
ललितपुर : नेपाली कांग्रेसले आसन्न निर्वाचनको मुखैमा पत्रकार सम्मेलन आयोजना गर्दै नेकपा (एमाले)ले कांग्रेसको विरोध गर्नुको कुनै आधार नभएको दावी गरेको छ। पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गर्दै प्रवक्ता प्रकाशशरण महतले कांग्रेस अग्रणी पार्टी भएको उल्लेख गर्दै विरोध गर्नुको अर्थ नभएको जनाएका हुन्।
समावेशी राजनीति कांग्रेसले ल्याएको दावी गर्दै उनले एमालेले त्यसको पटक-पटक विरोध गरेको उनको भनाइ थियो।
'भूकम्पको बेला कांग्रेसले व्यवस्थापन गरेको हैन? नीति नै नभएको पार्टी भन्छ कांग्रेसलाई एमालेले। कोभिडको बेला के भयो ओली नेतृत्वको सरकारमा?,' महतले प्रश्नसहित भने, 'कमिनस र काण्डहरु भए ओलीको पालामा। एमसीसी प्रस्तावको नाटक मञ्चन गरे। पास गर्नै सकेनन्।'
उनले ओलीमाथि थप प्रश्नहरु गरे, 'पानीजहाज आयो त? कलकत्तामै छ। रेलको सर्भेक्षणसमेत देउवाको पालामा भयो। गफमात्रै गर्ने हो ओली।'
कांग्रेसले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलन कायम राखेको दावी पनि थियो महतको। ओलीले सबैभन्दा धेरै क्रेडिट लिने लिपुलेक लिम्पियाधुरको विषयमा पनि कांग्रेसले बोलेको उनको भनाइ थियो।
'लिम्पियाधुरा त हाम्रो जमिन हो। सबैलाई थाहा नै छ। हामीले पास पनि गरेकै हो संसद्मा। उहाँहरूले बोल्न सक्नुभएन। हाम्रो प्रधानमन्त्रीले भारतमै भन्नुभयो- सीमा विवाद अन्त्य गरौँ भनेर,' महतले भने।
एमाले र कांग्रेसले सत्ता चलाएको अवधि लगभग बराबर रहेको बताउँदै महतले सबै कांग्रेसको नेतृत्वमा बिग्रिएको आरोप एमालेले लगाउने गरेको बताए।
'ओलीको बोली झुटको पुलिन्दा हो। झुटमाथि झुट बोलिरहेका छन्,' महतले भने, 'ओलीका पालामा ऋणमाथि ऋण भयो। १९ अर्ब प्रधानमन्त्री स्वरोजगार ल्याएर कार्यकर्ता पोसाउने काम गरे। ऋण लिएर घिउ खाने काम गरे। ओली सरकारमा भएको भए नेपाल श्रीलंकाको बाटोमा पुग्थ्यो।'
कांग्रेस सरकार आएपछि अनुदानमय भएको दावी गर्न पनि भ्याए उनले। 'बिजुली र सडक बन्दैछ। ८० अरब फेरि दिने भएको छ अमेरिकाले,' उनले भने।
के मुखले भोट माग्छ एमाले?
प्रवक्ता महतले एमाले पार्टी नै असफल भएको दावी गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले के मुखले भोट माग्छन्? भन्दै प्रश्न गरेका छन्। ओलीले जसरी सत्ताको दुरुपयोग कांग्रेसले नगरेको महतको दावी थियो। एमालेबाट आक्रमण भए पनि कांग्रेसबाट कतै आक्रमण नभएको उनले बताए।
एमालेलाई आचारसंहिता नलगाेको भन्दै उनले प्रश्न समेत उठाएका छन्। निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउन चाहन्छु भन्दै उनले उरन्ठेउलो घरमुली भन्दै ओलीको आलोचना गरेका थिए।
चुनाव प्रचारमा के सभापति हिँड्दै जाने त?
महतले पार्टी सभापति शेरबहादुर देउवाले चुनावी प्रचारमा निजी गाडीको प्रयोग गरिरहेको दावी गरे। चुनावमा स्रोत साधनको दुरुपयोगको विषयमाथि जवाफ दिँदै महतले सोधे - चुनाव प्रचारमा के सभापति हिँड्दै जाने त?
निर्वाचन आयोगको सहमतिमा सीमित सवारी प्रयोग भएको उनको दावी थियो। 'ओलीले मात्र प्रयोग गर्न पाउने त सवारी साधन?,' उनको प्रश्न थियो।
प्रधानमन्त्रीपत्नी आरजु राणामाथि लागेको आरोप मिथ्या रहेको समेत उनले दावी गरे। आरजु राणाले डडेल्धुरा पुगेर कांग्रेस निर्वाचित नहुने ठाउँमा बजेट नदिने धम्की दिएकी थिइन्।