
काठमाडौं : जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पूर्व तयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन्।
बगांलको खाडीमा बैशाख २३ गते देखि उत्पन्न न्यून चापिय अवस्था आइतवारको दिन समुन्द्री आँधीको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्व तयारी गर्न विज्ञहरुले सुझाएका हुन्।
पछिल्लो विकसित प्रणालीबारे जलवायुविद् डाक्टर धर्मराज उप्रेतीले आसानी नाम दिइएको सो आँधी निकै तिव्र गतिमा चलेको बताए। सो आँधीको असर भारतको उडिसालगायत तटिय क्षेत्रमा बढी देखिने र नेपालमा भने बैशाख २८ गतेदेखि प्रभाव देखिने उनले बताए।
बैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन वर्षा हुने पूर्वानुमान गरिएकै समयमा बंगालको खाडीमा विकसित भएको न्यून चापिय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा हुने सक्ने उनले बताए।
उनले भने, ‘समुद्री आँधीको प्रभाव नेपालको पूर्वीय भागमा खास गरेर बैशाखको २७ गते रातिदेखि २८, २९, ३० मा अलि बढी देखिने सम्भावना अहिलेसम्मको आँकलनबाट देखिएको छ। उसैपनि बैशाखको अन्तिम र जेठको पहिलो, दोस्रो सातासम्म बढी पानी पर्ने अवस्था थियो। र, अहिले नयाँ प्रणालीले गर्दाखेरी हाम्रो चुनावको मुखमा पानी पर्ने र चुनावको मुखमा पानी पर्दाखेरी त्यसले मतदान प्रक्रियामा पनि केही असर गर्न सक्ने भएको हुनाले पहिलादेखि नै पूर्व तयारी गर्नुपर्छ होला भन्ने सुझाव छ।’
जलवायुविद् डा उप्रेतीले निर्वाचनको दिनमा पानी पर्ने सम्भावनालाई मध्येनजर गर्दै मतपत्र, मतपेटिका लगायतको सुरक्षामा ध्यान दिन सुझाव दिएका छन्।
उनले भने, ‘मत पेटिकाको सुरक्षा या मतदान गर्ने केन्द्रमा पनि पानी पर्छ भन्ने हिसाबले, नपर्न पनि सक्छ, कुनै ठाउँमा पर्ने, कुनै ठाउँमा नपर्ने खण्डवृष्टि पनि हुन सक्छ। त्यसले गर्दा हामीले तयारी अवस्थामा बस्नुपर्ने आवश्यकता छ। पानीमा मतदाता पनि भिज्न सक्ने अवस्था हुनसक्छ। मतपत्र पनि भिज्न सक्ने अवस्था हुनसक्छ। यसलाई समेत सुरक्षाको दृष्टिकोणबाट पूर्व तयारी गर्न आवश्यक छ भनेर मैले सुझाव दिन सक्छु।’ -न्युज एजेन्सी नेपाल