PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

स्थानीय तह निर्वाचन : तथ्यांकमा महिला र पुरुष उम्मेदवार



विधुर ढकाल

स्थानीय तह निर्वाचन : तथ्यांकमा महिला र पुरुष उम्मेदवार

काठमाडौं : पाँच दिनपछि हुने स्थानीय तह निर्वाचनमार्फत ७५३ पालिकामा १ हजार ५०६ जना प्रमुख र उपप्रमुख, ६ हजार ७४३  जना वडा अध्यक्ष र हरेक वडामा चारजनाका दरले २६ हजार ९७२ जना सदस्य निर्वाचित हुँदै छन्। स्थानीय तह निर्वाचनका लागि बैशाख ११ र १२ गते भएको मनोनयनमा कार्यक्रम अन्तर्गत एक लाख ४५ हजार १० जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगको पछिल्लो तथ्यांकमा उल्लेख छ।

मनोनयन दर्ता गराएका झण्डै दुई-तिहाइ पुरुष उम्मेदवार रहेका छन्। निर्वाचन कार्यविधिमा हरेक राजनीतिक दलले मनोनयन दर्ता गराउँदा महिलालाई प्राथमिकतामा राखेका छैनन्। मनोनयन दर्ता गराएका मध्ये ५५ हजार ६९६ जना महिला रहेको आयोगको तथ्यांकले देखाउँछ। जुन ३८.४ प्रतिशत मात्र हो। पुरुष उम्मेदवार ८९ हजार ३१४ छन्। यो ६१.६ प्रतिशत हो।

महिला उम्मेदवारमध्ये दलित महिला वडा सदस्य र महिला वडा सदस्यसमेत जोडिएको छ। उम्मेदवारी दिएका ५५ हजार ६९६ महिला उम्मेदवारमध्ये ४८ हजार ८८४ जना महिला सदस्य र दलित महिला सदस्यका उम्मेदवार हुन्। जुन कुल महिला उम्मेदवारको ८७.८ प्रतिशत हो। पालिका प्रमुख, वडा अध्यक्ष, खुला सदस्यमा जम्मा १२.२ प्रतिशत मात्र महिला उम्मेदवार छन्।

निर्वाचन आयोगको तथ्यांक हेर्दा महिला र दलित महिला सदस्य छाडेर खुला पदमा जम्मा ७.१ प्रतिशत महिला उम्मेदवार छन्। बाँकी ९२.९ प्रतिशत पुरुष उम्मेदवार रहेका छन्।

महिलाहरु उप मै सिमित

आयोगको तथ्यांक अनुसार महानगर, उपमहानगर र नगरपालिकाका प्रमुखमा तीन हजार २३८ जनाको उम्मेदवारी परेको छ। जसमध्ये तीन हजार ९ जना पुरुष छन्। जुन ९२.९ प्रतिशत हो। प्रमुख पदमा ७.१ प्रतिशत अर्थात २२९ जना मात्र महिला उम्मेदवार छन्।

उपप्रमुखमा भने महिला बढी छन्। उपप्रमुखमा एक हजार ४३४ महिला उम्मेदवार हुँदा ५३० पुरुष उम्मेदवार छन।

त्यस्तै, गाउँपालिका अध्यक्ष पदमा महिला उम्मेदवारको संख्या ५ प्रतिशत मात्र छ। तीन हजार ९२ अध्यक्षका उम्मेदवार मध्ये जम्मा १५५ जना महिला मात्र छन्। बाँकी दुई हजार ९३७ जना पुरुष छन्।

दुई हजार १६३ जना उपाध्यक्ष पदका उम्मेदवार मध्ये एक हजार ६४३ जना महिला उम्मेदवार छन्। जुन ७६ प्रतिशत हो। उपाध्यक्ष पदमा २४ प्रतिशत उम्मेदवार पुरुष छन्।

वडा अध्यक्षमा २.८ प्रतिशत मात्र महिला

यता देशभरका ६ हजार ७४३ वडा अध्यक्ष पदका लागि ३२ हजार ४९६ जना उम्मेदवार छन्। जसमध्ये ३१ हजार ५४९ जना पुरुष छन्। जुन  ९७.२ प्रतिशत हो। वडाध्यक्ष पदका लागि जम्मा ९२० जना महिला उम्मेदवार रहेका छन्। जुन २.८ प्रतिशत हो।

खुला दुई सदस्य पदका लागि पनि महिला उम्मेदवारको संख्या न्यून छ।

खुला वडा सदस्यका लागि ५३ हजार १७३ जनाले मनोनयन दर्ता गरेका छन्। जसमध्ये ४.६ प्रतिशत मात्र महिला छन्। दुई हजार ४०५ जना महिला उम्मेदवार हुँदा खुला सदस्य पदका लागि ४९ हजार ७६९ जना पुरुष उम्मेदवार छन्। यो संख्या यस पदका लागि दर्ता भएका कुल मनोनयनको ९५.४ प्रतिशत हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell