ललितपुर : चुनाव जित्न के चाहिएला? स्वाभाविक उत्तर हुनसक्ला-बलियो संगठन, लोकप्रिय नारा र पैसा। संघीय लोकतान्त्रिक गणतन्त्रमा चुनाव असाध्यै महँगो भइसकेको छ। तर, ललितपुरका नरसिंह व्यञ्जनकार अपवाद हुन् संगठन, नारा र पैसाको मामिलामा। पैसा, बलियो पार्टीमात्रै होइन चुनावी नारा र घोषणापत्र पनि छैन उनको। छ त १० पटक वडा अध्यक्षमा जितेको विरासत। जित पर्याय नै हो उनका लागि। किनभने हारेको अनुभव नै छैन। स्वतन्त्र उम्मेदवारी दिने र जितिहाल्ने व्यञ्जनकारलाई चुनाव कहिल्यै चुनौती भएन।
ललितपुर कुपन्डोलको हनुमानथान मन्दिर पछाडि पुस्तक पसलमा उनी भेटिन्छन् अधिकांश समय। पुस्तक पसलमा बस्ने। गफ गर्ने अरु बेलामा घुम्ने दैनिकी हो व्यञ्जनकारको। शनिवार दिउँसो पनि उनी पुस्तक पसलमै भेटिए। हरियो प्लास्टिकको कुर्सीमा बस्नुअघि सोधे - फोटो खिच्नु पर्छ?
समाचारका लागि फोटो खिच्नुपर्ने भएपछि ‘गेट अपमा’ अलि ध्यान दिए। उनी दौरा सुरुवाल र टोपीमा ठिकठाकै छन्। चुनावको दौडधुपबाट समय निकालेर हस्याङफस्याङ गर्दै आइपुगेका पनि होइनन्। किनभने उनको घरदैलो कार्यक्रम नै रहेनछ।
‘म प्रचारप्रसारमा पनि गएको छैन। भोट माग्न पनि हिँडिन। घरदैलो पनि छैन्,’ चुनावी प्रतिस्पर्धाको होडबाजीकै बिच पनि फुर्सदिला देखिए यी उम्मेदवार।
हार्न नजान्ने…
२०२९ सालबाटै हो व्यञ्जनकारले जितको श्रीगणेश गरेको। राजनीतिको पहिलो पाइला नै जितमा कन्भर्ट भयो। ५० वर्ष अघि ललितपुर नगर पञ्चायत जित निकाले व्यञ्जनकारले। अहिले वडा नम्बर १० का अध्यक्षका उम्मेदवार हुन् उनी। उहिले र अहिलेको चुनाव खासै भिन्न लागेको छैन् व्यञ्जनकारलाई।
‘त्यतिबेला पञ्चायतको बेला थियो। म तन्नेरी थिएँ। अहिले बुढो भएँ। चुनाव त उस्तै हो,’ व्यञ्जनकार सम्झन्छन्।
२०३४ मा गाउँ फर्क अभियान लागू हुँदा उनी नै वडा अध्यक्ष छानिए। २०३९ मा पनि व्यञ्जनकारकै पोल्टामा आयो वडा अध्यक्षको जिम्मेवारी। २०४० मा नगरपालिका भवन बनाउने विषयमा प्रधानपञ्चसँग झगडा भएपछि राजीनामा गरे वडा अध्यक्षबाट। अठोट थियो- अब वडा अध्यक्ष नै नहुने। तर, वडा अध्यक्ष नभइ धर मिलेन।
‘म वडा अध्यक्ष नै नहुने भनेर मन्दिरमा आएर बसेको थिएँ। मेरो टोलका केटाहरु आएर तपाईँ वडा अध्यक्षको उम्मेदवार हुन्छु भनेर कागजमा साइन नगरेसम्म जान्नौँ भनेपछि फेरि बनेँ,’ उनले सुनाए।
२०४१ को उपचुनाव र २०४३ मा भएको निर्वाचनमा पनि व्यञ्जनकार नै विजयी भए। त्यसपछि भने उनलाई कांग्रेसले तान्यो। स्वतन्त्र उम्मेदवारको यात्रामा ब्रेक लाग्यो। २०४९ को निर्वाचनमा उनी कांग्रेसबाट उम्मेदवार बने, निर्विरोध वडा अध्यक्ष। तर, कांग्रेसमा टिकिरहने वातावरण भने बनेन।
‘कांग्रेसमा चित्तै बुझेन। उनीहरुको अनुसार म हुन सकिनँ होला,’ व्यञ्जनकारले सुनाए।
२०५४ सालको चुनावमा फेरि वडा अध्यक्ष बने। त्यसपछि अर्को चुनाव हुन झन्डै २० वर्ष नै लाग्यो। तर, व्यञ्जनकारको वडा अध्यक्ष यात्रा भने टुंगिएन। २०७४ मा पनि वडा अध्यक्षको चुनाव जिते। ह्याट चुनाव चिन्हबाट व्यञ्जनकारले ६ सय ९१ मत ल्याए। कांग्रेसका कर्मलाल व्यञ्जनकारको ५ सय ९४ मत थियो।
भतिजोसँग आमने सामने
५० वर्षसम्म वडा अध्यक्ष भइसकेका व्यञ्जनकारका लागि अहिलेको चुनाव अलि भिन्न लागिरहेको छ। कारण- भतिजा रविन प्रतिस्पर्धी छन्। भतिजासँग चुनावमा भिड्नुपर्दा सन्तुष्ट भने छैनन्। कांग्रेसले आफ्नो घर फुटाएको अनुभूति भएको छ उनलाई।
‘मैले म उम्मेदवार हुन्नँ। अब कति हुने? नयाँ मान्छे पनि आउनुपर्छ भनेर बसेको। तर, कांग्रेसकै मान्छेहरु तपाईँ नभएर हुन्छ? जसरी पनि हुनुपर्यो भनेर उम्मेदवारी दिन लगाए। भतिजोलाई पनि उम्मेदवारी दिन भनेका रहेछन्। अब म उम्मेदवार हुने भनिसकेपछि पछि हट्ने कुरा भएन,’ व्यञ्जनकारले भने।
भतिजा रविन वडा अध्यक्षको उम्मेदवार भएपछि व्यञ्जनकारलाई भेट्न आइपुगेका थिए। भतिजालाई कांग्रेसले नै हराइदिने भन्दै झस्काइदिए उनले।
‘अहिले चुनावमा राम्रैसँग लागिरहेको छ। म कहाँ आएको थियो आशिर्वाद चाहियो भनेर। मैले अब तलाईँ कांग्रेसले नै हराउँछ भनेँ,’ व्यञ्जनकार सुनाए।
२०४९ को निर्वाचनमा कांग्रेसबाट वडा अध्यक्ष बनेका उनलाई त्यसयता राजनीतिक दलले पार्टीमा बोलाउने आँट भने नगर्ने रहेछन्। दलहरुले वडामा भाग मिलाउन मुस्किल हुने भएपछि उनलाई पार्टीमा आउन जोरजुलुम नगरेको बुझाइ छ व्यञ्जनकारको।
सधैँ वडा अध्यक्ष भइरहने व्यञ्जनकार किन मेयरको उम्मेद्वार भएनन् त?
जवाफ रेडिमेड नै छ – 'मेयरमा क्षमता छैन। पढेलेखेको हुनुपर्छ। विदेशी आउँछन्। उनीहरुको भाषा बोल्नुपर्छ। अनुभव मात्रै भएर भएन। म कुनै स्कुल भर्ना भइन। लेख्नपढ्न अलिअलि आउँछ।'
वडा अध्यक्षमा पनि उनले रुची गरेरे उम्मेदवारी दिने होइन रहेछ। चुनावमा जनताहरुले नै माग गरेपछि उम्मेदवारी दिने गरेको सुनाए। 'तिमी नछोड भनेर भन्छ सबले,’ उनले भने।
‘पर्चा पम्पलेट छापेको छैन’
व्यञ्जनकारको खातामा सधैँ जित हुनुको पछाडि जनताको माया भएको बताउँछन्। कसैलाई अप्ठेरो परेको थाहा पाउनासाथ घरमै पुगिहाल्ने पुरानै बानी हो व्यञ्जनकारको। त्यसैले फिक्री छैन नयाँ पुस्ताले मत नहाल्ला कि भन्ने।
‘थाहा भएपछि म पुगिहाल्ने हो। मेरो व्यवहार जनतालाई थाहा छ। मत किन माग्नु पर्छ र मैले? यसलाई जिताएमा हाम्रो काम रोक्दैन भन्ने भएकाले मलाई जिताएका छन्,’ चुनाव जित्ने आइडिया खुलाए व्यञ्जनकारले।
अघिल्लो कार्यकाल भने उपलब्धिमूलक लागेको छैन व्यञ्जनकारलाई। उल्लेख्य काम गर्न नसकिएकोमा खिन्न पनि छन् उनी। कोभिड-१९ को संक्रमणले काम गर्ने वातावरण बनेन। ‘यो ५ वर्षमा त काम गर्न सकिनँ। किनभने कोरोनाकाल लाग्यो। काम गर्दाखेरी इन्जिनियर चाहिन्छ। इन्जिनियर छैन। खायो बस्यो। वडामा आयो सिफारिस गर्यो त्यत्ति हो,’ आफ्नो कार्यकाल बारे व्यञ्जनकारको समीक्षा निर्मम सुनियो।
२०२९ सालमा हनुमानथानदेखि कालोपुल सम्मको बाटो खोल्नु उनको वडा अध्यक्ष बन्दा पहिलो काम बन्यो। २०२९ सालमै ‘फ्रेण्डस क्लब’को स्थापन अर्को काम।
उनको अर्को विषेशता हो चुनावमा पैसाबाट टाढै रहने। अहिलेसम्म कुनै पनि चुनावमा खर्च नगरेको दाबी छ व्यञ्जनकारको। कहिल्यै घोषणापत्र बनाएर चुनावमा भोट माग्न गएका छैनन्। पर्चा पम्पलेट छाप्ने झन्झटबाट पनि मुक्त।
‘अहिलेसम्म खर्च गरेर चुनाव लडेको छैन। पर्चा पम्पलेट कसैले छपाएर ल्याइदिन्छ। यस पटक त पर्चा पम्पलेट पनि ल्याएको छैन। कतैकतै मात्रै भोट माग्न गएको हो। तपाईँ जित्नुस् भन्छ त्यही हो। मैले पनि यो गर्छु त्यो गर्छु भनेको छैन,’ व्यञ्जनकारले चुनावी तयारीबारे सुनाए।
'चिरिबाबुले गुरु मान्छन्'
उनीसँग बेखुस हुनेमा कांग्रेसका मान्छेहरु धेरै छन्। किनभने कांग्रेसलाई सहयोग नगरेको आरोप छ व्यञ्जनकारमाथि। तर, ललितपुर महानगरका निवर्तमान मेयर चिरिबाबु महर्जन भने गुरु मान्छन् उनलाई। महर्जनसँग काम गर्न सजिलो भएको अनुभव छ व्यञ्जनकारको।
‘रिसाउने मान्छेहरु भइहाल्छन्। अरु रिसाएका छैनन् कांग्रेस मात्रै रिसाएको छ। कांग्रेसलाई सहयोग गरेन भनेर पनि होला। चिरिबाबुसँग काम गर्न त सजिलो छ नि। उनले भाषण गर्दा मलाइ गुरु भन्छ,’ व्यञ्जनकारले सुनाए।
५० वर्षे वडा अध्यक्ष यात्रामा व्यञ्जनकारले गरेको अर्को सम्झनलायक काम हो - यु एन पार्क बनाउने। पार्क बनाउनका लागि जग्गाको लफडा पर्दा सजिलै फत्ते गरिदिए व्यञ्जनकारले।
नेपाल संयुक्त राष्ट्रसंघमा गएको ५० वर्ष पुगेको अवसरमा युएन पार्क बनाउने निर्णय भएको थियो। पार्क बनाउनलाई जग्गा चाहिएपछि त्यतिबेलाका नगर विकासको हाकिमले व्यञ्जनकारलाई गुहारे। जमिनको बन्दोबस्त पनि भयो तर, कठिनाइ आइपर्यो भूमाफियाका कारण।
‘हाकिमले लौन दाइ भने। मैले पास गरेँ। भूमाफियाले लालपुर्जा लिइदियो। लालपुर्जा लिएपछि त मलाइ त फसाद नै भयो नि,’ व्यञ्जनकार कठिनाइका दिन सम्झिए।
उनी माफियासँगको लडाइबाट पछि हटेनन्। ‘मेरो एक जना साथी इन्द्रकुमार श्रेष्ठ विशेष प्रहरीमा चिफ भएर बसिरहेको रहेछ। त्यसपछि मालको हाकिमलाई बोलाएर क्यान्सिल गर्छस् कि थुनम् भनेपछि क्यान्सिल भयो लालपुर्जा। पार्क बनाउँदाखेरी किसानहरुलाई हटाउन अप्ठेरो भयो। अहिले पनि राम्रो व्यवस्था गर्न सकिएको छैन। कहिले के कहिले के भइरहन्छ,’ व्यञ्जनकारले भने।
अहिले वडाबासीलाई सबैभन्दा बढी समस्या ढल र खानेपानीको छ। त्यसको कारण उनी भुगोललाई पनि दिन्छन्। पाटन र काठमाडौंको पुच्छरमा कुपन्डोल भएकाले काम हुन नसकेको मत छ उनको।
‘हेटौँडा र वीरगंज पनि गएको छैन’
व्यञ्जनकारका लागि आफ्नो वडा नै सबैथोक हो। बिहानदेखि बेलुकैसम्म वडाबासी सँगै हुन्छन् व्यञ्जनकार। उनले उपत्यका कहिल्यै छाडेनन्। वीरगंज र हेटौँडा पनि पुगेका छैनन् उनी। तर, उनी एक पटक विदेश भने पुगेका छन् साथीको करकापमा।
‘एक जना साथीले असाध्यै कराएपछि बैंकक भने गएँ पासपोर्ट र भिसा बनाएर,’ उनले भने।
टिभी र पत्रिका पनि हेर्न छोडेका छन् व्यञ्जनकारले। कारण दिग्दारी।
‘समाचारमा यो भएन त्यो भएन भन्छ। जनताका दु:ख कति पाइरहेको छ। पैसा हुनेले काम गर्यो। बाँकीले के काम गर्ने?,’ अहिलेको राजनीतिक अवस्थाबारे आक्रोशित सुनिए उनी।
अहिले जनतालाई सिफारिस लिनै मुस्किल भएको अनुभव छ उनीसँग।
सर्वसाधारणको सिफारिस आएमा सजिलै साइन गर्ने। घरमै गएर सिफारिस बनाइदिने व्यञ्जनकारको वडा अध्यक्ष जित्नुको अर्को आधार हो। किनभने उनी जति सजिलो वडा अध्यक्ष पाउन मुस्किल छ वडावासीलाई। तर, पैसाको प्रलोभन देखाउनेको काम गर्दा भने व्यञ्जनकारको कलमको मसी नै नसर्ने सुनाए।
‘घुस दिएर काम गराउन खोज्नेहरु पनि हुन्छन्। मैले सुरुमै भन्दिन्छु त्यसको काम हुँदैन। हेरेरै थाहा पाउँछु। चिया खुवाउन खोज्छ। त्यस्तोले आफ्नो सिफारिस बनाउन मलाई किन चिया खुवाउने? मैले धेरैको सिफारिस हेर्दिनँ। तर बदमासको सिफारिस आएमा मसी सर्दैन के! मसी नसेरपछि त हेर्न पर्यो,’ आफ्नो काम गर्ने तरिका सुनाए उनले। उनीकहाँ आउने धेरैजसो कलेजमा फिस तिर्न नसकेर भर्ना गर्न पाइएन भन्ने हुन्छन्, अस्पतालमा भर्ना गर्न नसकेर आउने पनि उत्तिकै।
‘स्कुलमा गएर 'भर्ना गरिदेउ उसले नतिरे म तिरुला' भनेपछि भर्ना भइहाल्छ। अस्पतालमा पनि भर्ना गर्न नमानेपछि मलाइ भन्छ। मैले भनेपछि एकछिनमै भर्ना लिन्छन्,’ व्यञ्जनकारले सुनाए।
दरबारमा ठेक्कापट्ट
अविछिन्न वडा अध्यक्ष बन्नुअघि दरबारमा काम गर्थे व्यञ्जनकार। ठेक्कामा थियो काम।
‘ज्ञानेन्द्रका दाजुभाइलाई राम्रोसँग चिन्छु। २०२६/२७ सालतिर दरबारमा काम गर्थेँ। वीरेन्द्र सरकारको बिहेमा जम्मै काम गरेको। ठेक्काको काम,’ दरबारसँगको साइनो खुलाए उनले।
दरबारमा पनि टिकिरहने वातावरण बनेन। अरुका लागि दरबार भन्नेबित्तिकै सर्वश्व लाग्ने समयमा उनी भने बाहिरिए। त्यहाँको हिसाबकिताब गडबड हुनथालेपछि उनलाई चित्त बुझेन। तीन वर्षसम्म गरेको काम छोडिदिए व्यञ्जनकारले।
दरबारबाट बाहिरिएपछि भने लावारिस! काम र मामको पिरलोमै बिते केही वर्ष।
‘म त झोक्राएर बस्ने भएँ। कहिले कता कहिले कता! डुलुवा नै बनेँ। कमाइ गर्न नसकेपछि बाउले अलग्गै राखिदिए। छोराछोरी साना। बुवाले भिन्नै राखेपछि साह्रै दु:ख भयो। श्रीमतीले तरकारी फलाएर बेचिन्। त्यसैबाट छोराछारी पढे,’ विगत सुनाए उनले।
४ छोरी र २ छोराका बुवा हुन व्यञ्जनकार। उमेरले चार बीसा पार भइसके। तै पनि जोशिला देखिन्छन् - नत्र चुनावको मैदानमा यति निर्धक्कको उम्मेदवार किन लाग्थे उनी?