PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

चाँगुनारायणमा एमालेबाट प्रमुखकी उम्मेदवार विणा, ‘जनताकहाँ गएर नमस्कार गर्ने हो, अनुभव छ जित्छु’



लक्ष्मी बलायर

चाँगुनारायणमा एमालेबाट प्रमुखकी उम्मेदवार विणा, ‘जनताकहाँ गएर नमस्कार गर्ने हो, अनुभव छ जित्छु’

काठमाडौं : २०७४ सालको स्थानीय तह निर्वाचनमा भक्तपुरको चाँगुनारायण नगरपालिकाको उपप्रमुखमा विजय भएकी विणा वास्तोला यसपटक नगर प्रमुखकी उम्मेदवार छिन्। नेकपा (एमाले)बाट प्रमुखको टिकट पाएसँगै चुनावी अभियानमा होमिएकी उनी अहिले घर दैलोमा व्यस्त छिन्।

पाँच वर्ष उपप्रमुखको कार्यभार सम्हालेकी ६० वर्षीय बास्तोला आफू अनुभवी भएकै कारण जित सुनिश्चित भएको बताउँछिन्। ९ जना पुरुष प्रतिष्पर्धीलाई पछि पार्दै प्रमुख पदको टिकट पाएकी विणालाई पहिलोपोस्टकी संवाददाता लक्ष्मी बलायरले सोधिन् :

चुनाव आउन थोरै दिन बाँकी छ, कत्तिको दौडधुप छ?

हामी पाँच/छ वडाको घरदैलो कार्यक्रममा गइसक्यौँ। सबैको घरमा जान नभ्याएको बेला चोक र टोलसभा गरेर जनतासँग भेट गरिरहेका छौँ। २६ गतेसम्म चाँगुनारायणका सम्पूर्ण वडामा घरदैलो गर्ने कार्यक्रम छ। भोट माग्न मेरो परिवार नै खटेको छ।

घरदैलोमा जाँदा जनताको आशा के रहेको पाउनुभयो?

प्रचारप्रसारको माहोल राम्रै छ। घरदैलो पुग्दा सबैजना निकै खुसी हुनुहुन्छ। महिला मेयर भनेर सबैले ओहो भन्नुहुन्छ। महिला दिदीबहिनीहरू हामी छौँ भन्नुहुन्छ। आमाबुबाले पनि यसरी नै टिका, माला र खादा लगाउन पाउँ भन्दै आर्शिवाद दिनुहुन्छ। उहाँहरूको मायाले म दंग छु। यो माया मेलै पाँचवर्षमा गरेका राम्रा कामहरूको परिणाम हो। 

मेयरमा उठ्न के कुराले आँट दियो?

यसअघि नै मैले उपमेयरको जिम्मेवारी निभाइसकेकी छु। पाँचवर्ष उपमेयर हुँदा मैले छ पटक कार्यवाहक मेयरको जिम्मेवारीको अवसर पाएकी थिएँ। अनुभव बटुलिसकेपछि महिलाले प्रमुख पदमा किन नदिने भन्ने भयो। अनुभवले नै हो मलाई मेयरमा उठ्ने आँट दिएको।

मेयरको टिकट पाउन कसरी सम्भव भयो?

एमालले सधैँ महिलालाई प्राथमिकतामा राख्छ। तर, मैले महिला भएकै कारण मेयरको उम्मेदवारी भने पाएकी होइन। काम गरेको अनुभव र क्षमताको कारण मैले प्रमुख पदको टिकट पाएकी हुँ।

चाँगुनारायण नगरपालिकाबाट प्रमुख पदको लागि एमालेबाट १० जनाको नाम गएको थियो। जसमा ९ जना पुरुष र म एउटै महिला। तर, पार्टीले मेरो अनुभव हेरेर मेरो नाम नै छान्यो।

विसं २०५४ सालको निर्वाचनमा वडा महिला सदस्यमा जितेको थिए। त्यसपछि आखिल नेपाल महिला संघमा वडा कमिटीको अध्यक्ष हुँदै विभिन्न तह पार गरेर काम गरेकी छु। म पार्टीले टपक्क टिपेर ल्याएको व्यक्ति होइन।

पाँच वर्षमा के-के काम गर्नु भयो र अबको योजनाहरू के छन्?

हामीले यसअघिका पाँच वर्षमा राम्रा काम गरेका थियौँ। 'बचत खाता छोरीको, सुरक्षा जीवन भरिको'सुरूवात हामीले नै गरेका हौँ। विशेषगरी शिक्षाका क्षेत्रमा हामीले काम गरेका थियौँ। स्थानीय पाठ्यक्रम निर्माण कार्यान्वयन लगायत चारजना इन्जिनियरलाई छात्रवृत्ति दिनुका साथै एमबीबीएस पढ्ने दुई जनालाई नि:शुल्क पढाएका थियौँ। चाँगुनारायण अस्पतालको स्थापना र महिलाका लागि सिपमुलक तालिमको व्यवस्था गर्न सफल भएका थियौँ।

हामीले विभिन्न कार्यक्रमका साथै ऐन-कानुनहरू पनि बनाएका छौँ। तर, दुई वर्ष कोरोनाले गर्दा चाहेको जति काम भने हुन सकेन। त्यहि पुराना र पूरा हुन नसकेका कामहरूलाई निरन्तरता दिनको लागि मेरो उम्मेदवारी हो। पुराना कामलाई निरन्तरता दिनुका साथै यसपटक पनि शिक्षामा नै बढी जोड दिने योजना छ। जनताको क्षमता अभिवृद्धि गर्ने, सामुदायिक विद्यालयमा डिजिटल माध्यमबाट शिक्षण सिकाई गर्ने, नमुना विद्यालय बनाउने र छात्रवृत्ति दिने कामहरु गर्ने छौँ। यसबाहेक बाटो निर्माण गरी महिला हिंसाको अन्त्य गर्ने योजनाहरू पनि हामीसँग छन्।

अन्य पार्टीका प्रतिस्पर्धीभन्दा तपाईँको जित्ने आधार के?

हुनत सबै जना जित्छु भनेर नै उठेका हुन्छन्। तर म अरूभन्दा अनुभवी छु। मसँग यसअघि जित र काम गरेको अनुभव छ। मेरो जित्ने पहिलो आधार भनेकै मेरो अनुभव हो।

पहिले भोट दिएका जनताले फेरि भोट दिनुहुन्छ भन्ने विश्वास छ। जसकारण डर लागेको छैन। अनुभव र जनताको विश्वास नै मेरो जितको आधार हो। अरू दायाँबायाँ गर्न आउँदैन्। जनताको घरमा जाने हो नमस्कार गर्ने हो। नमस्कारको केही उपलब्धि होला भन्ने विश्वास लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell