PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

पूरा भएन चिनियाँ विदेशमन्त्रीको बाचा, दुवै नाकाबाट गरी दिनमा मुस्किलले छिर्छन् दर्जन कन्टेनर



सरला सुवेदी

पूरा भएन चिनियाँ विदेशमन्त्रीको बाचा, दुवै नाकाबाट गरी दिनमा मुस्किलले छिर्छन् दर्जन कन्टेनर

काठमाडौं: चिनियाँ विदेशमन्त्रीबाट नेपाल भ्रमणका क्रममा व्यापारिक नाका सहज बनाउने प्रतिवद्धताका बाबजुद उत्तरी नाकाबाट मालवस्तु ल्याउने कन्टेनरको प्रवेशमा लामो समयदेखि कायम अवरोध भने अझै कायमै रहेको छ। 

चीनसँगका सक्रिय व्यापाारिक नाकाहरु तातोपानी र केरुङ दुवैबाट नेपाल भित्रिने कन्टेनरको संख्या पहिलेभन्दा सहज भएर बढ्नुको साटो उल्टै घट्न थालेको छ। सीमित संख्यामा मात्र कन्टेनर भित्रिँदा नेपाली व्यापारीहरुले चीनबाट आयात गरेका मालसामान महिनौंसम्म पनि भन्सार पार हुन नसकेको व्यापारीहरुको भनाइ छ। 

गतवर्ष तातोपानी नाकाबाट दिनमा कम्तिमा २० वटा कन्टेनर भित्रिन दिने निर्णय भएको थियो। रसुवा नाकाबाट पनि गतमहिनाबाट आयातित सामानका कमसेकम १४ वटा कन्टेनर जाँचपास हुन दिने भनिएको हो। यद्यपि, यतिबेला यी दुवै नाकाहरुबाट नेपाल भित्रिने कन्टेनरको संख्या कम हुन थालेको छ।

गत चैतमा चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमण आएलगतै दुवै उत्तरी नाकामार्फत हुने आयात-निर्यात सहज बनाउने प्रतिवद्धता उनले जनाएका थिए। तर त्यसयता पनि नाकामा कन्टेनर प्रवेशमा लामो समयदेखि कायम असजता अझै फुक्न सकेको छैन।

चीनसँगका यी दुई उत्तरी नाकाबाट कोभिडकालदेखि नै मालवस्तु प्रवेशमा चिनियाँ पक्ष असहयोगी देखिँदै आएको छ। सुरुमा कोभिडका कारण स्वास्थ्य सुरक्षाको कारण देखाएर चीनतर्फबाट यी नाका भएर आउने सामानको प्रवेश ठप्प भएको थियो। सोपछि बीच बीचमा नाकाबाट सीमित संख्यामा कन्टेनरलाई प्रवेश दिइए पनि यो अझै पनि कोभिडअघिको अवस्थामा फर्किन सकेको छैन।

यहीकारण दुई वर्षदेखि यी नाकाबाट चीनतर्फको निर्यातमा कायम अवरोध अझै पनि खुल्न नसकेको व्यापारीहरु बताउँछन्। 

चीनतर्फको प्रमुख सडक नाका तातोपानी हुँदै दैनिक आयातित सामान लिएर आउने कन्टेनरको संख्यामा कमि आएको तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए।

उनी भन्छन्, 'तातोपानी नाकाबाट दैनिक २० वटा कन्टेनर आउने निर्णय भएको हो। तर लामो समयदेखि हामीसम्म आइरहेका कन्टेनरको धेरैमा नौवटा भन्दा बढी छैन। अहिले त त्यो पनि घटेर दिनको मुस्किलले ६-७ वटामा झरेको छ।'

यो संख्यामा आएका कन्टेनरमा पनि धेरैजसो चिनियाँ स्याउ नै हुने गरेका छन् भने हिजोआज चुनावका लागि आवश्यक सामाग्रीहरु र केही मेशिनरीहरु पनि हुने गरेका छन्। तातोपानी भन्सारबाट पनि शतप्रतिशत मार्जिनको व्यवस्थाले एलसी निरुत्साहित गरेका कारण आयात केही हदसम्म प्रभावित भएको गौतमले बताए।

रसुवागढी नाकाबाट दैनिक १४ वटा कन्टेनर भित्रिन दिने भनिएकोमा केही दिन यो संख्यामा कन्टेर आए पनि त्यसपछि भने पुरानै समस्या दोहोरिएको छ। पछिल्‍लो समय त अझ रसुवा भन्सारसम्म दैनिक रुपमा कन्टेनर नै नआएको रसुवा भन्सार कार्यालयका प्रमुख अधिकृत रामप्रसाद मैनालीले बताए। उनका अनुसार, गत मंगलबार र बुधबार भन्सारबाट एउटा पनि कन्टेर पास भएनन्। 

अर्कोतर्फ, आयातमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था लागुपछि यसै पनि नेपाली व्यापारीले गर्ने आयात परिमाण प्रभावित भएको छ। यसका कारण पनि उत्तरी नाकामा रहेका नेपालतर्फको भन्सार कार्यालयसम्‍म कन्टेनर आउने क्रम नै पातलिएको भन्सार अधिकृतहरुको भनाइ छ।  

'दिन बिराएरजसो सामान आउन थालेको छ अहिले। शुक्रबार सातवटा कन्टेनर आए तर त्यसमा पनि हाइड्रोपावरका मेशिनरीहरु आएका थिए,' मैनालीले भने। 

नेपाली व्यापारीहरुले अहिले सामान नै नमगाएर भन्सारसम्म कन्टेनर नआइपुगेको हुन सक्ने सम्भावना पनि उनले औंल्याए। 'मार्जिनको व्यवस्थाले एलसी र टिटिको अवस्थामै समस्या देखिन थालेको छ। यसले गर्दा पनि आयात परिमाण घटेको देखिन्छ,' मैनाली भन्छन्।

चीनतर्फका तातोपानी र रसुवागढी दुवै नाकाका प्रमुख अधिकृतहरुले दिएको जानकारी अनुसार अहिले यी दुई नाकाबाट गरेर अहिले मुस्किलले दर्जन हाराहारी कन्टेनर मात्र आइरहेको देखिन्छ। यस्को मुख्य कारण आयातमा शतमार्जिनको व्यवस्था र कन्टेरको भन्सार प्रवेशमा अवरोध रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell