PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

व्यापारीको दैलोमा केशव स्थापित: हास्य कलाकार हुनुपर्ने मान्छे मेयर हुँदैछु



प्रकाश भण्डारी

व्यापारीको दैलोमा केशव स्थापित: हास्य कलाकार हुनुपर्ने मान्छे मेयर हुँदैछु

काठमाडौँ: केही दिनयता काठमाडौँ उपत्यकामा सिमसिम पानी परिरहेको छ। बर्खा लागेकै छैन, तर झरीले आभाष दिन्छ बर्खा नै पो लाग्यो कि! बर्खा नलागे पनि चुनाव भने मस्त लागेको छ, उम्मेदवार र मतदातालाई।

घरदैलोका लागि धेरै दिन छैन। चुनावै आउन पनि ५ दिन मात्रै बाँकी छ। काठमाडौँ महानगरपालिकाका उम्मेदवारको दौडधुप पनि बढ्दो छ।

कसरी भ्याउने सबै ठाउँ? बिहान ६ बजे नै सुरु हुन्छ घरदैलो, अबेर साँझसम्म पनि सकिन्न। दिउँसो भेटघाट र छलफल पनि भ्याउनै पर्‍यो उम्मेदवारले। एमालेका तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितलाई पनि चटारो छ, घरदैलोदेखि भेटघाट चुनावअघि सक्न।

‘बिहानै उठ्यो हिँड्यो कुन बेला खाने, कुन बेला मुख धुने, फोन आएको आयै गर्छ। फुर्सद भनेको गाडीमा बस्दा मात्रै हो, ’वडा नम्बर १० का मतदातासँग गफिँदै स्थापित धपेडीबारे खुलाउँछन्।

हात हल्लायो अघि बढ्यो..

आइतबार साँझ स्थापितको घरदैलो थियो काठमाडौँ वडा नम्बर १० मा। ४ बजेदेखि सुरु हुने तालिका भए पनि उनी समयमा भने पुग्ने सकेनन्। कार्यकर्ता उनलाई पर्खिरहेका छन् एमालेको वडा कार्यालय, सहभागिता मार्गमा। घाम-पानी पर्न थालेपछि ओत लाग्छन् कार्यकर्ता। स्थापित झुल्किन्छन्, एमाले जिन्दाबाद माहोल चुनावमय बन्छ। एक घण्टा ढिलो भइसकेका थिए स्थापित। पार्टी कार्यालयको गेटमै रिबन बानिएको छ। कारण स्थापितले उद्घाटन गर्दैछन् पार्टीको वडा कार्यालय।

पररर ताली बजेपछि स्थापित कैची चलाउँछन्, कार्यकर्ताले लगाइरहेको नारा झन् चर्को भइसक्छ त्यति बेला। दोस्रो तल्लामा उकालिन्छन् स्थापित। १५ मिनेट हुन्छ भलाकुसारी। खादा लाउने टिका लाउनेको कार्यालयमा भीड।

उपमेयरकी उम्मेदवार सुनिता डंगोल अलि ढिलोगरी मात्रै आइपुग्छिन् स्थापित भन्दा। कार्यकर्ताको भीडमा उभिएका स्थापित केही न केही किस्सा जोडेर माहोल तताउँछन् तर डंगोलको शैली अलि भिन्न। मुस्कुराउने नमस्कार गर्ने। ‘मान्छे त म युवा नै हो नि अनुहार पो यस्तो भएको छ,’ स्थापितले ठट्टा गर्छन्।

स्थापित कार्यालयमा नपुग्दै पर्न थालेको झरी थामिएकै छैन तर, पनि घरदैलोका लागि निस्कछन् स्थापित र डंगोल। कार्यकर्ताको स्कर्टिङ त्यसपछिको लहरमा छन् डंगोल र स्थापित। सिमसिम परिरहेको पानीमा भिजिरहेकै छन् कार्यकर्ता, स्थापित र डंगोल पनि। तै पनि भ्याउनुपर्ने धपेडीमा छन् स्थापित र डंगोल घरदैलो।

झ्यालबाट हेर्नेलाई नमस्कार गरेपछि अघि बढ्यो। अनि अर्को झ्यालबाट हेर्नेलाई पनि नमस्कार। अनि अघि बढ्यो स्थापित र डंगोलको र्‍याली। घरका माथिल्ला तलाहरूबाट हेर्नेसँग संवाद हुँदैन स्थापितको। झ्यालबाट चिहाउनेको संख्या उल्लेख्य छ स्थापितको अघि आएर बोल्नेभन्दा। घरदैलो भए पनि घरमा भने आक्कल-झुक्कल मात्रै छिर्छन् स्थापित र डंगोल। कोही भने सगुन चखाउन गेटसम्मै आएका थिए उम्मेदवारलाई।

‘म्युजिक बजाऊ मान्छे तान्ने म्युजिकले हो’

घरदैलोमा निस्किएको स्थापित र डंगोलको र्‍याली घरी फटाफट हिँड्छ त घरी धिमा गतिमा। लाइनमा हिँडिरहेका कार्यकर्ता स्थापितसँगै हिँड्न र सेल्फी लिन तल्लीन देखिन्छन् घरदैलोमा मतदातासँग कुरा गर्नभन्दा। चाँदनी चोक नपुग्दै उकालो आएपछि एमाले जिन्दावाद भन्दै लागिरहेको नारा सुस्त भइसक्छ। भीडबाट एक जना महिला त्यही बेला भन्छिन्,’म्युजिक बजाऊ म्युजिक। मान्छे तान्ने म्युजिकले हो। नभए कसले थाहा पाउँछ हामी आएको,’उनलाई अलि तामझाम नभएको जस्तो लागेपछि आग्रह थियो। तर, म्युजिक बज्दैन किनकि कार्यकर्ताले बोकिरहेको स्पिकरले कामै गर्न छोडेको थियो चार्ज सकिएर। चाँदनी चोक हुँदै र्‍याली थापागाउँ पुग्छ। कार्यकर्ताको हुटिङ टोल-टोलमा झन् बढ्छ भने स्थापितलाई पछ्याउनेको संख्या थापागाउँ पुगेपछि भने ठूलो बनिसक्छ।

थापागाउँबाट पूर्वतिर २/३ सय मिटर हिँडेपछि स्थापित मैनाली निवासको गेटमै पुग्छन्। भित्रबाटै नमस्कार टक्रयाउछन्,घरधनी। घरमै आउन आग्रह गरेपछि स्थापित र डंगोल गेटभित्र पस्छन्। सुरुमा उम्मेदवारलाई मात्रै दिइएको थियो गेट प्रवेश। तर, धमाधम कार्यकर्ता छिरेपछि कसैको रोकतोक भएन गेट छिर्न। एक घण्टा लगाइसकेका थिए स्थापितले सहभागिता मार्गबाट थापागाउँ पुग्न।

अनि दर्कियो झरी….

स्थापित र घरधनीको संवाद चलिरहेकै थियो। झरी दर्कियो। पार्किङ गरिएको ठाउँमा ओत लागे कार्यकर्ता। मैनालीको परिवारै स्वागत गर्छ स्थापित र सुनितालाई। सगुन चखाएपछि झन् गफगाफ बढ्छ स्थापित र मैनालीको। पानी दर्किएपछि स्थापितलाई मैनालीको घरमा ३० मिनेट सम्म बस्नु बाध्यता नै बन्यो। झरीमा ओत लागेको बेला अनेक गफ चले।

स्थापितले आफूलाई नमस्कार गर्ने एक जनाको दाँत देखाउन अनुरोध गरे। सबै दाँत नदेखेपछि उनले आश्वासन दिँदै भने, ’हिस्स हाँस्दा खिस्स देखिने दाँत हाल्ने हो अब पख्नुस्।’

स्थापित झन् रसिलो सुनिन्छन् कार्यकर्ताले घेर्न थालेपछि। उनी आफ्नो अनुहारबारे पनि बोल्छन्, ’त्यहाँ यसो टलक्क भएको भए पो राम्रो देखिनु पुरै रङ लगाएर खादा लाएपछि त यी हेर्नुस् त!’

उनको ख्याल ठट्टा त्यतिमै सीमित हुन्न। माहोल जम्न थालेपछि उनी सुनाउँछन्, ’हेर्नुस् म त हास्य कलाकार हुनुपर्ने मान्छे मेयर हुँदैछु।’

किन स्थापित मैनालीकै निवासमा छिरे?

स्थापित र डंगोलको घरदैलो मैनाली निवासमा ओत मात्रै लागेन तितरबितर नै बन्यो। आधा घण्टासम्म पनि पानी रोकिएन। स्थगित भयो घरदैलो। झरी अली कम पर्न थालेपछि भने स्थापित र डंगोलको समूह वुद्धनगर लाग्यो भेटघाटका लागि। वडा नम्बर १० का कार्यकर्ता जम्मा भए मैनाली निवास अगाडिको चिया पसलमा।

को हुन् मैनाली? घर अगाडिकै चिया पसलमा सोधेपछि पनि धेरैलाई उनकै नामै थाहा भएन। बायाँतिरको किराना पसलका व्यापारीले बताए मैनाली मिलका सञ्चालक हुन्। नाम-दिलीप मैनाली। चिया पसलमा सोधियो -किन स्थापित यता घरभित्रै छिरेर गफ गर्न थाले?

चिया पिइरहेका एक जनाले सुनाए, ’व्यापारीको अनेक लोभ हुन्छ नि। उहाँलाई घरमै बोलाएर गफगाफ गर्नुभयो। कुरा पनि कति मिठो गरेका हुन्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell