु भन्ने हो,' साहले भने। चुनाव जिते पनि नजिते पनि उनको बोलीमा आत्मविश्वास भरिएको सुनिन्थ्यो।

सङ्घीय प्रहरी कार्यालय धरान नै प्रहरी सङ्गठनको अन्तिम कार्यालय बनेको थियो उनको। उनको त्यहीँ दरबन्दी हुँदाहुँदै सङ्गठनबाट सधैंका लागि बिदा भएर बाहिरिएका थिए। अबको उनको पहिलो कार्यालय विदेह नगरपालिका बन्छ वा बन्दैन भन्ने निश्चित वैशाख ३० गतेपछि मात्र होला। आफ्नो एजेन्डासँगै पूर्व मेयरको कामले गर्दा पनि आफैँले मत पाउनेमा उनी विश्वस्त देखिन्छन्।

'पूर्व मेयरले लथालिङ्ग पारे। कृषि, स्वास्थ्य, विकास निर्माण लगायतका क्षेत्रमा केही गर्न सकेका छैनन्। त्यसैले गर्दा पनि अबको रोजाइ मेरै होला भन्ने लाग्छ,' उम्मेदवार साहले भने।

विदेह नगरपालिकाबाट उनीसँगै अन्य १० जना भन्दा बढी व्यक्तिले स्वतन्त्रमा उम्मेदवारी दिएका छन्। मुख्य राजनीतिक दलबाट पनि उम्मेदवारी परेका छन्। साहले पनि निर्वाचनको लागि केही दिनदेखि घरदैलो गरिरहेका छन्। उनी पनि सामान्य प्रचार सामग्री बोकेर घरघर पुगिरहेका छन्। निर्वाचन आचार संहिता हननमा नपर्ने गरी खर्च गरेर निर्वाचनमा होमिएको उनी बताउँछन्। त्यसो त मेयरदेखि वडा सदस्य समेत उठ्दा लाखौं रुपैयाँ खर्च हुने गरेको छ। यसबिचमा साह भने खर्च गरेरमात्र चुनाव जित्न नसक्ने तर्क गर्छन्।

'सामान्य पर्चा पम्पलेमा मात्र खर्च भएको छ। पैसाले नै चुनाव जित्ने भए सबै उद्योगपतिले मात्र चुनाव जित्नुपर्ने होइन र?,' उनले प्रश्न गरे। जनता सचेत भएकाले विकास गर्ने मानिसलाई मात्र भोट दिनेमा साह विश्वस्त सुनिन्छन्।

२९ वर्षसम्म प्रहरी संगठनमा काम गरेका साहसँग राजनीतिक पृष्ठभूमिको ज्ञान कम नै छ। तर आफ्ना बुबा सीताराम साह समाजसेवी। अर्कातिर प्रहरी संगठन पनि जनतासँगै जोडिने। त्यहीँको उठबसले अन्य राजनीतिक कनेक्सनले फरक नपर्ने साहको दावी छ। शिक्षा, स्वास्थ्यलाई मुख्य एजेन्डा बनाएका साह आफूले प्रहरी सङ्गठनमा रहँदा मानिससँग भएको उठबसले नै निर्वाचनमा सहयोग गर्ने आशा लिएका छन्।

'प्रहरी पनि समाजको अङ्ग नै हो। त्यहाँ हुँदा पनि समाजसँग जोडिएर नै काम भयो। त्यसैको विश्वासले पनि जित्छु भन्ने हो,' साहले भने।

उनको एकै ब्याची धीरजप्रताप सिंहले देशभर सुरक्षित निर्वाचन गराउने कमाण्ड लिएका छन्। र, त्यही ब्याचका अर्का सदस्य भने चुनावी जितको होडमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell