PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सत्तारुढ नेताका अराजनीतिक धम्की ! [सम्पादकीय]



पहिलोपोस्ट

सत्तारुढ नेताका अराजनीतिक धम्की ! [सम्पादकीय]

बिहीवार सत्तारुढ दलका नेताबाट जे जस्ता अभिव्यक्ति प्रकट भए, त्यसले मुलुकको राजनीति निरंकुशता उन्मुख त हुँदैछैन भन्ने संदेश दिएको छ। चुनावी अभियानमा एकअर्काप्रति राजनीतिक दलहरुको असहिष्णु अभिव्यक्तिको श्रृङ्खाला जारी नै छ। गाली गलौचको तल्लो स्तरमा उत्रेर गठबन्धन दलका नेता र प्रमुख प्रतिपक्षी दलका नेताहरुबाट आएका अभिव्यक्तिको जति निन्दा गरे पनि कम हुन्छ। यस्तै निन्दनीय अभिव्यक्तिका बिच सत्तारुढ दलका प्रमुख नेताहरुबाट धम्कीपूर्ण अभिव्यक्ति जसरी आएको छ, त्यसले नेपालमा न्युनतम राजनीतिक संस्कार पनि मासिँदै गएको अनुभूति गर्न सकिन्छ। प्रजातान्त्रिक प्रणालीमा प्रतिपक्षी दल जति आक्रामक बन्ने अधिकार राख्छ, सत्तारुढ दल त्यति नै सम्हालिएर अगाडि बढ्नुपर्छ। त्यसको ठीक विपरीत सत्तारुढ दलका नेताहरुबाट नै 'भयपूर्ण' अभिव्यक्ति आउन थालेका छन्। यस्ता अभिव्यक्तिको जति निन्दा गरे पनि कम नै हुन्छ।

सत्तारुढ दलले चितवनको भरतपुरमा आयोजना गरेको संयुक्त चुनावी सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले रेनु दाहालले चुनाव नजितेमा मुलुक दुर्घटनामा जाने भन्दै चेतावनी दिए। विशेषगरी नेपाली कांग्रेसको एउटा समूह बागी उम्मेदवार सहित गठबन्धन विरुद्ध सक्रिय भएपछि सत्तारुढ गठबन्धन तिलमिलाएको छ भरतपुरमा। प्रचण्डले गठबन्धनका उम्मेदवारले नजिते मुलुक दुर्घटनामा जाने र त्यसको जवाफ मत नदिनेले दिनुपर्ने भन्दै दिएको अभिव्यक्तिले मतदातामाथि 'भयको राज' सृजना गर्न खोजेका छन्। एक कार्यकाल सफल रुपमा पूरा गरिसकेकी रेनु दाहालको कामलाई लिएर भरतपुरमा जति प्रशंसा जनस्तरबाट प्राप्त भएको छ त्यति नै आलोचनायोग्छ छ प्रचण्डको अभिव्यक्ति। कुनै पनि जित या हार मुलुकको राजनीतिक दुर्घटनाको कारण बन्छ भने त्यो भन्दा दुर्भाग्यपूर्ण राजनीतिक परिस्थिति के होला? भरतपुरको निर्वाचन परिणामले मुलुकको राजनीतिमै दुर्घटना आउने प्रचण्डको अभिव्यक्ति छोरी रेणुप्रति अतिआशक्तिको अभिव्यक्ति होला तर त्यो उनकै लागि र छोरी रेनुकै लागि पनि प्रत्युत्पादक सावित हुनसक्छ।

आवेग र आक्रोशको अभिव्यक्ति भूमिगत पृष्ठभूमिबाट लोकतान्त्रिक राजनीतिमा आएका प्रचण्डमा मात्र देखिएको होइन। प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा पुगेर उनकै पत्नी डा आरजु राणाले जस्तो अभिव्यक्ति दिइन् त्यो पनि लोकतान्त्रिक अभ्यासका लागि उत्तिकै डरलाग्दो विषय हो। चुनावी परिणामलाई आधारमा मानेर बजेट बिनियोजनमै प्रभाव पार्ने धम्की दिएकी छिन् उनले। जुन स्थानमा कांग्रेसले पालिका प्रमुखलाई जिताउँदैन, त्यहाँ बजेट नदिने उनको धम्की प्रजातन्त्रको पर्याय ठान्ने कांग्रेसकै लागि दुर्भाग्यपूर्ण हो। कांग्रेसबाट बागी उम्मेदवार तय भएको र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको गठबन्धनलाई लिएर उनले यस्तो अभिव्यक्ति दिनुले पनि गठबन्धनको कमजोर मानसिकताको उदाहरण पेश गरेको छ। आफ्नो दलभित्रका नेता व्यवस्थापन गर्न असफल भएपछि धम्कीकै भरमा चुनाव जित्ने उनको अभिव्यक्ति लोकतान्त्रिक अभ्यासलाई पुनर्परिभाषित गर्नुपर्ने स्थिति ल्याइदिएको छ। अन्यथा, उनको अभिव्यक्तिको जवाफ कांग्रेस नेतृत्वले दिनैपर्छ।

चुनावी अभियानका क्रममा लगातार घृणायुक्त अभिव्यक्ति सबैजसो राजनीतिक दलबाट आइरहँदा निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने जिम्मेवारी पाएको निर्वाचन आयोगको भूमिका पनि फित्तलो बनेको छ। माधवकुमार नेपालको नाम लिएपछि कुल्ला गर्छु भन्ने अभिव्यक्ति दिने नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, जित भएन भने मुलुक दुर्घटनामा पुग्छ भन्ने धम्की दिने पुष्पकमल दाहाल र हारेमा बजेट नदिने भन्दै खुलेआम चुनौती दिने प्रधानमन्त्री पत्नी आरजुको अभिव्यक्तिलाई लिएर आयोगले मौनता कायम राख्‍नु अर्को दुर्भाग्यपूर्ण स्थिति हो। सद्भाव तथा भाइचार सहित निर्वाचन सम्पन्न हुनुपर्छ। स्वस्थ प्रतिस्पर्धा लोकतान्त्रिक प्रणालीलाई चिरस्थायी गराउने आधार हुन् भन्ने यथार्थतालाई राजनीतिक दल र तिनका नेता तथा निर्वाचन आयोगले समेत मनन गर्नुपर्नेमा यस्ता अभिव्यक्ति आउनु कति जायज हो? निर्वाचनलाई कुनै पनि खालको डर त्रास र धम्की बिहीन बनाउन सबैको जिम्मेवारी हो। त्यसैले पनि त्यस इतरका अभिव्यक्तिलाई नियन्त्रण गर्न आवश्यक छ। सबै राजनीतिक दल तथा विशेष गरी निर्वाचन आयोगले यस्ता अभिव्यक्ति रोक्न सक्रियता जनाउन ढिलो भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell