PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

क्युबाको पाँच तारे होटलमा विस्फोट, कम्तिमा २२ जनाको गुम्यो ज्यान



पहिलोपोस्ट

क्युबाको पाँच तारे होटलमा विस्फोट, कम्तिमा २२ जनाको गुम्यो ज्यान

क्युबाको एउटा पाँचतारे होटलमा भएको विस्फोटमा परी कम्तिमा २२ जनाले ज्यान गुमाएका छन् भने ६० भन्दा धेरै मानिस घाइते भएका छन्। क्युबाकै एक्स्कुसिभ पाँच तारे होटल सारातोगाको अगाडि पार्क गरिएको ग्यासको ट्याङ्कर पड्किँदा होटल तहसनहस भएको अनुमान गरिएको छ। पुरानो हाभानामा रहेको होटलका तल्लाहरु ध्वस्त भएका हुन्।

कोभिड १९ का कारण प्रभावित भएको होटल ४ दिनपछि खुल्ने तयारीमा थियो। तर, तयारी पूरै खेर गएको छ। भवनका अगाडिका वाल पूरै ध्वस्त भएको छ। भित्र अझै मानिस फसेका छन् कि भन्ने आशामा उद्धारकर्मी अहिले पनि सक्रियताका साथ लागिरहेका छन्। 

क्युबा सरकारले मृत्यु हुनेमा बालबालिका र गर्भवती समेत रहेको जनाएको छ। घाइते भएकाहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको जनाइएको छ। 

प्रत्यक्षदर्शीका अनुसार विस्फोट हुँदा भूकम्प गएजस्तै जमीन थर्किएको थियो। धुँवाको मुस्लो बेपत्तै देखिएको थियो। नजिकै रहेको विद्यालयमा भने विस्फोटको कुनै प्रभाव देखिएको छैन। विद्यालयमा रहेका विद्यार्थीहरुलाई त्यहाँबाट सुरक्षित रुपमा उद्धार गरिएको छ। विस्फोट स्थल पुगेर क्युवाका राष्ट्रपतिले अवलोकन गरेका छन्। 'यो कुनै बम वा आक्रमण थिएन। यो दुर्भाग्यपूर्ण दुर्घटना हो,' राष्ट्रपति मिगुयल डी क्यानलले भने। 

विस्फोट त्यतिखेर भएको छ जतिखेर कोभिड १९ पछि पुन: पर्यटन क्षेत्रलाई खुला गर्ने तयारी भइरहेको थियो। होटल १९ औं शताब्दीमा बनेको हो। हवाना पुग्ने चर्चित व्यक्तिहरु यस होटलमा पुगेकै हुन्थे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell