PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

जेठ ४ गतेदेखि संसदमा प्रिबजेट छलफल, ७ गते नीति तथा कार्यक्रम



पहिलोपोस्ट

जेठ ४ गतेदेखि संसदमा प्रिबजेट छलफल, ७ गते नीति तथा कार्यक्रम
फाइल फोटो

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेसँगै संसद् सचिवालयले आन्तरिक तयारी थालेको छ। चुनावका कारण योपटक नियमित समयभन्दा ढिला अधिवेशन प्रारम्भ हुन लागेको हो। अघिल्ला वर्षहरुमा ढिलामा पनि वैशाख २५ अघि अधिवेशनका बैठक प्रारम्भ भएका थिए। 

अधिवेशन प्रारम्भसँगै संसद सचिवालयले सरकारसँगको परामर्शमा आन्तरिक कार्यतालिका तयारी गरेको छ। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाको भेटपछि प्रिबजेट छलफल, नीति तथा कार्यक्रमको आन्तरिक तयारी सचिवालयले गरेको थियो। 
प्रतिनिधि सभा नियमावलीले बजेट संसदमा पेश हुनुभन्दा १५ दिनअिघ प्रिबजेट छलफल सक्नुपर्ने व्यवस्था गरेको छ। जेठमा अधिवेशन आह्वान गरेपछि संवैधानिक सीमा अनुसार उक्त व्यवस्था कार्यान्वयनका लागि नियमावली निलम्बनको तयारी सचिवालयको छ। 

जेठ १५ गते बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। नियमावली तोकेको १५ दिनको अवधिलाई निलम्बन गरेर जेठ ४ गतेदेखि प्रिबजेट छलफलको तयारी सचिवालयले थालेको छ।   

सचिवालय स्रोतका अनुसार जेठ ३ गतेको बैठकमा अर्थमन्त्रीले बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्नेछन्। ४ गतेबाट त्यसमा छलफल हुनेछ। दुई दिनसम्म छलफल गरेपछि अर्थमन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ जेठ ६ गते दिनेछन्। 

दलीय परामर्शमा कार्यतालिकालाई अन्तिम रुप दिने सचिवालयको तयारी छ। 

तयारी अनुसार सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेश गर्नेछिन्। नीति तथा कार्यक्रमको छलफल पनि संक्षिप्त गर्ने तयारी गरिएको छ। 

अधिवेशन आह्वान भए पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को विरोध जारी रहने वा अन्त्य हुने निश्चित छैन। एमालेले नवौँ अधिवेशनदेखि नै संसदमा अवरोध जारी राखेको छ। सभामुख सापकोटाविरुद्ध निरन्तर आन्दोलित एमालेले संसदीय दलको बैठकपछि थप रणनीति तय गर्ने प्रमुख सचेतक विशाल भट्टराई बताउँछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell