PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एमालेले संसद अवरोध कायम राख्ला कि हटाउँला? सरकारको तयारी के?



प्रकाश भण्डारी

एमालेले संसद अवरोध कायम राख्ला कि हटाउँला? सरकारको तयारी के?
फाइल फोटो : प्रतिनिधिसभामा एमालेको अवरोध

काठमाडौं : मन्त्रिपरिषदको आइतवारको बैठकले जेठ ३ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ। जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि हुने छलफलका लागि सरकारले अधिवेशन बोलाउन सिफारिस गरेको हो।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने २०७८ भदौ २३ गते यताका सबै बैठकमा अवरोध कायमै राखेको छ। माधवकुमार नेपाल सहितका ११ सांसदलाई एमालेले गरेको कारवाही सदर गर्नुपर्ने माग राखेर एमालेले प्रतिनिधि सभाको बैठकमा अवरोध गर्दै आएको थियो। सभामुख अग्नि प्रसाद सापकोटाकै राजीनामा मागेर एमालेले संसदलाई चल्न दिएको छैन्।

यसअघि सरकारले विभिन्न विधेयकहरुलाई एमालेको अवरोधकै बिच अघि बढाएको थियो। मिलिनियम च्यालेन्ज कर्पोरेशनलाई प्रतिनिधि सभाबाट अनुमोदन गरेपछि चैत १ गते सरकारले संसदको अधिवेशन अन्त्य गरेको थियो। यस्तै, प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जवराविरुद्धको महाअभियोग पनि संसदमा दर्ता भएको थियो। 

जेठ ३ गते के गर्ला एमालेले?

प्रतिनिधि सभाको जेठ ३ गतेको बैठकमा अवरोध गर्ने कि हटाउने भन्नेमा एमालेले प्रष्ट धारणा बनाइसकेको छैन्। एमालेको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले अहिले चुनावमा केन्द्रित भएकाले अवरोध हटाउने कि कायम गर्ने भन्नेमा धारणा नबनेको बताए।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लगतै एमालेले अवरोधबारे निर्णय गर्ने भट्टराईको भनाइ छ। तर, पुरानै अडान कायम रहेकाले अहिले नै अवरोध हटाउने स्थिति नभएको उनको भनाइ छ।

'चुनाव अघि के गर्ने भन्नेबारे केहि भएको छैन। जे अडान छ त्यसमै कायम छ। अब सरकार पक्ष के कसरी प्रस्तुत हुन्छ त्यसका आधारमा पनि निर्णय हुन्छ होला,'उनले भने।

यसअघि दुई अधिवेशनलाई अवरोध गरेको एमालेले बजेट अधिवेशनमा पनि सरकारले आफ्ना माग पुरा नगरे अवरोध कायमै राख्ने एमालेका नेताहरु बताउँछन्। सत्तारुढ दलहरुले पनि एमालेको माग पुरा गर्न नसकिने बताइरहेका छन्। सभामुख सापकोटाको राजीनामाको माग पुरा हुनेखालको नभएको सत्ता घटक दलका नेताको भनाइ छ।

सरकारको तयारी के छ?

सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलकी प्रमुख सचेतक पुष्पा भुसालले अबको संसद बैठकमा प्रि-बजेटबारे छलफल हुने जानकारी दिइन।

सरकारको नीति तथा कार्यक्रममा संसद बैठक केन्द्रित हुने उनको भनाइ छ। 'प्रि बजेट छलफल र सरकारको नीति तथा कार्यक्रमका लागि सरकारले अधिवेशन बोलाउन लागेको हो,'उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell