PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

गठबन्धनप्रति केपी ओलीको कटाक्ष : असार १७ पछि आयु सकिन्छ



अनन्तराज न्यौपाने

गठबन्धनप्रति केपी ओलीको कटाक्ष : असार १७ पछि आयु सकिन्छ

विराटनगरः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनको आयु असार १७ गतेसम्म मात्र भएको घोषणा गरेका छन्। शनिबार विराटनगरमा आयोजित चुनावी सभामा अध्यक्ष ओलीले गठबन्धनको आयु धेरै नभएको दाबी गर्दै असार १७ तोकेका हुन्।

‘शेरबहादुरजीलाई म भन्न चाहन्छु, तपाईं ज्योतिषमा धेरै विश्वास गर्नुहुन्छ’, ओलीले भने, ‘आउँदो असार १७ गते तपाईंका ग्रह-नक्षत्र कहाँ छन्, आफ्ना ज्योतिषीलाई हेर्न लगाउनु होला। बिचरा शेरबहादुरजीको सातोपुत्लो उडिरहेको होला।’

उनले आउँदो चुनावमा पनि यही गठबन्धन रहिरहेमा जनताले गठबन्धनलाई एउटा पेरुङ्गामा हालिदिने चेतावनी दिए।

उनले नेपाली काङ्ग्रेससित गठबन्धन गर्न पुगेका माओवादी र नेकपा (एकीकृत समाजवादी) लाई आफ्नो भान्साका बिराला भन्दै व्यङ्ग्य गरे ।

शनिबार विराटनगरको चुनावी सभामा अध्यक्ष ओलीले प्रचण्ड र माधव नेपाल नेपाल लगायतका नेतालाई बिरालाको संज्ञा दिए।

‘एक दिन मैले शेरबहादुरजीलाई नै भनेँ’, ओलीले सुनाए, ‘हाम्रो भान्साका बिराला त हिजोआज तपाईंका भान्सामा देख्छु नि भनेर। शेरबहादुरजीले पनि ससाना कचौरामा एक-एक कचौरा खानेकुरा ती बिरालालाई भाग लगाइदिनु भएछ।’

उनले अहिलेको गठबन्धनको सरकारमा टाउकाको मोल तोक्ने र तोकिने अनि बम हान्ने र बममा पर्ने एकै ठाउँमा भएको अनि एकले अर्कालाई प्रशंसा गरिरहेको उल्लेख गरे।

‘किन एकले अर्काको प्रशंसा गरेको रे भन्दा ‘अनि एमालेसित सकिन्छ?’ भन्ने उत्तर पो आउँछ’, ओलीले सुनाए, ‘बिचाराहरूले मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्‍या छ, किनभने भोलि उठी कहाँ जाने केही थाहा छैन। एकले अर्कालाई चरम घृणा गर्छन्, तैपनि प्रशंसा गरेको देखाउँछन्।

समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही दिनअघि एमालेलाई कुहिएको फर्सी भनेका थिए।

‘कुहिएको फर्सी त त्यो हो जसले २१ महिना प्रधानमन्त्री हसुर्‍यो’, प्रत्युत्तरमा ओलीको आक्रोश थियो, ‘जसले पार्टीका टुप्पामा १५ वर्ष बसेर रस चुस्यो।’

ओलीले गठबन्धनको सरकार सुरु भएपछि देशमा अलच्छिन सुरु भएको टिप्पणी गरे।

उनको भनाइ थियो, ‘भारतसित विद्युत् खरिद सम्झौता गर्ने हामी, ट्रान्समिसन लाइन बनाउने हामी। अनि नक्कली मुजुरको प्वाँख सिउरेर हामीले लोडसेडिङ हटायौँ भनेर जुलुस निकाल्ने। अहिले के छ? प्रति युनिट ४ रुपैयाँमा बेचेर ३८ मा खरिद गर्न थालेका छन्। तैपनि लोडसेडिङ छ अनि चरम महंगी छ। हामीले झिकाएको २४ लाख भ्याक्सिन कुहिएर गयो। हामीले कोरेको विकासको मार्गचित्र पछ्याउन सकेनन्। यिनीहरू सत्तामा आएपछि देशमा किन अलच्छिन लाग्छ?’

उनले गठबन्धनका उमेदवारले चुनाव जिते भने कुर्सी पनि रुने बताए।

‘बिचरा कुर्सी पनि रुँदो हो, कस्तो बिकामे मान्छे ममाथि बस्यो भनेर’, उनले भने, ‘कुर्सी बोल्न सक्ने र हिँड्न सक्ने भए त त्यस्ता नेतालाई मिल्काइदिन्थ्यो होला तर सक्तैन। त्यसैले तपाईंहरूले ती नेतालाई मिल्काउनु पर्छ।

प्रधानमन्त्री–पत्नी एवम् नेपाली काङ्ग्रेसकी नेतृ आरजू देउवाले एक चुनावी सभामा आफ्नो पार्टीले चुनाव जितेमा हरेक वडाबाट कम्तीमा ५–६ जनालाई मलेसिया पठाइदिने घोषणा गरेकी थिइन्।

यसउपर आक्रोश पोख्तै ओलीले के चुनावका मुखमा फ्रि टिकट र फ्रि भिसा दिन्छु भन्न पाइन्छ भन्ने प्रश्न गरे।

उनको घोषणा थियो, ‘हामीले जित्यौँ भने लाखौँ युवालाई देशमै रोजगारी दिनेछौँ। विदेश पठाउने होइन, बिदेसिएका लाखौँ युवालाई स्वदेश फर्काउनेछौँ।’

उनले इतिहासमै नेपाली काङ्ग्रेस कमजोर भएको दाबी गरे।

उनले नेपाली काङ्ग्रेसले गठबन्धनमा जानु भनेको कुहिएका ढोडका लौरा टेकेर सगरमाथा चढ्न खोज्नु हो भन्ने उदाहरण दिए।

‘चढ्नु छ सगरमाथा’, ओलीको कथन थियो, ‘नेपाली काङ्ग्रेस कुनै यो बारीका र कुनै त्यो बारीका कुहिएका ढोडका लौरा टेकेर चढ्न खोजिरहेछ। गठबन्धनका बिचारा हेर्दै मायालाग्दा छन्।’

‘अनि किन बनाएको त गठबन्धन?’, उनले थपे, ‘अनि देख्तैनौ एमाले? एक्लै सकिन्छ? भन्छ रे काङ्ग्रेस। यो काङ्ग्रेस कति चाँडो बुढो भएको कठै?’

उनले गठबन्धनलाई व्यङ्ग्य गर्दै जसले वडामा त एक्लै चुनाव लड्न सक्तैन, त्यसले के गर्न सक्ला विकास भन्दै आश्चर्य व्यक्त गरे।

ओलीले प्रचण्डले चितवनवासीलाई धम्की दिएको आरोप लगाए।

ओलीले भने, ‘प्रचण्डजीले चितवनमा भन्नुभएछ– मेरी छोरीलाई भोट दिएनौ भने देश दुर्घटनामा जान्छ, दियौ भने म खुशी हुन्छु। यही वैशाख २७ गतेसम्म भाषण गर्नुस् मित्र, ३० गते फिस् हुन्छ। टाइँ-टाइँ फिस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell