PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

गठबन्धनलाई भारी पर्दै जगन्नाथको उम्मेदवारी : के भरतपुरमा असन्तुष्टि भुसको आगो झैं सल्किएको हो?



नेत्र तामाङ

गठबन्धनलाई भारी पर्दै जगन्नाथको उम्मेदवारी : के भरतपुरमा असन्तुष्टि भुसको आगो झैं सल्किएको हो?

काठमाडौं : 'हेभी वेट' नेताहरुको त्रासपूर्ण अभिव्यक्तिले चितवनको भरतपुर महानगरमा कांग्रेसका बागी बनेका जगन्नाथ पौडेल गठबन्धनलाई भारी पर्दै गएको अनुमान गर्न कसैलाई पनि कठिन छैन। यसपटक पनि रेनु दाहाललाई नै मेयरमा गठबन्धनले अघि सारेपछि यहाँका कांग्रेस असन्तुष्ट बनेका छन्। त्यही असन्तुष्टि प्रकट गरेबापत पार्टी सभापति शेरबहादुर देउवा उनीहरु प्रति असन्तुष्ट छन्। असन्तुष्ट असन्तुष्टको यही खेलले कांग्रेस विरुद्ध बनेको माहोल कतै भुसको आगो झै फैलिरहेको त छैन?

भरतपुरमा जसरी पनि रेनुलाई जिताउनुपर्ने भन्दै बिहीवार सत्तारुढ दलका शीर्ष नेताले दवावमुलक मन्तव्य राखिसकेका छन्। भरतपुरमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको आरोपमात्र लगाएनन् बागी बनेका जगन्नाथ पौडेलतिर लक्षित गर्दै गठबन्धन फुटाउने षड्यन्त्र सफल भए कांग्रेस नै खत्तम हुनेसमेत बताए।

‘कुनै पार्टीले बहुमत ल्याउन सक्दैन। गठबन्धन आवश्यक छ। सबैलाई थाह छ नि। किन विरोध भयो। यहाँ ठूलो षड्यन्त्र छ। यो षड्यन्त्रमा फस्यो भने हाम्रो पार्टी पनि खत्तम हुन्छ। गठबन्धन टुटाउनेमा भरतपुर सहभागी हुँदैन,’ भरतपुरमा देउवाले भनेका थिए। यतिमात्र हैन उनले यसमा जगन्नाथ असहयोग बनेको आरोप लगाए। ‘चितवनकै कुरा गरौ। मेयरका उम्मेदवार बनाउँदा मेरै साथीहरु असहयोगी भए। नाम भन्न चाहन्न,’ देउवाले भने। देउवाले नाम नभने पनि - त्यो नभनिएको नाम जगन्नाथ पौडेलभन्दा अरु कोही होइन जसलाई लिएर यतिखेर चितवनको राजनीतिक सरगर्मी ह्वात्तै माथि चढेको छ।

चितवनमात्र होइन, काठमाडौं आएर पनि शुक्रवारको सभामा देउवा जगन्नाथविरुद्ध फेरि खनिए। ‘कहाँ जन्मने कुरा आफ्नो हातमा छैन नि। प्रचण्डको छोरी भएर जन्मियो त के गर्ने? नदिएर हुन्छ? हाम्रै साथीहरु खिलाफमा उत्रेका छन्। वीपी कोइरालालाई फाँसीको सजाय दिनुपर्छ भन्नेहरु,’ देउवाले भारतपुरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई लक्षित काठमाडौंबाट पनि आक्रोशको वर्षा गर्न छाडेनन्।

गठबन्धनका सुत्रधार भनेर दाबी गर्दै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि जगन्नाथसँग नराम्रोसँग चिढिए। उनलाई फकाउन असफल भएपछि भरतपुरमा रामचन्द्र पौडेलको असन्तुष्टि भाषणमै पोखियो। ‘आज चितवनको चुनाव राष्ट्रिय चर्चाको विषय भएको छ हाम्रै केही साथीहरुले प्रश्न उठाउनु भएको छ। म ती प्रश्नको उत्तरका लागि यहाँ उपस्थित छु,’ पौडेलले भने। असन्तुष्ट पक्षलाई मनाउने प्रयास पौडेलले भरमग्दुर गरेकै थिए। तर उनी सफल भएनन्। सभालाई सम्बोधन गर्ने क्रममा नेता पौडेलले भने, ‘मैले बिहानमात्रै कृष्णलाल सापकोटा, भीमबहादुर श्रेष्ठजीलाई र जगन्नाथजीलाई म बसेको ठाउँमा बोलाएर, म बसेको ठाउँमा संवाद गर्न चाहेँ। मैले केही कुराहरु राख्न चाहेँ। बसेर कुरा राख्न खोजेँ। उहाँहरुले अलिकति धैर्य राख्न साक्नुभएन। चाँडचाँडै उठेर जान खोज्नुभयो। मेरो तर्कमा सामना गर्न खोज्नुभयो। इमोसनमा, भावागेमा, उत्तेजनामा मात्र उहाँहरु उत्रेकोजस्तो मलाई लाग्यो।’

यता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि रेनुलाई मत हाल्न चेतावनीपूर्ण भनाई राखेका थिए जसले असन्तुष्टलाई थप आक्रोशित बनायो। बुधवार उनले भरतपुरमा गठबन्धनलाई नजिताए देश दुर्घटनामा जान सक्ने चेतावनी दिएका थिए।

'मैले टेकप्रसाद लगायतका साथीहरूलाई के चाहेको छु भने, तपाईँहरूलाई अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, यो गठबन्धन लोकतन्त्र र गणतन्त्रको आवश्यकता हो, देशको जनताको विकास र समृद्धिको आवश्यता भनेर नबुझेर, हँसिया हथौडामा भोट हालिँदैन भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,' भरतपुरमा आज आयोजित सभामा प्रचणडले भनेका थिए। भरतपुरमा कांग्रेसका नेता कार्यकर्तासँग केन्द्रीय नेतृत्वले छलफल गर्दा त्रुटि गरेको केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले बताएका थिए। त्यसको जवाफमा प्रचण्डले उक्त भनाई राखेका हुन्। प्रचण्डको यही अभिव्यक्ति पनि धम्कीपूर्ण रहेको ठम्याई रह्यो जगन्नाथ समूहको।

केन्द्रीय सदस्य गुरुङले भरतपुरमा असन्तुष्ट पक्षलाई मनाउन केन्द्रीय नेताहरु चुकेको आरोप लगाएका थिए। भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गुरुङले बागी उम्मेदवारी दिएका जगन्नाथलाई पहिल्यै छलफलमा राखेर मनाउनुपर्नेमा केन्द्रले त्यस्तो प्रयास नगरेको आरोप लगाएका थिए।

‘जगन्नाथ पौडेल, कृष्णलाल सापकोटा, भीमबहादुर श्रेष्ठजी पनि साथमा हुनुहुन्छ। छलफल हुनुपर्ने हो। १६ गते अघि नै छलफल गर्नुपर्ने हो। १२ गतेभन्दा अघि नै हुनुपर्ने हो,’ गुरुङले भनेका थिए, ‘बेलैमा हुनुपर्ने हो। यो कुरामा कांग्रेस केन्द्रीय नेताहरु चुक्नुभएको छ। केन्द्रीय नेताहरुले कदम चाल्नुपर्ने देख्छु।’

गुरुङको भनाईलाई लक्षित गर्दै प्रचण्डले आफूले जवाफ दिन आवश्यक नरहेको बताएका थिए। 'टेकप्रसाद गुरूङले मतिर ताकेर केही प्रश्न गर्नु भएको छ। त्यसको धेरै स्पष्टीकरण दिन आवश्यक ठान्दिन। मैले साँचै नै अहिले तपाईँहरूको अगाडि उभिएर बोल्दै गर्दा, रूखवालाहरूले हँसियाहथौडालाई भोट हाल्न धेरै गाह्रो देखेँ। तपाई चितवनबासी नै हो,' प्रचण्डले भनेका थिए।

'असन्तुष्टि भुसको आगो झैं सल्किएको छ'

गृहमन्त्री बालकृष्ण खाण, राज्यमन्त्री उमेश श्रेष्ठले मनाउने प्रयास गर्दासमेत नफक्किएका पौडेल अहिले चुनावी घरदैलोमा छन्। वरिष्ठ नेता राचन्द्र पौडेलले पार्टी सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग भेट्नुपर्ने बताउँदा जगन्नाथको टोलीले उक्त प्रस्ताव उनले ठाडै अस्वीकार गरेका थिए।

आज शनिवार भरतपुरको रामपुर टोलमा आयोजित कोणसभालाई सम्बोधन गर्दै बागी उम्मेदवार पौडेलले ठूला नेताले आफ्नो उम्मेदवारीलाई लिएर गरेको भाषण सुन्दा आत्मग्लानि भएको बताए।

'जगन्नाथको उम्मेदवारीले देश नै दुर्घटनामा पर्छ। आकाश खस्छ जस्तो कुरा प्रधानमन्त्री भइसकेका नेताहरुले गरेको सुन्दा मलाई आत्मग्लानी भएको छ,’ पौडेलले भने। पौडेलले चुनाव आउन केही दिन बाँकी भए पनि आफू धेरै ठाउँमा पुग्न नसकेको बताए। आफू धेरै ठाउँमा पुग्न नसके पनि कांग्रेसमा रहेको असन्तुष्टि भुसको आगो झैं फैलिसकेको दाबी गरे। 'साढे तीन लाख बिचमा भएको ठाउँठाउँको अन्तरक्रिया र तपाईँहरुको सक्रियता यो भुसको आगो झैं भित्रभित्र सल्किएको छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell