PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गठबन्धनले चेपुवामा कांग्रेस कार्यकर्ता : ठूला सभाबाटै देउवादेखि माधव नेपालसम्मको धम्की, पीर बिसाउने कहाँ?



नेत्र तामाङ

गठबन्धनले चेपुवामा कांग्रेस कार्यकर्ता : ठूला सभाबाटै देउवादेखि माधव नेपालसम्मको धम्की, पीर बिसाउने कहाँ?

काठमाडौं : स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धन बनेयता नेपाली कांग्रेसका कार्यकर्ता चेपुवामा पर्न थालेका छन्। अन्य दलको मत चिन्हमा मतदान गर्न अफ्ठेरो मान्ने कार्यकर्ताका रुपमासमेत कांग्रेस कार्यकर्तालाई अर्थ्याइएको छ। यतिमात्र हैन गठबन्धनका शीर्ष नेताहरुले चुनावी सभाका ठूला मञ्चबाटै कांग्रेस कार्यकर्तालाई धम्की दिन थालेका छन्।

आइतवारमात्र पोखराको चुनावी सभामा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो उम्मेदवारलाई नजिताए कांग्रेस विनाशको बाटोमा पुग्ने चेतावनी दिए। पोखरा महानगरमा गठबन्धनबाट धनराज आचार्य मेयरका उम्मेदवार छन्। उनी नेकपा एकीकृत समाजवादीका नेता हुन्। पोखरामा उम्मेदवार चयनअघि कांग्रेसले चर्को असन्तुष्टि जनाउँदै आएको थियो। यही विषयप्रति लक्षित गर्दै नेपालले नेपालले कांग्रेसलाई शक्तिको दम्भ नदेखाउन चेतावनी दिएका हुन्।

'सरकार पनि  समय समयमा मिलेरै बनाएका छौं। यसअघि पनि कांग्रेस र कम्युनिस्ट मिल्दै आएको थियो,' नेपालले भने, 'सबैलाई जानकारी होस्। कहिलेकही कम्युनिस्टमा दम्भ हुन्छ। कहिलेकही कांग्रेसमा दम्भ हुन्छ। हामी धेरै शक्तिशाली छौं भनेर दम्भ नराख्नुस्। त्यही दम्भले केपीको विनाश गर्‍यो। दम्भ राख्नुभयो भने तपाईँको पनि बिनाशको बाटोबाहेक केही रहँदैन। सबैको शक्तिलाई स्वीकार्नुपर्छ।'

बुधवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तै चेतावनी दिएका थिए चितवनको भरतपुबाट। भरतपुरमा कांग्रेस नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएपछि यहाँको चुनावी माहोल गठबन्धनका लागि पेचिलो बनेको छ। यहाँ गठबन्धनले माओवादीकी रेनु दाहाललाई मेयरको उम्मेदवार बनाएको छ। चुनावी सभामा प्रचण्डले रेनुलाई मत हाल्न चेतावनीपूर्ण भनाई राखेका हुन्। बुधवार उनले भरतपुरमा गठबन्धनलाई नजिताए देश दुर्घटनामा जान सक्ने चेतावनी दिए।

'मैले टेकप्रसाद लगायतका साथीहरूलाई के चाहेको छु भने, तपाईँहरूलाई अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, यो गठबन्धन लोकतन्त्र र गणतन्त्रको आवश्यकता हो, देशको जनताको विकास र समृद्धिको आवश्यता भनेर नबुझेर, हँसिया हथौडामा भोट हालिँदैन भन्नुभयो भने देश दुर्घटनामा जानसक्छ,' भरतपुरमाआयोजित सभामा प्रचणडले भनेका थिए।

कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले केन्द्रीय नेताको कमजोरीकै कारण भरतपुरमा वागी उम्मेदवार खडा भएको तर्क गरेका थिए। उक्त भनाईप्रति इंगित गर्दै प्रचण्डले थप भने, 'टेकप्रसाद गुरूङले मतिर ताकेर केही प्रश्न गर्नु भएको छ। त्यसको धेरै स्पष्टीकरण दिन आवश्यक ठान्दिनँ। मैले साँच्चै नै अहिले तपाईँहरूको अगाडि उभिएर बोल्दै गर्दा, रूखवालाहरूले हँसियाहथौडालाई भोट हाल्न धेरै गाह्रो देखेँ। तपाई पनि चितवनबासी नै हो।' 

आइतवार पोखरा पुगेर पनि प्रचण्डले यस्तै भनाई दोहोर्‍याए। उनले गठबन्धनविरुद्ध आएको एमालेको गठबन्धनलाई पराजित नगरे देश राजनीतिक दुर्घटनामा  जाने खतरा रहेको दाबी गरे। ‘एउटा ठूलो षड्यन्त्र लोकत्त्रको विरुद्ध, संघीयताको विरुद्ध हुँदै थियो। यो गठबन्धनविरुद्ध अर्को गठबन्धन राजावादीहरुकको गठबन्धन आएको छ। यसलाई परास्त गर्नु आवश्यक छ। अन्यथा देशमा फेरि राजनीतिक दुर्घटनाको खतरा छ,’ उनले भने।  कतिपयले यस्तो कुरा राख्दा जनतालाई धम्क्याएको आरोप आफूमाथि लागेको उल्लेख गर्दै उनले यो आरोप गलत भएको तर्क गरे।

‘मैले यो कुरा भन्दै गर्दा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउन अपिल गर्दै गर्दा कतिपय मानिसले मैले जनता धम्क्यायो, हामीलाई नजिताए दुर्घटना हुन्छ भन्यो भनेर पनि गलत अर्थ लगाइएको छ ।’

 

देउवाबाटै पटकपटक धम्की

गठबन्धनमा सबैभन्दा बढी असन्तोष कांग्रेसकै रहेको उल्लेख गर्दै देउवाले पटकपटक कार्यकर्तालाई चेतावनी दिँदै आएका छन्। देउवाले धनुषाको जनकपुर पुगेर गठबन्धनको विरोधमा बोल्नेलाई नै कारवाही हुने चेतावनी दिए। 

‘कुनै पार्टीलाई कहीँ चित्त बुझ्ला, कुनैलाई चित्त नबुझ्ला। निर्णय भएपछि मान्नुपर्छ। पार्टीको अनुशासनमा बस्नुपर्छ,’ जनकपुरधामको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भनेका थिए, ‘मेरो पार्टीमा नमान्नेलाई कारवाही गरेको छु। साधारण सदस्य खारेज गरेको छु। गठबन्धनको खिलाफमा बोल्नेलाई पनि कारबाही गर्नुपर्ने अवस्था आएको छ। गठबन्धनलाई टिकाउनुपर्छ। यो उहाँहरुले बनाएको प्रधानमन्त्रीको कर्तव्य हो। गठबन्धनको खिलाफमा उठ्नुहुँदैन।’

यतिमात्र हैन पोखरा पुगेर देउवाले गठबन्धनबारे अनावश्यक शंका उपशंका गर्नेलाईसमेत कारबाही हुने चेतावनी दिन भ्याए।

‘पार्टीका सबै साथीहरुले गठबन्धनमा कुनै किसिमबाट शंका उपशंका गर्ने काम गर्नै हुँदैन,’ देउवाले भने, ‘गर्‍यो भन्देखिन् मैले तपाईँलाई भनिहाले प्रमाणित भयो भने कारबाही हुन्छ।’

देउवाले गठबन्धन बचाउनु छ भने पोखरा महानगरको मेयरमा धनराज आचार्यलाई जिताउनुपर्ने समेत बताए। ‘गठबन्धन बचाउनु छ भने धनराज आचार्यलाई जिताउनुछ। कोपिला रानाभाटलाई पनि जिताउनुछ,’ देउवाले दोहोर्‍याउँदै भने, ‘गठबन्धन सबभन्दा बढी कांग्रेसलाई आवश्यक छ। यो राष्ट्रिय आवश्यकता हो।’

कांग्रेसको पीर बिसाउने ठाउँ कता?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस कार्यकर्ताको चेपुवामा परेको विषयलाई भरतपुर पुगेर क्यास गरेका छन्। उनले जिन्दगीभर कांग्रेस बनेका नेताकार्यकर्ताको पीर बिसाउने ठाउँ नै नभएको दाबी आइतवार गरे।

‘म कांग्रेसका नेताहरूलाई सोध्न चाहन्छु, मेरो कांग्रेसको कार्यकर्तालाई केही छैन। विचरा कति मुटु धड्किएको होला, कति पीर परेको होला? प्रकाश सपूतको गीतजस्तै पीर बिसाउने ठाउँ नै पाइनँ जस्तो,’ उनले भने, ‘कांग्रेसका कार्यकर्ताले कसरी र कहाँ पीर बिसाउने? विचरा छाती समातेर बस्नुभएको होला।’

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवातिर लक्षित गर्दै ओलीले प्रधानमन्त्री पदका लागि पार्टी सध्याएको दाबीसमेत गरे। ‘कांग्रेसका नेताहरुले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन्, के हेरेर बसेका छन् कांग्रेसका नेता, कार्यकर्ताहरू? पार्टी त सिद्धियो कांग्रेसको,’ उनले भने।

कांग्रेसको स्पष्टीकरण : तालमेल लेनदेनको कुरा हो

कांग्रेस कार्यकर्तालाई चेपुवामा पर्ने गरी शीर्ष नेताले दिएको अभिव्यक्तिबारे कांग्रेसको आधिकारिक धारणा के त? कांग्रेस प्रवक्ता महतले तालमेलबारे पार्टीको धारणा नै सही भएको बताए।

'स्थानीय तहको आँखाले हेर्दा हाम्रा साथीहरुले भनेको कुरा ठीक हो जस्तो देखिन्छ। तर ठुलो तस्विर हेर्ने हो भने अहिले पार्टीले गरेको निर्णय सही छ,' उनले भने। तालमेलमा कांग्रेसले मात्र अरु पार्टीमा मत हाल्ने नभई अरु पार्टीले पनि कांग्रेसको मत चिन्हमा मत राख्ने उनको प्रष्टिकरण  रह्यो।

'तालमेलमा लेनदेन गर्ने कुरा हो। यो रणनीतिक निर्णय हो। भावनासँग  जोडिएको कुरा हो। पार्टी नै मिल्ने कुरा होइन नि। विशिष्ट परिस्थितिमा संविधान जोगाउन यस्तो भएको हो,' प्रवक्ता महतले भने, 'हामीले मात्र अरु चिन्हमा भोट हाल्ने हैन। उहाँहरुले पनि रुखमा हाल्नुहुन्छ। दोहोरो कुरा हो। बृहत्तर राष्ट्रिय हितमा हामीले उदारपूर्वक यस्तो गरेका हौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell