PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

निर्वाचन नजिकिँदै गर्दा कर्णालीमा बढ्दै झडप, प्रहरी प्रमुखको दाबी: प्रचार प्रसारका क्रममा छिटफुट घटना भएका हुन्



पी बी खड्का

निर्वाचन नजिकिँदै गर्दा कर्णालीमा बढ्दै झडप, प्रहरी प्रमुखको दाबी: प्रचार प्रसारका क्रममा छिटफुट घटना भएका हुन्

सुर्खेत: बैशाख २२ गते बुधवार दिउँसो जाजरकोटको कुशे गाउँपालिका ९ जुर्गेमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भयो। चुनावी प्रचार प्रसारको विषयलाई लिएर पार्टी कार्यकर्ताबीच झडप भएको हो। झडप नियन्त्रणमा लिन खोज्दा प्रहरी माथि नै ढुंगा प्रहार गर्न थालेपनि प्रहरीले एक राउण्ड हवाई फायर गर्नु पर्‍यो।

बिहीवार मात्रै रुकुमपश्चिममा दुई वटा घटना भयो। त्रिवेणी गाउँपालिका ९ नुवाकोटमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुदाँ ६ जना कांग्रेसका कार्यकर्ता घाइते भए। चुनाव प्रचार प्रसारका क्रममा कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेका अम्मरसिंह खड्काको समूहलाई वाइसिएलका कार्यकर्ताले आक्रमण गर्दा उनी सहित अन्य पाँच जना घाइते भए।

त्यस्तै, सोही दिन रुकुमपश्चिमकै चौरजहारी नगरपालिकामा पनि सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुन पुग्यो।

झडपमा माओवादी केन्द्रका दुई जना र कांग्रेस, एमालेका पाँच जना कार्यकर्ता घाइते भए। चुनावी प्रचार प्रसार कै क्रममा घरदैलो गर्ने क्रममा दुवै तर्फबाट ढुंगा प्रहार हुदाँ घाइते भएको प्रहरीको भनाइ छ।

सोही दिन राती सुर्खेतको सिम्ता गाउँपालिकामा झडप भयो। बिहिवार राती करिव ११ बजेतिर नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो। यहाँ पनि चुनाव प्रचार प्रसारका क्रममा वडाअध्यक्ष पदका उम्मेदवारमाथि एमाले कार्यकर्ताले आक्रमण गरेका हुन्। उम्मेदवारसहित अर्का एक जना पनि घाइते भए। प्रहरीले भिडलाई नियन्त्रणमा लिन अश्रु ग्याँस समेत प्रयोग गर्‍यो।

त्यसैगरी शुक्रवार मात्रै डोल्पाको मुड्केचुला गाउँपालिका ९ होर्तमा वाईसियल कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप भयो। होर्त गाउँमा नेकपा एमालेको चुनावी घरदैलो अभियानलाई विथोल्न वाईसियल कार्यकर्ताले एमाले कार्यकर्तामाथि आक्रमण गर्न खोज्दा दोहोरो झडप भयो।

झडप नियन्त्रणमा लिन खटिएका सर्मि प्रहरी चौकीमा कार्यरत प्रहरी हवलदार समेत घाइते भए। त्यत्तिबेला नै अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले एक राउण्ड हवाई फायर समेत गर्नुपर्‍यो। घटनामा संलग्न वाईसियल कार्यकर्ताहरु फरार रहेका छन्।

प्रदेशकै राजधानी सुर्खेतको वीरेन्द्रनगरमा समेत निर्वाचन प्रचार प्रसारमा प्रयोग गरिएको दुई वटा गाडीमा आगजनी भयो। शुक्रवार राती करिव एक बजेको समयमा रोकी राखेको अवस्थामा अज्ञात पक्षले आगजनी गर्‍यो।

यी घटनामा संलग्न आरोपितहरुलाई प्रहरीले नियन्त्रणमा लिन भने अझै सकेको छैन्। छानविन र अनुसन्धानका लागि केही व्यक्तिमा नियन्त्रणमा लिए पनि वास्तविक दोषि पहिचान गरी कारवाहीको दायरामा ल्याउन सकेको छैन्। वडा तथा गाउँ, टोलमा भएका अन्य घटनाहरु त लेखा जोखा नै छैन।

स्थानीय तहको निर्वाचन नजिकिदैँ गर्दा कर्णाली प्रदेशमा सुरक्षा चुनौती थपिएको छ। पछिल्ला दिन निर्वाचनकै विषयलाई लिएर अपराधिक गतिविधिका घटना भइरहेका छन्।

यस्ता घटना नहोस् र भएका पनि नियन्त्रण गर्न कर्णालीमा निर्वाचन लक्षित पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

शान्ति सुरक्षा कायम गर्न तल्लिन प्रहरी प्रमुख भर्खर मात्रै फेरिएका छन्। कर्णाली प्रदेशमा पनि सुरक्षा कमाण्ड समाल्न सोमबार (बैशाख १९ गते) मात्रै सुर्खेत आई पुगेका छन् एसएसपी राजेशनाथ बास्तोला। उनैले सम्हालेका छन् प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी अर्थात कर्णालीको सुरक्षा कमाण्ड।

प्रदेश प्रहरी प्रमुख डिआईजी गणेश बहादुर ऐर अवकास भएसंगै एसएसपी बास्तोला कर्णालीमा खटिएका छन्। एसएसपी बास्तोलाले कर्णालीको सुरक्षाको जिम्मा पाएकै हप्तामा अराजक गतिविधि र घटनाले चुनौती थपिदिएको छ।

यसअघि घटना हुदैँ नभएका भने होइन्। यद्यपी, चर्चा बटुल्ने घटना भने हुन सकेका थिएनन्। पछिल्ला यी घटनाका श्रृंखलाले भर्खरै प्रदेश हाँक्ने जिम्मेवारी पाएका बास्तोलाले निर्वाचनको संघारमै शान्ति सुरक्षामा कस्तो सन्देश प्रवाह गर्लान्। अहिले भइरहेका घटनाका श्रृंखला रोकिन्छन् की अझ बढ्छन् प्रश्न उब्जिएको छ।

नेपाल प्रहरीको डिआईजी प्रदेश प्रहरी प्रमुख हुने व्यवस्था छ। सामान्य अवस्थाको सुरक्षा योजनाले नपुग्ने बेला एसएसपीले हाँकेको सुरक्षा कमाण्ड निर्वाचन लक्षित सुरक्षा रणनीति कस्तो छ त?

निमित्त प्रमुख (एसएसपी) बास्तोलाले छिटफुट घटना भएपनि निर्वाचन सुरक्षा रणनीतिलाई मजबुत बनाएको दावी गर्छन्। भौगोलिक विकटताले कर्णालीको शान्ती सुरक्षामा चुनौती थपेको भएपनि शान्ति सुरक्षा कायम गर्न अधिकतम प्रयास गरेको उनको भनाई छ।

‘एकै चरणमा हुने निर्वाचन भएकाले प्रदेशमा उपलब्ध जनशक्ति विगतको भन्दा कार्यालय व्यवस्थापनमा कम र निर्वाचनमा अधिकतम परिचालन गरिएको छ’ उनले भने,‘मतदान केन्द्रको संवेदनशीलताको आधारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी परिचालन भएको अवस्था छ, प्रचार प्रसारका क्रममा उग्र बनेकाहरुबाट छिटफुट घटना भएका हुन्।’

रुकुमपश्चिममा घटना बढ्न सक्ने भन्दै डिएसपीको कमाण्डमा थप सुरक्षाकर्मी खटाएको र सोही बमोजिमको आदेश भएको उनको भनाई छ।

जुनसुकै घटनामा संलग्न आरोपितहरुलाई नियन्त्रणमा लिने र कानुनी कारवाही गरिने बताए। मतदान केन्द्रमा मतपेटीका र मतपत्र पठाउन भन्दा पनि मतदान पछि मतगणना स्थलसम्म ल्याउन चुनौती रहेको उनको आंकलन छ। ‘मतपेटिका र मतपत्र पठाउन भन्दा पनि मतदान पछि मतगणना स्थलसम्म ल्याउन चुनौती देखिन्छ’ उनले भने।

विकट हिमाली जिल्लाहरुका मतदान केन्द्रमा हेलिकोप्टरको प्रयोग गरिने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell