
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा लखनउ सुपर जाइन्टले कोलकत्ता नाइटराइडर्सलाई हराएको छ। पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा सम्पन्न खेलमा लखनउले कोलकत्तामाथि ७५ रनको सहज जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। जसका लागि ओपनर क्विन्टन डी ककले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५० रन बनाउँदा दीपक होडाले ४१ तथा मार्कस स्टोइनिसले २८ रन बनाए। त्यस्तै क्रुणाल पाण्ड्याले २५ रन बनाउँदा जेसन होल्डरले १३ रन बनाए। बलिङतर्फ कोलकत्ताका आन्द्रे रसेलले २ विकेट लिँदा टिम साउथी, शिवम माभी र सुनिल नारेनले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको कोलकत्ताको भने ब्याटिङ जम्न सकेन। १४.३ ओभरमा १०१ रन बनाउँदै कोलकत्ता अलआउट हुन पुग्यो। कोलकत्ताका ओपनर बाबा इन्द्रजितलाई शुन्य रनमा गुमाएको कोलकत्ताका आन्द्रे रसेलले सर्वाधिक ४५ रन बनाउँदा सुनिल नारेनले २२ रन तथा आरोन फिन्चले १४ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
कोलकत्तालाई सामान्य स्कोरमै समेट्न आवेश खान र जेसन होल्डरले समान ३ विकेट लिँदा मोहसिन खान, दुश्मन्था चमीरा र रबि विश्नोइले समान १ विकेट लिए।
जितसँगै ११ खेलबाट १६ अंक जोडेको लखनउ अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। कोलकत्ताले भने समान खेलबाट ८ अंक जोड्दै तालिकाको ८ औं स्थानमा छ।