
जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धेरै मेहनतपछि गठबन्धन बनेको बताएका छन्। जनकपुरधाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
‘धेरै मेहनतपछि गठबन्धन बनेको हो। स्थानीय तहमा पनि गठबन्धन कायम राख्न कयौ रात नसुतेर पनि महानगर उपहानगरमा प्रमुख र उपप्रमुख गठबन्धन गर्ने निर्णय गर्यौं,’ प्रचण्डले भने, ‘यो एतिहासिक निर्णय हो। प्रदेश र संघको निर्वाचनमात्र हैन गठबन्धनको संस्कृति कैयन वर्ष लैजानुछ।’
प्रचण्डले गठबन्धनबाट पाँचै दलले फाइदा उठाउने समेत बताए। ‘गठबन्धनका साझा उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउन अनुरोध गर्दछु,’ उनले भने, ‘पाँच दलले विचारको आधारमा गरेका छौ। पाँचै दलको राजनीतिक स्वार्थलाई समेटेका छौं। पाँचै पार्टीले फाइदा उठाउने भएकाले गठबन्धन सम्भव भएको हो।’
एमालेले सदनमा बहस गर्न नदिएर, मधेशको नागरिकतासम्बन्धी समस्या समाधान गर्न तयार नरहेकाले नागरिकता विधेयक छलफल हुन नपाएको प्रचण्डको तर्क थियो। प्रचण्डले गुठीका विषयमा पनि समस्या रहेको र गठबन्धनले जिते उक्त विषयमा पनि समाधान निकालिने दावी गरे।