
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड ब्राइटोनसँग पराजित भएको छ। फाल्मर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली ब्राइटोनले युनाइटेडमाथि ४-० को सानदार जित निकालेको हो।
खेलको १५ औं मिनेटमै मोइसेस काइसेडोको गोलमा अग्रता बनाएको ब्राइटोन पहिलो हाफमा एक गोलले अघि रह्यो। खेलको ४९ औं मिनेटमा मार्स कुकुरेल्लाले गोल थप्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए। त्यस्तै त्यस्तै पास्कल ग्रोबले ५७ औं मिनेटमा र लिओनार्दो ट्रोसआर्डले ६० औं मिनेटमा गोल गर्दा घरेलु टोलीले युनाइटेडमाथि ४-० को सहज जित निकाल्यो।
त्यस्तै गएराति नै सम्पन्न् अर्को खेलमा लिभरपुल र टोटेनहम हट्सपर बराबरीमा रोकिए। लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा यी दुई टोली १-१ गोलको बराबरीमा रोकिए।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा टोटेनहमले अग्रता बनाएको थियो। खेलको ५६ औं मिनेटमा रयन सेस्सेगननको पासमा सन ह्युङ मिनले गोल गर्दै खेलमा टोटेनहमलाई अग्रता दिलाए। तर, ७४ औं मिनेटमा लुइस डियाजले गोल फर्काउँदै खेल बराबरीमा ल्याए।
योसँगै ३५ खेलबाट ८३ अंक जोडेको लिभरपुल शीर्षस्थानमा छ भने ६२ अंकजोडेको टोटेनहम पाँचौं स्थानमा छ। त्यस्तै छैटौं स्थानमा ५८ अंक जोडेको म्यानचेस्टर युनाइटेड रहँदा ४७ अंक जोडेर ब्राइटोन नवौं स्थानमा उक्लिएको छ।