- सहयोग रञ्जित र प्रकाश भण्डारी -
‘आज घरदैलो स्थगित गरेर भेटघाट मात्रै गरिरहेको छु,’ भक्तपुर नगरपालिकाका निवर्तमान मेयर सुनिल प्रजापतिलाई बिहीवार भेट्न पुग्दा दिउँसो अलि फुर्सदिलो भएको सुनाए। कुलपूजा भएकाले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले चुनाव प्रचार प्रसारलाई बिहीवार स्थगित गरेको थियो। बिहानको भेटघाट सकेर खाना खान दिउँसो घर आइपुगेका थिए उनी। त्यहीँ मेसोमा संवादका लागि समय मिलाए उनले। २०७४ को स्थानीय तह निर्वाचनमा जित निकालेर पाँच वर्ष भक्तपुरमा उनले सरकार चलाइसके। यसपाला फेरि मेयरका उम्मेदवार छन् उनी। नेमकिपाको आधार इलाका भएकाले जितका लागि ढुक्क सुनिए उनी। अघिल्लो पटक ६० प्रतिशत मत उनको पोल्टामा थियो। यसपाला अझ बढ्ने दावी गर्छन्। जितका लागि आफ्ना पार्टीका कार्यकर्तामात्रै नभइ नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताले समेत भोट हाल्ने दाबी छ उनको।
कस्तो छ चुनावी माहोल?
ठिकै छ। बिहान घरदैलो गर्छौँ। साँझ ४ बजेदेखि कम्तिमा ३ वटा सभा भ्याउँछौँ। नगरस्तरीय एउटा सभा हुन्छ। त्यसपछि वडा वडामा हाम्रो चोकसभा भइरहेको हुन्छ। एक छिन भए पनि पुगेर जनतासँग मत माग्छौं।
घरघरमा पुग्नुभएको छ चुनावका बेला। के छ त मतदाताको माग?
धेरै अपेक्षा छैन जनताको। हामीले नै यहाँको जनतालाई ध्यानमा राखेर पहिलेदेखि नै घोषणापत्र मार्फत् जे कुरा जारी गर्थ्यौं ती कुरा पूरा गरिदिएको छ। जनताले खोज्ने भनेको शिक्षा हो। एक सय एक राम्रा छन् नगरपालिबाट संचालित कलेजहरु। विभिन्न विषयमा स्नातकोत्तरसम्मको पढाइ भक्तपुरमै हुन्छ। ख्वप कलेजमै हुन्छ। शिशु स्याहर हामीले टोल टोलमा खोलिदिएका छौं।
यति धेरै काम गरेको भन्नु भयो। त्यसो भए गर्न बाँकी नै केही छैन भन्न खोज्नु भएको हो?
देशमा यतिका काम भइराखेका छन्। फेरि यो सरकारको पाँच पाँच वर्षमा किन चुनाव गर्नुपरेको भनेजस्तै हो। काम त धेरै छन्। हामीले सुरु गरेका अधुरा कामहरु पूरा गर्नुछ। नयाँ कामहरु धेरै छन्। ती नयाँ कामहरु पनि गर्छौ।
नेमकिपा सबै ठाउँमा कमजोर, यहाँमात्र बलियो किन?
भक्तपुर नगरपालिकामा यहाँको जनताले विश्वास गरेर जिताए। हामीले घोषणापत्र अनुसार काम गर्न पायौं। अरु ठाउँमा पनि जितेका छौं। हामीले कालीकोट, दैलेखमा र जुम्लामा दुई चार वटा वडामात्रै जितेका छौं। त्यहाँ अहिले पनि कस्तो छ भने सबै पार्टी एकातिर हामी एकातिर। यसपालाको निर्वाचनलाई हामीले के भनेका छौँ भने - एमसीसीका समर्थक देश घाती विरुद्ध देश भक्तहरुको आन्दोलन। एमसीसी समर्थक र विरोधको लडाईको रुपमा लिएका छौँ यसलाई। प्रजातन्त्र भनिन्छ नि त्यो अहिलेको जस्तो होइन।
कस्तो हो त नेमकिपाको प्रजातन्त्र?
अहिले त के भयो भने दुई दलीय तानाशाही भयो। एकातिर कांग्रेसले नेतृत्व गरेको अर्को एमालेको पछिपछि लागेको छ। हामी कसैको पक्ष पनि लिँदैनौं। हामीले आफ्नो सिद्धन्तको प्रचार गर्ने हो। सैद्धान्तिक लडाइ हो यो। घोषणापत्र जनताको बिचमा राख्ने हो। कति सिट जित्ने महत्वपूर्ण होइन, सैद्धान्तिक स्पष्टता महत्वपूर्ण हो। नेपकिपाको विचार त्यहाँ राख्छौँ। सबैले राख्पर्थ्यो। जनतालाई विचार छान्ने अवसर नै छैन। माओवादीले कांग्रेसलाई र कांग्रेसले माओवादीलाई भोट हाल्ने? यो विचारको लडाइ भएन। यो कुर्सीको लडाइ भयो। गलत अभ्यास भइरहेको छ यहाँ। यसले हामीलाई राम्रो प्रजातान्त्रिक अभ्यासमा पुर्याउँदैन।
कांग्रेस र एमाले नेतृत्वको गठबन्धनले नेमकिपालाई भक्तपुरमै पनि असर पार्न सक्ने देखियो त?
कोसिस गर्छन्। त्यो स्वभाविक हो। सक्नु नसक्नु छुट्टै कुरा हो। अहिलेमात्रै होइन, २०५४ सालमा राप्रपा, एमाले, कांग्रेस एउटै चिन्ह लिएरै उठेको हो। प्रजातन्त्र यदि राम्रो बनाउने हो भने विचारको लडाइ हुनुपर्यो।
यतिका समय भइसक्यो नि प्रजातन्त्र/गणतन्त्र भन्न लागेको. हुनु कस्तो पर्यो त?
जस्तो हामी वैज्ञानिक समाजवादमा विश्वास गर्छौं। त्यही दर्शनबाट प्रभावित छौं हामी। त्यसमा रहेर हामीले सकेसम्म शिक्षा स्वास्थ्य राज्यको विषय हो भन्नेतिर लान्छौं। हामीलाई जितायौं भने यो यो काम गर्छौं भन्नुपर्थ्यो। एमालेले मदन भण्डारीको दर्शनअनुसार यस्तो गर्छौ भन्नुपर्थ्यो। राप्रपाले संवैधानिक राजतन्त्र मार्फत् यस्तो गर्छौं भन्नुपर्थ्यो। यसलाई भनिन्छ वैचारिक संघर्ष। अहिले त राप्रपा पनि अर्कैतिर। कांग्रेस अर्कोतिर एमाले अर्कोतिर के भन्ने यसलाई? यस हिसाबले दुई दलीय भनिएको छ। हेर्नुस् अस्ति पनि चुनाव चिन्ह नदिने भन्नेसम्मको आएको थियो। सबै दल मिलेर संघर्ष नगरेको भए चुनाव चिन्ह पनि दिँदैन थिए। यसलाई बहुदलीय भन्न मिल्छ? यसलाई प्रजातन्त्र भन्न मिल्छ? एमाले र कांग्रेसले परिभाषा गरेको होइन। अमेरिकाले परिभाषा गरेको पनि होइन। जसरी बगैंचामा सयौं थरिका फूलहरु फूलेर राम्रो देखिन्छ त्यस्तै हो प्रजातन्त्र। धेरै विचारहरुको प्रतिस्पर्धा गर्ने ठाउँ हुनुपर्थ्यो तर भएन।
पार्टीमा तपाईँ जतिको मान्छे नभएर हो फेरि पार्टीले तपाईँलाई नै मेयरमा दोहोर्याएको?
किन नहुनु? पार्टीमा त एक सय एक मान्छे छन् नि। पार्टीले त धेरै कुराहरुको मूल्याङ्कन गर्छ। नत्र त हिजो संविधानसभा सदस्य भएको मानिसलाई यहाँ किन ल्याउनु पर्यो? त्यसबेलाको अनुभव कार्यान्वयन गर्ने ठाउँ हो। त्यसबेला सैद्धान्तिक कुराको छलफल गर्ने, नीतिगत विषय थियो। सबै ठाउँको संविधानलाई अनुवाद गरेर ६ सय १ जना सदस्यलाई वितरण गर्यौं नि। त्यस बेलाको भूमिका भनेको राम्रो संविधान बनाउने हो। अहिले संविधान कार्यान्वयन गर्न ठाउँ भयो। त्यसैले त राम्रो भएको होला। हामीले ४८ वटा कानुन बनाइसक्यौं। त्यसमै टेकेर अगाडि बढ्ने हो। शिक्षामा के गर्ने शिक्षा ऐन बनायौं। सहकारीमा के गर्ने सहकारी ऐन बनायौं। म रहुँला नरहुँला कानुनहरु मजासँग बनायौं। कानुन राम्रो बनायो भने कसैको चाकरी गर्नै पर्दैन। यहाँ जनताले पनि अत्याधिक विश्वास गर्नु भएको हो नि। अरु भन्दा १९ हजार भन्दा बढी नै अन्तरले जिताउनु भएको थियो। अहिले पनि त्यसभन्दा धेरैले जिताउनु हुन्छ होला। त्यतिबेला त संघीयता के हो भन्ने नै धेरैलाई थाहा नै थिएन। भूकम्पले भग्नावशेष भएको शहरमा हामी बसेको हो। हामीले एउटा पनि हस्तक्षेप स्वीकारेनौं। हामीले यहाँबाट फर्काएका कर्मचारी नै ८०/९० जना छन्। ग्रुपका ग्रुप हामीले फर्कायौं। हामीले १५ जनाको काम ५ जनाले देखाउँछौं भन्यौं। स्वायत्ताको हिसाब यो हो। अर्को भनेको उपभोक्ताबाट काम नगराउ भनेको छ। रामकुमारी झाँक्रीले चिठ्ठी नै पठाउनु भएको थियो। किन रोक्ने भनेर हामीले तपाईँ कानुनभन्दा माथि हुन सक्नुहुन्न भन्यौं। पछि उहाँले नै हाम्रो तारिफ गर्नुभयो।
कामको फेहरिस्त नै सुनाउनु भयो। जनताले सम्झिने काम के हो? अब जिते के गर्नु हुन्छ?
पहिलो कुरा जे काम गरेको त्यो पछिसम्म सम्झने गरी नै काम गरेको जस्तो लाग्छ। किनभने हामीले हरेकको किताब प्रकाशित गरेका छौं। हामी जहाँ गएका छौं, जो मेयर यहाँ आउनुभएको छ त्यसको डिटेल हामीले राखेका छौं। कति बाँकी छ भन्ने सवाल छ। त्यो धेरै छ। ख्वप विश्वविद्यालय नै खोल्ने भनेर लागेको हो नि। विश्वाविद्यालय बनाउन सकेनौं। मेडिकल कलेज खोल्ने र सरकारले ६० लाख लिएकोमा हामी १५ लाखमा पढाइदिन्छौं भनेर सरकारलाई हाँक दिएको हामीले नै हो। सरकारले कहाँ ६० लाख लिन पल्केकाहरुले १५ लाखमा पढ्न दिन्छन् र? स्वीकृति नै दिएनन्। त्यो काम त हाम्रो जारी रहन्छ। यो त सांस्कृतिक नगर/कलाकारको नगर हो। यसलाई त संसारको म्युजियमका रुपमा विकास गर्ने भन्ने सोच छ हाम्रो। त्यसलै यसलाई सांस्कृतिक नगरी घोषणा गर्ने प्रयास गर्यौं। यो अधिकार प्रदेशसँग छ। हामीले गर्न सकेनौं। हामीसँग अधिकार छ सांस्कृतिक क्षेत्र भनेर। विश्व सम्पदा सूचीभित्र परेको दरबार स्क्वाएर टेको लगाइ राखेकालाई पनि पुननिर्माण गर्न खोजेको हो। तर, पुरातत्व विभागसँग कुरा मिलेन। उनीहरुले राणाकालीन रुपमा बनाउन भने। हामीले मल्लकालीन भन्यौं। हामीले प्रमाणका रुपमा पेश गरेपछि त तथ्यलाई नकार्न सक्ने कुरा भएन। तर, त्यस सहमतिमा के पर्न गएछ भने युनेस्कोको अनुमति चाहिन्छ भन्ने भयो। त्यसैले बनाउनै सकेनौं। वर्षको करिब ३ लाख विदेशी आउने ठाउँ हामीले बनाउन सकेनौं।
नगरपालिका विपक्षीबिहीन भयो गत चुनावमा। १० वटै वडामा क्लिन स्वीप नै गर्नुभयो। विपक्षीसँग छलफल नै गर्नुहुन्न, तपाईँको एकल शासन चल्यो भन्ने आरोप छ त?
जनताले हामीलाई नै जिताइसकेपछि के भन्ने? विपक्षीले त्यति पनि बोलेन भने त के बोल्ने? राम्रो काम गरेन भन्न सकेको छैन। विपक्षीले पनि राम्रो काम गर्नुभयो भनेको छ। आरोपका लागि आरोप लगाउने होइन। मुख्य कुरा के गरेको छ भनेर हेर्ने हो। जस्तो ९२ वटा विद्यालय छन् जसमा ५ कक्षाको ८ कक्षाको परीक्षा लिन्छौ। त्यसको एउटा परीक्षा समिति हुन्छ। त्यो परीक्षा समितिमा नेपाली कांग्रेस नजिकको भनौं, एमाले नजिकको साथीहरु, नेमकिपासँग नजिकका साथीहरु र अन्य पार्टीका साथीहरु हुन्छन्। अरु विद्यालयमा पनि परीक्षा समिति हुन्छ। उहाँहरुले जब फाइन गर्नुहुन्छ त्यस अनुसार स्कुलको क्यालेन्डरदेखि 'फि स्टक्चर' बन्छ। सबै पार्टीसँग नजिकका साथीहरु मिलेर सामुहिक भावनामा काम गरेका छौं। उपभोक्ता समितिमा उहाँहरु बस्नुहुन्छ। उहाँहरुलाई पनि थाहा दिनुपर्छ नि कसरी काम हुन्छ भनेर। अरु ठाउँमा जसरी लुछालुछ हुन्छ कि सेवा भावले काम हुन्छ। साइनबोर्ड राखेर काम गर्ने हो नि
त्यसो भए किन यस्तो आरोप लगाए त अरु पार्टीले तपाईँलाई?
त्यसको एउटा कारण छ - मञ्चमा राखेन भनेको हो। वक्ताको रुपमा उपस्थित गराएन भनेको हो। पहिला आउनुहुन्थ्यो। तर, सांसदलाई मात्रै बोल्न दियो भने दर्जन नाघ्छ। प्रदेश सांसदहरु ४ जना निर्वाचित नै भयो। समानुपातिकको हाम्रोदेखि अरु सबैको गर्ने हो भने त दर्जन हुन्छ। हामी प्रमुख/उपप्रमुख भएपछि मञ्च नै भाचिने गरी मन्चमा राख्ने त? एकदम छोटो हुन्छ औपचारिक कार्यक्रम। हामी एकजना प्रमुख अतिथि, एक जना संघीय सांसद, एक जना प्रदेश सांसद बोलाउँछौं अनि मेयर। स्थानीय, प्रदेश र केन्द्रको प्रतिनिधित्व हुनेगरी कार्यक्रम गर्छौं।
खानेपानीको राम्रो सुविधा भएन भनेर तपाईँको आलोचना भएको छ। वास्तविकता के हो?
खानेपानीको स्रोत हामीसँग छैन। आधार भनेको नगरकोटको खानेपानी हो। त्यहीँबाट ल्याउँछौं। प्रदेश सरकारले के गरिदियो भन्दा भँगेरी डाँडाँ छ - त्यहाँका सारा रुख काटेर खेल मैदान बनाउन लगाइदियो। त्यसपछि त्यहाँको माटो सबै यता मुहानमा खस्ने भयो। पानी पर्नासाथ हिलैहिलो भएर सब पानी खोलामा। हामीले पाइपमा सुधार गरेका छौं। ८ इन्चीको पाइप हामीले राखेका छौं। तर, पानी ल्याउन गाह्रो भयो। दोस्रो कुरा हामी बोडेबाट ल्याउँछौं तर त्यो स्थायी होइन। अस्थायी भए पनि हामीले निकाल्न पर्यो भनेर ठाउँठाउँमा हामीले बोरिङ गरेका छौं। तीन ठाउँमा हामीले पानी वितरण गरिरहेका छौं। तर पर्याप्त होइन। चार लाख पाँच लाखको ट्याङ्की निर्माण गर्दै छौं। तर, हाम्रो मुख्य स्रोत भनेको मेलम्ची नै हो। त्यसैले मेलम्चीमा हामीले ताकेता गरिरहेका छौं। ८० लाख लिटरको पानी ट्याङ्की तयार भएको छ। केही दिनपछि नै पानी आउनुपर्ने। हिजो आज नै नै आइपुग्नु पर्ने किनभने मध्यपुरसम्म आइपुगेको छ। त्यो पाइपलाइन जोडिसकेका छौं।
अनि आवसीय आयोजना पनि अलपत्र नै छ त?
जहाँसम्म देको-मिवा- इतापाके आवास योजनाको कुरा छ- केही व्यक्तिहरु जे गर्दा पनि नमान्ने। केही व्यक्तिले बुझेनन्। कति चाहिँ जे गर्दा पनि राजनीतिक प्रतिशोध लिने हिसाबले नै अघि बढिराखेका छन्। हामीले स्पष्ट भनेका छौं कहाँकहाँ केके गर्न सकिन्छ भनेर। सडक बनाउनका निम्ति मात्रै ४ सय रोपनी जग्गा जान्छ पहिलो कुरा। १६ सय ५४ रोपनीको आयोजना हो यो। त्यहाँ धेरै घरहरु पनि छन्। सबैलाई मिलाउँदाखेरी ३ सय ९७ भन्दा धेरै रोपनी बाटोमै जान्छ। त्यो भनेको २४ प्रतिशत भन्दा बढी हो। यस हिसाबले बनाउने हो भने एक जना जग्गाधनीको २४ प्रतिशत स्वत: बाटोमा पर्नजान्छ। ७५ प्रतिशत ओपन स्पेसमा जान्छ। ४ सय ७५ रोपनी बाटो र ओपन स्पेशमा गयो। २९/३० प्रतिशत जाने भयो। कतिले के भनिरहेका छन् भने बाटोमात्रै ल्याइदिनु, घर त पहिनै छ त। केही प्रतिशत योगदान गरौं भन्ने नगरपालिकाको कुरा भयो। उहाँहरु आफ्नो केही प्रतिशत पनि काट्नुहुन्न। जस्ताको तस्तै हुनुपर्छ भन्नुहुन्छ। त्यसो हो भने उहाँहरुलाई ३५ दिने सूचना दिएको थियो। आफ्नो जग्गा नपारे पनि हुन्छ चाहिँ कसैले भन्नु भएन। राजपत्रमा प्रकाशित भएर सबै आइसकेपछि हाम्रो जग्गामा किन पारेको भन्नुहुन्छ। यो त हामी नहुँदै भएको हो नि। नगरपालिकाले जबरजस्ती गरेको त होइन। अधिकांशले मन्जुरीनामा दिएपछि स्वीकृत भएको हो। जग्गा त हिजो भन्दा महँगो भयो। उहाँहरुले मूल्य हेर्नु भयो। ६ सय ७२ वटा निवेदन परेको छ जसमा अधिकांशको सम्बोधन गरिसकेका छौं। न्युनतम २ प्रतिशत सबैको घटाइ दिएका छौं।
तपाईँको जस्तै काम अरुले किन गरेनन्? यस्तै मोडल अरुले पनि अपनाए हुँदैन?
त्यसका लागि त हामीलाई जिताउनु पर्यो।
नेमकिपाको देशव्यापी संगठन खै त? हामीलाई जिताउनुस् भनेर मात्रै भयो?
सबै पार्टी मिलेपछि त सम्भव नै भएन नि। पैसा खर्च गर्नेहरुका अगाडि विचारको लाडाइ लड्नेलाई अप्ठेरो हुन्छ। निर्वाचन आयोगले एक पैसा खाएको देख्यो भने खारेज गर्छौं भन्यो भने त्यो बेला नेमकिपा के हो भन्ने थाहा हुन्छ। प्रचण्ड प्रधानमन्त्री हुँदा हामीले भन्यौं - धेरै ठाउँमा हात नहाल्नुस निश्चित ठाउँमा काम गर्नुस्। तपाईँको आधार इलाकामा सुरुमा काम गर्नुस् भन्यौं। त्यसो भएपछि तपाईँले मत नै माग्नु पर्दैन। तपाईँले जस्तो सुझाव दिने कोही पनि आएन भन्नुभयो। तर, उहाँले केही पनि गर्नुभएन। उहाँहरुको सबभन्दा कमजोर पक्ष के छ भने आफू बस्दाखेरी स्थानीय चुनाव गराउनु भएन। हार्न सक्थ्यो तर जग बस्थ्यो नि। जिल्ला जिल्लमा जग बन्थ्यो। एमाले-कांग्रेस किन अगाडि आए भन्दा २०४६ सालभन्दा पछि पटकपटक स्थानीय चुनावमा भाग लिए। जसका कारण वडावडासम्म जग बन्यो। माओवादीको जग बनेन। बन्नै पाएन। त्यसैले टाउको मात्रै भएर हुँदैन। मुख्य कुरा त जग हो नि। माओवादी जतिसुकै कुरा गरोस् कांग्रेसले साथ दिएन भने कति वटा जित्छ? धेरै फुर्तीफार्ती लाउनु पर्दैन्, ठूला छौं भनेर। जित्ने त कांग्रेस र एमाले नै हो नि। माओवादी त त्यहीँ कांग्रेसको पुच्छर समातेर जित्ने हो। अरुको मत लिएर जित्ने हो। त्यसैले हामीले को कति जित्छ भन्ने कुरासँग हामीले तुलना गर्ने होइन। विचार अनुसार काम गरेको छ कि छैन, हेर्ने हो। नत्र त पञ्चायतमा पसे भइगयो नि।