
हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दलहरु सुध्रिन नसकेको आरोप लगाएका छन्।
जनताले पटकपटक नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई मत दिएर सत्तामा पुर्याए पनि ती दलले काम नगरेको उनको दाबी थियो। हेटौंडामा आयोजित सभामा उनले स्थानीय तह निर्वाचनका लागि राप्रपाले भोट मागेको तर अर्को चुनावबाट जनताले काम हरेर आफूहरुलाई जिताउने ठोकुवा गरे उनले।
‘देश विकास गर्न कांग्रेस, एमाले र माओवादीले पटकपटक मौका पाए तर देशको भविष्य अन्धकारमात्र बनाए। भोट नोटमा होइन अब सक्षम व्यक्तिलाई बुझेर दिनुपर्छ,’ लिङ्देनले भने, ‘एक पटक राप्रपालाई भोट दिनुहोस्। अर्को पटकदेखि हाम्रो कामले भोट माग्नेछ।’
महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडामा मत माग्न पुगेका लिङ्देनले राप्रपाले हेटौंडा जिते स्थानीय तह कस्तो हुँदो रहेछ भनेर हेर्न देशभरका मानिस आउने शहर बनाउने बताए।
उनले स्थानीय तह निर्वाचनमा ठुला दलको बाकस खाली गर्न आह्वान गर्दै भने सत्ताको स्वाद चाखेका दलहरुको बाकस खाली नगरेसम्म नेपालमा भ्रष्टाचार अन्त्य नहुने र देशले विकासको मूल फुटाउन नसक्ने बताए।
यस्तै, राप्रपा केन्द्रीय उपाध्यक्ष बुद्धिमान तामाङले हेटौंडा उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले डोजर र जग्गा प्लटिङको मात्र विकास गरेको टिप्पणी गरे। सभामा उनले आफूले हेटौंडामा स्वास्थ्यको समस्या धेरै समयअघिबाट देखेको तर यहाँका नेता र निर्वाचित जनप्रतिनिधिले समस्या समाधानका लागि पहल गर्न नसकेको आरोप लगाए।
राप्रपाले हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा दीपकबहादुर सिंहलाई उम्मेदवार बनाएको छ। चुनावी सभामा प्रमुख पदका उम्मेदवार सिंहले निर्वाचित भए हेटौंडालई भ्रष्टाचारमुक्त बनाउने बताए। साथै, शिक्षा र स्वास्थ्य क्षेत्रको आधारभूत विकास र हेटौंडालाई देशकै नमूना शहर बनाउने बताए।